७ वैशाख २०८१ शुक्रबार
राजनीति

महासचिवले जग्गा किनेको हो, हडपेको होइनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली, फाइल तस्बिर

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन्। नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो। उनले बैठकमा भने, ‘हाम्रो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पनि त्यहाँ जग्गा किन्नुभएको रहेछ। उहाँले किनेको जग्गाको विषयलाई लिएर सरकार र पार्टीको बदनाम गर्न जरुरी छैन।’ महासचिव पौडेलले तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा बालुवाटारको जग्गा खरिद गरेको प्रमाण देखिएको बताउँदै प्रधानमन्त्री ओलीले थपे, ‘त्यसका आधारमा हेर्दा उहाँ अन्यायमा पर्नुभयो होला तर जग्गा फिर्ता गर्ने प्रक्रिया रोकिँदैन।’

प्रधानमन्त्री ओलीले जग्गा खरिद गर्नु र हडप्नु फरकफरक विषय भएको पनि बताए। ‘उहाँ (पौडेल) ले जग्गा खरिद गरेको हो, हडपेको होइन। खरिद गर्नु र हडप्ने कुरा फरकफरक हुन्’, उनले भने।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले खरिदबिक्री भएको ललितानिवासको सबै जग्गा सरकारले रोक्का राखिसकेको जानकारी पनि गराए। ‘यहाँहरुलाई स्मरण गराऊँ कि त्यहाँको सबै जग्गा रोक्का राख्ने काम भएको छ। यसर्थ पनि जोसुकैलाई मर्का परोस्, त्यहाँको मात्रै होइन, अन्यत्र पनि सरकारी जग्गा अतिक्रमण गरिएको देखिए÷भेटिए सरकारकै नाममा फिर्ता हुन्छ,’ ओलीले भने।

‘पार्टी महासचिव विष्णुप्रसाद पौडेलले ललितानिवासको जग्गा खरिद गरेको हो, हडपेको होइन। खरिद गर्नु र हडप्नु फरकफरक विषय हो। सरकारी जग्गा व्यक्तिबाट फिर्ता गर्ने प्रक्रिया रोकिँदैन।’

प्रधानमन्त्री ओलीले भूमाफियाहरु नै सरकार पार्टीको बदनाम गराउन लागिपरेको पनि बताए। व्यक्तिगत विषयलाई लिएर पार्टीको बदनाम गर्ने, सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्न खोज्ने जस्ता काम भूमाफियालगायतबाट भएको उनको भनाइ थियो। ‘भृकुटीमण्डपका संरचना हामीले बनाएको हो ? खुलामञ्चको संरचना हामीले तयार गरेको हो ? यस्ता संरचना अब बन्दैनन् र सकारले सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्छ, हडप्न दिँदैन’, उनले भने।

बैठकलाई करिब दुई घन्टा सम्बोधन गर्ने क्रममा ओलीले सरकारले राम्रा काम गरेको चर्चा पनि गरे। लगानी सम्मेलनदेखि विश्व बैकको सहयोगसम्मलाई उनले सरकारका राम्रो कामका रुपमा अथ्र्याए। सरकारका कामको चर्चा गर्ने क्रममा उनी ठेकेदारप्रति पनि खनिए। उनले ठेकेदारले पनि समयमै ठेक्काअनुसार काम नगरेर सरकारलाई बदनाम गर्न खोजेको आरोप लगाए। ‘काम ठेकेदारले नै गर्ने हो तर समयमै नगर्दा त्यसको असर सरकार र जनतामा परेको हुन्छ। काम नभए पनि सरकारको ठूलो धनराशि खर्च भएको छ। अब त्यस्तो छुट हुँदैन’, ओलीले भने।

उनले भूमाफिया, ठेकेदार, विप्लव समूहविरुद्ध पनि तितो पोखे। ‘आफ्नो अनुकूल हुँदासम्म सरकार ठीक छ, सरकारमा बस्ने ठीक छन्। तर सरकारी जग्गा फिर्ता गर्न खोज्यो, कुनै ठेकेदारलाई कारबाही गर्न खोज्यो, सिन्डिकेट हटाउन खोज्यो वा तस्करी धन्दालाई निरुत्साहित गर्न खोज्यो भने सरकार बेठीक हुने ? यो कस्तो कुरा हो ?’ ओलीले भने, ‘यस्ताउस्ता कुरा जे भए पनि हामी मुलुकलाई समृद्धिको मार्गमा हिँडाउन चाहन्छौं।’

उनले विप्लव समूहमाथिको कारबाही नरोकिने स्पष्ट पारे। सरकारी सम्पत्तिमाथि आगो लगाउनmे जबरजस्ती चन्दा उठाउने र व्यापारीलाई धम्क्याउने तथा बम विस्फोट गराएर मुलुकलाई अशान्त पार्न खोज्ने तत्वलाई नियन्त्रणमा लिई छाड्ने उनले बताए।

प्रधानमन्त्री ओलीले सरकारले सुन तस्करलाई थुनेको बताए। उनले गैरसरकारी संस्थाले निर्मला पन्तको हत्या प्रकरणमा राम्रोसँग अनुसन्धान गर्न नदिएको दोषारोपण पनि गरे। ‘निर्मला पन्त हत्या प्रकरणमा बढी राजनीति भयो। गैरसरकारी संस्थाले पनि यसमा अवरोध गरे’, उनले भने।
नीति तथा कार्यक्रमविरुद्ध नबोल्न उर्दी

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्दा प्रतिपक्षीले जस्तै विरोधका स्वर नउराल्न आफ्नो दलका सांसदलाई निर्देशन दिएका छन्। ‘यस वर्ष तपाईहरुले राखेका विकास निर्माणको विषय भरसक कुनै न कुनै तबरबाट सम्बोधन गर्ने प्रयास गरिएको छ। बजेट निर्माण क्रममा यहाँहरुले दिएको महŒवपूर्ण चासो र सुझाव समेट्ने प्रयास गरिएको छ’, प्रधानमन्त्री ओलीले भने।

सरकार सही दिशामा अघि बढेको दाबी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्नु स्वाभाविक भए पनि उसलाई सहयोग पुग्ने गरी नबोल्न आफ्नो दलका सदस्यलाई निर्देशन दिए। उनले सत्तासीन दलका सांसदले प्रतिपक्षीले जस्तो बोल्दा शोभनीय नहुने बताए। ‘सबैका असन्तुष्टि हुन्छन् र कहीं न कहीं कमजोरी हुन्छ तर त्यहीं कमजोरी सधैं हुन्छ भन्ने होइन। यसपालि सम्बोधन गर्ने प्रयास गरिनेछ, गरिएको छ’, उनले भने।

प्रकाशित: १८ वैशाख २०७६ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App