८ वैशाख २०८१ शनिबार
समाज

'हेर्दाहेर्दै विद्यालयको छानो आकाशमा नाचिरह्यो'

डोल्पा– 'दिउँसोको १२ बजेको थियो। कक्षामा पढाइ भइरहेको थियो। एक्कासी ठुलो आवाज आयो र आँखै नदेखिने गरि हावाहुरीले धुलो उडायो। त्यसको केहि समयमै कक्षा कोठामा छानोबाट ढुंगा खस्यो। के भयो भनि हेर्दा त कक्षा कोठाको छानो नै उडाएर आकाशमै नाचिरहेको थियो। त्यसको केहि क्षणमा विद्यालय नै गर्ल्यामगुर्लुम्म भयो। हामी त झसङ्ग भएर दौडन थाल्यौं सरहरु पनि दौडनु भयो भागाभाग भन्ने शब्द सुनियो' कक्षा १० मा अध्ययनरत मदन कठायतले दोहोरो सास फेर्दै भने।

मंगलबार डोल्पामा हावाहुरीले वितण्डा मच्याई रहँदा ठुलीभेरी नगरपालिका ७ जुफालमा रहेको आर्दश माद्यामिक विद्यालयमा एकैक्षण रुवाबासी र भागदौड मच्चियो। हावाहुरीले ११ कोठे एक तले विद्यालय भवनको जस्तापाता उडाएपछि सिंगो विद्यालय मैदानमा परिणत भई नाङ्गो बनेको छ। हावाहुरीले आर्दश माद्यामिक विद्यालयको जस्तापाताको छानो उडाएर कक्षा कोठा भत्काउँदा झण्डै ३० लाख बराबरको क्षती पु-याएको विद्यालयले जनाएको छ।

नेपाली विषयका शिक्षक पुष्पराज पौडेलले भने 'थोरै भागदौड गर्न नभ्याएको भए मानवीय क्षती हुने थियो। तर सबैले सकुशल कक्षा कोठा छाड्न सफल भयौं धन्न ज्यान बच्यो। विद्यालयको स्वरुपलाई कुरुप बनाएपनि मानवीय क्षती भएन अबको चिन्ता विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने होे' उनले चिन्ता व्यक्त गरे।

जिल्लामा धेरै समयपछि यत्ति ठुलो कल्पना नै नगरेको हावाहुरी चलेको र आफ्नो विद्यालयको छत मात्र नभई गाउँमा सर्वसाधारणको घरहरुको जस्तापाताको छानो उडाएको विद्यालयका अर्का शिक्षक बालकृष्ण डाँगीले नागरिक न्युजलाई बताए।

सडक यातायातको पहुचसँग डोल्पा जोडिएसँग पछिल्लो समय जस्तापाता छाउने होड चलिरहेको बेला जस्तापाता माथिको प्रयोगमा हावाहुरीले चुनौती थपिएको छ।

हावाहुरीले सिंगो विद्यालय नाङ्गो बनेको र विद्यार्थीहरु चिच्याउँदै भागदौड गरिरहेको देखेपछि अभिभावकहरुको विद्यालयमा भीड लागेको थियो।

प्रकाशित: १७ वैशाख २०७६ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App