७ वैशाख २०८१ शुक्रबार
समाज

रमाइलो शिक्षण शैलीले सिकाइ सजिलो

पोखरा- 'हाम्रो स्कुलमा गणित, विज्ञान र अंग्रेजी शिक्षक सधैं खेताला राखेर अन्यत्र पढाउन जानुहुन्थ्यो,' मनीषा सम्भि्कन्छिन्, 'मैले स्कुलमा जो भोगें, त्यो हाम्रा भाइबहिनीले भोग्नुहुँदैन। शिक्षकले विद्यार्थीलाई बुझाएर पढाउनुपर्छ र सकिन्छ। यसको उदाहरण दिनै मलाई गाउँकै सरकारी स्कुल पढाउने रुचि जागेको थियो। त्यो बाल्यकालको इच्छा साकुरा डोरमिटोरीले पूरा गर्‍यो।'

डोटीकी मनीषा उपाध्यायले ०६४ मा एसएलसी उत्तीर्ण गरिन्, प्रथम श्रेणीमा। आफन्तले उनलाई विज्ञान पढ्न सुझाए। उनको इच्छा भने शिक्षक बनेर गाउँकै सरकारी स्कुलमा सेवा गर्नु थियो। मनीषाले कक्षा १० सम्म पढ्दा खेताला शिक्षककै भर परिन्। स्कुलमा शिक्षक हुँदाहुँदै खेताला शिक्षकमा भर पर्नु उनलाई उचित लागेन। त्यसैले विद्यार्थीको रुचि र मनोविज्ञान अनुसार पढाए विद्यार्थीले बुझ्छन् भन्ने उदाहरण बन्न चाहिन्थन् उनी।

'जापानमा प्रत्येक दिन प्रिन्सिपल र अन्य केही शिक्षक विद्यालयको गेटमै उभिई विद्यार्थीलाई अभिवादन गरेको देखें। कपिलवस्तुमा पढाउँदा मैले जापानमा सिकेको सबै प्रणाली लागू गरें, विद्यार्थी बढे'

जापान–नेपाल फिमेल एजुकेसन एसोसिएसन (जेएनएफइए) र पोखरा कन्या क्याम्पसको सहयोगमा पोखराको कन्या क्याम्पसकै परिसरमा सञ्चालित छात्रावास हो, साकुरा डोरमिटोरी। जहाँ नेपालका दुर्गम क्षेत्रका सार्वजनिक विद्यालयबाट एसएलसी गरेका जेहेन्दार छात्रालाई  निःशुल्क प्लस टु पढाइन्छ। कक्षाकोठामा  सिकाउने संस्कृतिसहितको एक कुशल महिला शिक्षक तयार गर्ने जेएनएफइए लक्ष्य हो।

एसएलसी पास भएपछि मनीषा प्लस टुमा शिक्षा समूहमै भर्ना हुन चाहेकी थिइन् र उनी प्लस–टु खोजीमा रहेकै समयमा गाउँकै स्कुलमा जेएनएफइएको समूहले छात्रा छनोट गर्न फारम भराए। उनी त्यही फारम भरेपछि साकुराका लागि छनोट भइन्।

दुई वर्षसम्म साकुरा डोरमिटोरीमा बसेर कन्या क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गरिन्, त्यसपछि तीन वर्षसम्म डोटीकै श्री जनता जनार्दन उमाविमा पढाइन्।

'सुरुका दिनहरूमा मेरो स्कुलमा नानीहरू कक्षाकोठामा आउनै मान्दैनथे, तर जब म शिक्षक भएर त्यो स्कुलमा गएँ, मैले साकुरामा सिकेको नाचगान गरी बालकेन्द्रित सिकाउने संस्कृतिद्वारा रमाइलो गरी सिकाउन थालें,' मनीषा अनुभव सुनाउँछिन्, 'कक्षाकोठामा अध्यापन सामग्रीहरू आफैंले बनाएर सिकाउन थालेपछि स्कुलमा विद्यार्थीहरू रमाएर आउन थाले। हाल म डोटीको सैनिक आवासीय माविमा दरबन्दीमै कार्यरत छु।'

मनीषा साकुराकी तेस्रो ब्याचकी छात्रा हुन्। सन् २००६ अगस्टमा जापानकी प्राध्यापक यासुको यामासिता दम्पतीको पहलमा  कन्या क्याम्पसको सहयोगमा दुर्गमका १० छात्रालाई पोखराको साकुरामा राखेर पठनपाठनको प्रबन्ध मिलाइयो। १० वर्षे परियोजनामा हालसम्म ९० महिला शिक्षक तयार भइसकेको र १० शिक्षक अध्ययनका क्रममा रहेका छन्।

साकुरामा रही अध्ययन गरिसकेका छात्रामध्ये ६ जना जापानको बुनक्यो गाकुइन विश्वविद्यालयममा समेत अध्ययन गरी अनुभव संगालिसकेका छन्। कपिलवस्तुकी सुजाता आचार्यले साकुरामा दुईवर्षे शिक्षाशास्त्र संकायमा प्लस–टु अध्ययन गरिन्। त्यसपछि जेएनएफइएले उनलाई एक वर्षका लागि बुनक्यो गाइकुइन विश्वविद्यालयमा अध्ययन गर्ने अवसर दियो।

जापानका विद्यालयमा शिक्षक विद्यार्थीभन्दा पहिले नै कक्षामा पुग्ने गरेको देख्दा उनी अचम्म परिन्। उनी भन्छिन्, 'जापानमा मैले धेरै उदाहरणीय कुरा देखें। कक्षाकोठामा विद्यार्थीको सिकाइ उपलब्धि राम्रो गराउन शिक्षक नै विद्यार्थीसँग छलफल गर्ने, विद्यार्थीमा देखापरेको समस्या समाधानको उपाय पनि विद्यार्थी र शिक्षकले नै निकाल्ने गरेको देख्दा प्रभावित भएँ।'

साकुराको चौथो ब्याचकी सुजाताले जापानबाट नेपाल फर्केपछि तीन वर्ष कपिलवस्तुकै जनचेतना निमाविमा पढाइन्। 'जापानका चार प्राथमिक विद्यालयमा सिकाइ तालिम लिएँ। त्यहाँ प्रत्येक दिन प्रिन्सिपल र अरु केही शिक्षक विद्यालयको गेटमै उभिई विद्यार्थीलाई 'ओहायोगोजइमासु' भनी अभिवादन गरेको देखें,' सुजाता अनुभव सुनाउँछिन्, 'प्राथमिक तहमा जापानमा सबै कक्षागत शिक्षक शिक्षण प्रणाली हुन्छ। कपिलवस्तुको स्कुलमा तीन वर्ष शिक्षण गर्दा मैले जापानमा सिकेको सबै प्रणाली लागू गरें, विद्यार्थी ह्वात्तै बढे।'

स्कुलले उनलाई कक्षा २ को कक्षागत शिक्षिका बनाइदियो। उनले विद्यार्थीलाई आकर्षित गर्न कक्षाकोठा सजाएर, नाचगान र संगीतसहित पढाउन थालिन्, यो सिर्जनात्मक शैलीसँगै विद्यार्थी रमाउन थाले।

साकुरामा पनि सबै विद्यार्थी रुटिङ अनुसार सरसफाइ र खाना पकाउने गर्छन्। विशेषगरी जापानबाटै विशेषज्ञ आई छात्रालाई संगीत, चित्रकला र शारीरिक शिक्षाजस्ता नेपालमा विशेष जोड नपाएका विषय र प्यानेल थिएटर नामक अभिव्यक्तिसम्बन्धी शिक्षा समेत सिकाउने भएकालेे निकै रमाइलो अनुभव हुने गरेको अर्की छात्रा शर्मिला विकले सुनाइन्। रुपन्देहीकी शर्मिला साकुराका तेस्रो ब्याचकी छात्रा हुन्।

नेपाल–जापान महिला शिक्षा संगठनकी अध्यक्ष प्रा. यामासिता यासुकोले नेपालको सुदूर पश्चिमाञ्चलको दुर्गम गाउँबाट विद्यार्थीहरू जम्मा गरेका कारण सुरुमा विद्यार्थीबीच भाषाको समस्या रहेको सुनाइन्। 'पछि सबै छात्रालाई एकै ठाउँमा राख्यौं। कामको पालो र जिम्मेवारी तोक्यौं। प्रत्येक दिन सरसफाइ गर्ने, खाना पकाउने आदि गर्दै जाँदा फरक परिवेश र जातिको अन्तर बिस्तारै लोप भयो,' प्रा. यासुको भन्छिन्, 'हाम्रो मुख्य लक्ष्य सामुदायिक स्कुलको शिक्षा सुधार गर्न महिला शिक्षक तयार पार्नु हो।'

शिक्षाविद् एवं जापानका पूर्वराजदूत केदारभक्त माथेमाले नेपाल सरकारले १९ वर्षअघि नै देशभरि छात्राहरूको शिक्षामा समतामूलक पहुँच पुर्‍याउन फिडर छात्रावासको व्यवस्था गर्दै आए पनि सही अनुगमन, व्यवस्थापन नहुँदा सफल हुन नसकेको बताए। 'साकुरा डोरमिटोरीको मुख्य सफलताको कारण नै विद्यार्थी छनोट र सिकाउने संस्कृति हो,' माथेमाले भने, 'साकुरामा समूहमा सबै मिलिजुली सिक्ने र सिकाउने संस्कृतिको विकास भएकै कारण यो परियोजना भए पनि सफल छ।' साकुराको १० वर्षे परियोजना सन् ०१७ अगस्टमा सकिँदै छ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरि लम्सालले शिक्षा मन्त्रालयले ०२८ सालदेखि नै महिला शिक्षकले विद्यालयमा बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको बताए। तर, सरकारले उचित व्यस्थापन गर्न नसकेकै कारण सफल हुन नसकेको उनको भनाइ छ। 'सय साकुरियन गर्लले सार्वजनिक शिक्षा सुधारमा उल्लेख्य भूमिका खेल्दै आउनु गर्वको विषय हो,' लम्सालले भने, 'देशभरि हाम्रो २० वटा फिडर छात्रावास सञ्चालित छन्। कक्षा ६–१० सम्म दुर्गमका छात्रालाई राखेर निःशुल्क शिक्षा दिँदै सरकारको प्रतिविद्यार्थी वार्षिक ३५ हजार खर्च हुन्छ। हाम्रो लगानीको प्रतिफलको सही उपयोग गर्न अनुगमन र चुस्त व्यवस्थापन आवश्यक देखेको छु।'

युएन सिइडिएडब्लु  कमिटी सदस्य बन्दना राणाले छात्राको शिक्षामा समतामूलक पहुँच पुर्‍याउन घरबाटै सकारात्मक वातावरण तयार गर्न लाग्नुपर्र्ने सुझाइन्।

प्रकाशित: ६ कार्तिक २०७३ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App