coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार दुई आरोपी पक्राउ गरी सार्वजनिक गरिँदै। तस्बिर : सरिता/नागरिक

धादिङ - कर्तव्य ज्यान मुद्दामा फरार तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ। २०६३ कात्तिक ७ गते राति देउसी खेल्न जाऔं भन्दा बिरामी भनी नमानेका रुबिभ्याली गाउँपालिका–२ स्थित कामीगाउँका २७ वर्षीय देवबहादुर बिकलाई हेमडल्ला बिकसमेत आठजनाले कुटपिट गरेका थिए। घाइते बिकको उपचारका क्रममा मृत्यु भएको र सोही दिन दाहसंस्कार गरिएको थियो।

घटनापछि संलग्न आठजनामध्ये फरार तीनजनालाई यही वैशाख ११ र १५ गते गरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। ११ गते काठमाडौंको गौशालाबाट ४० वर्षीय सार्की बिकलाई पक्राउ गरेको र उनलाई दुई वर्ष कैद तोकिएको प्रहरीले बताएको छ। त्यस्तै, आइतबार दुई जनालाई पक्राउ गरिएको छ। रुविभ्याली गाउँपालिका–२ का ५९ वर्षीय बमहादुर बिकलाई तिप्लिङको कामी गाउँबाट पक्राउ गरिएको छ भने सोही ठाउँका ३४ वर्षीय हेम डल्ला बिकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका–५ प्राजुङबाट पक्राउ गरिएको छ। बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ।

घटनामा संलग्न रुविभ्याली–२ का पूर्णबहादुर बिकलाई २०६४ भदौ ११ गते नै पक्राउ गरिएको थियो। उनलाई १० वर्ष कैद तोकिएको थियो। त्यस्तै, मंगले कामी भन्ने डिलबहादुर बिकलाई २०७३ साल जेठ ३ गते पक्राउ गरी पुर्पक्षका लागि कारागारमा २ वर्ष कैद तोकिएको थियो। उनीहरूले सफाइ पाइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। घटनामा संलग्न सोही ठाउँका अमृता बिक र पञ्चमाया बिकले पनि अदालतबाट सफाइ पाइसकेका छन्। अर्का आरोपी रुविभ्यालीकै २८ वर्षीय कालु बिकलाई २० वर्षको कैद तोकिएकोमा उनको दुई वर्षअगाडि नै मृत्यु भइसकेको छ।

घटनापछि मृतकका भाइ गमबहादुर बिकले प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा फरार अभियुक्त पक्राउ विशेष अभियानअन्तर्गत प्रहरीले धादिङ, काठमाडौं र रसुवा तथा नाकाहरूमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले जानकारी दिए।

प्रकाशित: १७ वैशाख २०७६ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App