८ वैशाख २०८१ शनिबार
राजनीति

खुट्टा नकमाउन नेतालाई खबरदारी

काठमाडौं- लोकमानसिंह विरुद्धको माहाभियोग प्रस्ताव अविलम्ब पारित गर्न माग गर्दै विभिन्न दल निकट ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीकामा प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट क्रान्तिकारी विद्यार्थी संगठन, मधेसी दलनिकटलगायत विद्यार्थी संगठन कार्कीविरुद्ध कारबाही माग राखेर संयुक्त रुपमा सडकमा उत्रेको अनेरास्ववियु सचिव आरसी लामिछानेले बताए। 

विद्यार्थी संगठनहरूले अपराह्न साढे चारदेखि साढे पाँच बजेसम्म नाराबाजीसहित कार्कीलाई कारबाही माग राखेर प्रदर्शन गरे। उनीहरूले कार्कीलाई कारबाही गर्न खुट्टा नकमाउन राजनीतिक दलका नेता तथा संासदलाई पनि खबरदारी गरे। 'लोकमानले फाल्ला जाल, नेताहरू हाम नफाल' भन्दै विद्यार्थीले खबरदारी नारा लगाएका थिए। विद्यार्थीले संसद्मा दुई तिहाई बहुमत पुर्‍याएर अविलम्ब महाभियोग प्रस्ताव पारित गर्न माग गरेका छन्।

नेविसंघका महामन्त्री कुन्दन काफ्लेले कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित गर्न खुट्टा नकमाउन दलका नेता र सांसदहरूलाई खबरदारी गरेको बताए। 'सम्मानित सर्वोच्च अदालतको म्याद तामेलमा कार्कीले असहयोग गरे,' काफ्लेले भने, 'कार्यपालिकाद्वारा नियुक्त उनले गरेका कार्य राज्यको हितविपरीत भएकाले नेताहरूले कारबाही गर्न खुट्टा कमाउनु हुँदैन। अन्यायविरुद्ध विगतमा पनि संयुक्त विद्यार्थी आन्दोलनले आँधीबेहेरी ल्याएका थिए, आज पनि ल्याउने तयारीमा छौं।'

संसद्बाट महाभियोग प्रस्ताव पारित नभएसम्म विद्यार्थीले सडकबाटै दबाबमूलक खबरदारी आन्दोलन गरिरहने उनले बताए।

११ विद्यार्थी संगठनले शनिबार विभिन्न दलका शीर्ष नेतालाई भेटेर कार्कीविरुद्ध कारबाही प्रक्रिया छिटो अघि बढाउन आग्रह गर्ने जानकारी अनेरास्ववियुका लामिछानेले दिए। 'लोकतन्त्रमा लोकमानतन्त्र हाबी भएको विद्यार्थी संगठनहरूलाई मान्य हुँदैन,' लामिछानेले भने, 'संसद्बाट अविलम्ब बहुमतले महाअभियोग प्रस्ताव पारित नहुन्जेल संयुक्त विद्यार्थी संगठनले सडक आन्दोलन जारी राख्छ।'

संयुक्त विद्यार्थी संगठनले आइतबार पनि रत्नपार्कमा कार्कीको विरुद्धमा बृहत् विद्यार्थी भेला गर्ने कार्यक्रम तय गरिसकेको उनले जनाए।

अनेरास्ववियु अध्यक्ष नवीना लामाले कार्कीलाई कारबही गर्न नेताहरूले खुट्टा कमाउन नहुने बताइन्। संयुक्त विद्यार्थी संगठनको शुक्रबारको बैठकले कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित नहुन्जेलसम्म सडक आन्दोलन जारी राख्ने निर्णय गरेको जानकारी लामिछानेले दिए।

प्रकाशित: ६ कार्तिक २०७३ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App