coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भृकुटीमण्डपको जग्गा सम्झौता खारेज

काठमाडौं - समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसर जग्गा भाडामा दिइएको सम्झौतामा अनियमितता भएकाले खारेज गर्दै ६० दिनभित्र खाली गर्न पत्र पठाएको छ। जग्गा भाडामा लिने पूर्वमन्त्री टेकबहादुर गुरुङसँग, ल्याम्ह पुचः युवा क्लव, तरकारी बजार रहेको क्षेत्रको भाडा लेनदेन सम्झौता खारेज गर्दै जग्गा खाली गर्न पत्राचार गरेको हो।

परिषद्को बैठक बसी भृकुटीमण्डप, फनपार्क सञ्चालन गरिएको स्थान ल्याम्ह पुचः, तरकारी बजार भाडामा दिँदा अनियमितता भएको भन्दै जग्गा दुई महिनाभित्र खाली गर्न पत्र पठाएको हो। राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा कौडीको भाउमा लिएर नाफा कमाइरहेका बेला परिषद्ले सम्झौता खारेज गरेको हो।

भृकुटीमण्डप, ल्याम्ह पुचः, तरकारी बजारका सम्बन्धित व्यक्तिलाई पत्राचार गर्दै जग्गा खाली गर्न पत्र पठाएको हो। चलनचल्ती भन्दा धेरै सस्तो मूल्यमा सार्वजनिक जग्गा भाडामा दिई अनियमितता भएको यसअघि नै नागरिक दैनिकले विषय उजागर गरेको थियो। भृकुटीमण्डपमा वर्षौंदेखि सस्तोमा एउटै मूल्यमा कौडीको भाउमा भाडामा दिइएको छ।

समाज कल्याण परिषद्को अनियमितताबारे अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँचसदस्यीय छानबिन आयोग गठन गरेको थियो। छानबिन आयोगले दिएको प्रतिवेदनका आधारमा भृकुटीमण्डप वरिपरिको जग्गा लेनदेनमा अनियमितता भएको ठहर गर्दै आयोगले सम्झौता खारेज गरेको समाज कल्याण परिषद्का प्रवक्ता शिवकुमार बस्नेतले बताए।

‘भृकुटीमण्डप, ल्याम्ह पुचः, तरकारी बजारको सम्झौता खारेज भएको जानकारी गराउँदै ६० दिनभित्र खाली गर्न पत्र पठाइएको छ,’ बस्नेतले भने, ‘सरकारले बनाएको छानबिन आयोगले दिएको प्रतिवेदन अनुसार सम्झौता खारेज गरिएको हो।’ प्रतिवेदन अनुसार सम्झौतामा अनियमितता भएको ठहर भएपछि खारेज गरिएको प्रवक्ता बस्नेतले बताए। ‘सम्बन्धित सम्झौता गर्ने व्यक्तिलाई तीनदिन अघि पत्र पुगिसकेको छ’ उनले भने।

६० रोपनी ५५ हजारमा
मनाङ धारापानीका रबिङ (हाल लण्डन)को वारेसनामा लिई पूर्वराज्यमन्त्री भैसकेका टेकबहादुर गुरुङले ६ वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गा भाडामा लिएर फनपार्क व्यवसाय चलाइरहेका छन्।

गुरुङले ६० रोपनी जग्गालाई मासिक ५ लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन्। त्यसभन्दा अघि २०६० सालदेखि त्यस जग्गाको मासिक भाडा ५ लाख ५० हजारमा दिइएको थियो। उनले लिने बेलामा जम्मा मासिक ५ हजार रुपैयाँ बढाएर भाडामा ल्याएका थिए। त्यस परिसरमा बनाइएका घरटहरा, स्टलसमेत पर्छन्। त्यसभित्र बालबालिका खेल्ने, घुम्ने, रोटे पिङ, पसल, हर्स राइडिङ, रेष्टुरेन्ट, साना चलचित्र घरलगायत छन्।

२५ रोपनीको साढे १२ हजार भाडा
भृकुटीमण्डपको प्रदर्शनी मार्गभित्र रहेको अर्को २५ रोपनी जग्गा ल्याम्ह पुचः युवा समूहले लिएको छ। ल्याम्ह पुचःले लिएको जग्गामा मासिक साढे १२ हजार रुपैयाँ तिर्ने गरेको छ। परिषद्ले ल्याम्ह पुचःलाई २०५३ सालदेखि जग्गा दिइरहेको छ। त्यस स्थानमा बालबालिका खेलाउने पार्कका रूपमा प्रयोग गरिरहेको छ। समय अनुसार जग्गाको भाडा परिवर्तन नगर्दा सरकारलाई घाटा र कुनै व्यक्तिले मुनाफा कमाइरहेको परिषद् स्रोतको भनाइ छ।

यसैगरी, भृकुटीमण्डप छेउमा रहेको तरकारी बजार क्षेत्र समाज कल्याण परिषद्को नाममा छ। टुकुचा तरकारी बजारको ६ रोपनी १० आना क्षेत्रफल छ। त्यसबाट मासिक ९ लाख ९० हजार रुपैयाँ भाडा परिषद्ले लिइरहेको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App