coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनमा समाजवादी पार्टी विजयी

आधिकारिक मत परिणाम घोषणा भएलगत्तै राजधानी म्याड्रिडमा खुसीयाली मनाउँदै अति–दक्षिणपन्थी भोक्स पार्टीका समर्थक। तस्बिरः एजेन्सी

म्याड्रिड – स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टी संसद्को चुनावमा ठूलो दलको रूपमा विजयी भएको छ। चार वर्षको अवधिमा तेस्रो पटक भएको स्पेनी निर्वाचनमा समाजवादी पार्टी ठूलो दल भए पनि सरकार गठन गर्न आवश्यक पूर्णबहुमत भने उसले प्राप्त नगरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

समाजवादी पार्टीले २९ प्रतिशत मत प्राप्त गरेको बताइएको छ। सरकार बनाउनका लागि उसले वाममोर्चा र क्षेत्रीय पार्टी वा मध्यपन्थी दलको सहयोग लिन पर्ने बाध्यता सिर्जना भएको छ।

अति–दक्षिणपन्थी दल भोक्स पनि सिट जितेको छ। उसले पहिलो पटक एउटा शक्तिका रूपमा संसद्मा प्रवेश पाएको हो। उसको जितले स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतातर्फ उन्मूख भएको छ। प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ।

सन् २०१७ मा क्याटालोनियाले स्पेनबाट अलग्गिन चाहेयता स्पेनमा राजनीतिक अस्थिरता अझ चुलिएको छ। अस्थिर राजनीतिकै कारण विगत चार वर्षको अवधिमा तेस्रो पटक संसद्को निर्वाचन गर्नु परेको हो। अतिराष्ट्रवादी भोक्स पार्टीको उदय अर्को चुनौतीको रूपमा देखिएको छ। यो दलले १० प्रतिशतको हाराहारीमा मत पाएको छ। यो दलले बहुसँस्कृति र अनियन्त्रित आप्रवासनको विरोध गर्ने गरेको छ। सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्यु भएपछि अति–दक्षिणपन्थीको उपस्थिति स्पेनको राजनीतिमा खासै थिएन।

कूल ३५० सिट रहेको स्पेनको संसद्मा सान्चेजको समाजवादी पार्टीले १२३ स्थान जितेको छ। अर्थात् करिब २९ प्रतिशत मत समाजवादी पार्टीले ल्याएको छ। सन् २०१६ मा समाजवादी पार्टीले ८५ स्थानमात्र जितेको थियो। म्याड्रिडमा आइतबार आयोजित समारोहमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले समाजवादी पार्टीले चुनाव जितेको दाबी गरेका थिए।

यस चुनावमा अनुदारवादी पपुलर पार्टी (पिपी)ले निकै ठूलो नोक्सानी व्यहोरेको छ। यस दलले अघिल्लो चुनावमा एक सय ३७ स्थान ल्याए पनि यस पटक ६६ स्थान मात्र जितेको छ। यस चुनावमा दुई वटा क्याटलन पृथकतावादी पार्टीले पनि राम्रो प्रगति गरेका छन्। सन् २०१६ मा यी दलले १७ स्थान जितेकामा यस पटक २२ स्थानमा विजयी भएका छन्। विजयी भएका पाँच जना पृथकतावादी नेता जेलमै छन् र उनीहरुमाथि स्पेनको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
दक्षिणपन्थी पार्टीहरुले भने प्रधानमन्त्री सान्चेजले पृथकतावादीसँग नरम व्यवहार गरेको र स्पेनलाई टुक्र्याउन खोजेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: १७ वैशाख २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App