coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘ओलीले खान्न भन्दाभन्दै बालुवाटार र खुल्लामञ्च खाए’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै सरकारी जग्गा खान थालेको गम्भीर आरोप लगाएका छन्। मंगलबार रिपोर्टस क्लबमा भएको कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा उनले भने ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजीले पनि सबै खानुभयो।’

मुलुकनै सञ्चालन गरेको त्यो पनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ। उनले भने ‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो। अनि कसको नाममा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे।’

बालुवाटारस्थित ललिता निवासलाई मोही कायम गर्न लाखौं÷करोडौं खर्चिएका भूमाफीयाहरुले महासचिव पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि विश्वकर्माले स्पष्ट पारे। नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ। उनले भने ‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ।’ समाजको रोल मोडल भएकोले महासचिव पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने विश्वकर्माले बताए।

उक्त ललिता निवासको जग्गा प्रकरणमा वर्तमान सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको पनि उनले आरोप लगाए। उनले भने ‘यसभन्दा अघिपनि ३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो। यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ।’

उनले यो जग्गा प्रकरणमा यदि कृष्णप्रसाद भट्टराई पनि दोषी भए मरणोपरान्त दण्ड, सजाय गर्नुपर्ने बताए। ‘किसुनजी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस्’ उनले भने। आफ्नो पार्टीका सभापति एवम् संसदीय दलका नेता देउवाले वाइडबडी काण्डमा पनि ठूलो दृढ विश्वासका साथ उक्त प्रकरणमा संलग्नलाई कारबाही होस भनेर आवाज उठाउँदा उनीमाथि नै हिलो छ्याप्ने काम भएको विश्वकर्माले बचाउ गरे। उनले भने ‘अहिले पनि सरकारले आनन्दको महशुस गर्नको लागि षड्यन्त्र र कुचेष्टा गरेको छ। देउवामाथि जसले आरोप लगाएका छन्, यसभन्दा अघिका आरोपितहरुले एकछिन सास फेर्ने कुचेष्टा मात्रै गरेका हुन्।’

प्रकाशित: १७ वैशाख २०७६ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App