८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चौथो चरणको मतदान, पश्चिम बंगालमा झडप

लोकसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानका लागि राजस्थानको सिरोही जिल्लामा रहेको एउटा मतदान केन्द्रमा लामबद्ध मतदाता। तस्बिरः एजेन्सी

नयाँ दिल्ली – भारतमा देशको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत सोमबार नौ राज्यका ७१ संसदीय क्षेत्रमा मतदान भएको छ। सोमबार भएको मतदानका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रीय दलहरुको गठबन्धनबीच पश्चिम बंगाल राज्यमा झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

झडप भएपछि पश्चिम बंगाल भारतीय राजनीतिको मुख्य विषय बनेको छ। जनसंख्याको हिसाबले पनि महत्वपूर्ण मानिएको पश्चिम बंगालमा आसन्न निर्वाचनमा धेरैभन्दा धेरै सिट जित्ने लक्ष्य प्रधानमन्त्री मोदीले लिएका छन्। उनले उत्तरी राज्यमा आफ्नो दलले  गुमाउन सक्ने सिटलाई पश्चिम बंगालबाट मिलान गर्न खोजेको समेत भारतीय राजनीतिका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

सोमबारको मतदान पक्रियाअन्तर्गत मोदीको हिन्दू राष्ट्रवादी दल भाजपाका कार्यकर्ताले क्षेत्रीय दल त्रिनामुल कंग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि सुरक्षाकर्मीले सबैलाई लखेटेको रोयटर्सले जनाएको छ। भारतीय निर्वाचन आयोगका अधिकारीहरुले अर्धसैनिक बलले एउटा निर्वाचन क्षेत्रमा हवाई फायर गरेको समेत बताएका छन्। मतदाता र सुरक्षा फौजबीच झडप भएपछि अर्धसैनिक बलले हवाई फायर गरेको अधिकारीहरुले बताएका छन्। निर्वाचन अधिकारीहरुले मतदातालाई मतदानस्थलमा मोबाइल फोन लान प्रतिबन्ध गरेपछि आक्रोशित मतदाताले सुरक्षा फौजमाथि आक्रमण गरेको बताइएको छ।

पश्चिम बंगालमा झडप भएको भन्ने समाचार बाहिरिए पनि मतदानसम्बन्धी विषयमा घाइते भएको भन्ने समाचार तत्काल आएको छैन। यद्यपि गत साता भएको तेस्रो चरणको मतदानका क्रममा कम्तीमा एकजनाको मृत्यु भएको थियो भने अन्य तीनजना घाइते भएका थिए।

करिब ९० करोड मतदाता रहेको विशाल लोकतान्त्रिक अभ्यासका रूपमा लिइएको भारतको निर्वाचन विभिन्न सात चरणमा सम्पन्न हुँदैछ। अप्रिल ११ बाट सुरु भएको निर्वाचन मे १९ मा समापन हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

भारतको तल्लो सदन लोकसभामा कुल पाँच सय ४५ सिट रहेको छ। कुल सिटमध्ये पाँच सय ४३ सिटका लागि निर्वाचन हुनेछ भने बाँकी दुई सिटमा राष्ट्रपतिले मनोनित गर्ने प्रावधान रहेको छ।

चौथो चरणअन्तर्गत सोमबार महाराष्ट्रका १७, उत्तर प्रदेश र राजस्थानका १३÷१३, पश्चिम बंगालका आठ, मध्य प्रदेश तथा ओडिसाका छ÷छ, बिहारका पाँच, झारखण्डका तीन र जम्मूु–कस्मिरका एक संसदीय क्षेत्रमा मतदान सम्पन्न भएको भारतीय निर्वाचन आयोगलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। भारतको आर्थिक नगरी मुम्बईमा पनि मतदान भएको छ।

यसअघि तीन चरणमा गरेर कुल तीन सय दुई क्षेत्रमा मतदान भइसकेको छ। मे १९ मा अन्तिम चरणको मतदान सम्पन्न भएपछि मे २३ देखि मतगणना हुने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ। चौथो चरणको मतदान सत्तारुढ भारतीय जनता पार्टीका लागि अति नै महत्वपूर्ण मानिएको छ।

प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेका छन्। त्यसैकारणले पनि यो निर्वाचनलाई उनको जनमतसंग्रहका रूपमा लिइएको छ। चौथो चरणमा मतदान सम्पन्न भएका निर्वाचन क्षेत्रमा भाजपाले यसअघि उसले जितेको सिट संख्या जोगाउन सके फेरि सरकार बनाउने उसको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताइएको छ।
लोकसभा निर्वाचनको चौथो चरणमा कुल नौ सय ४३ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। मोदी नेतृत्वको सरकारका मन्त्रीहरू ः गिरिराज सिंह, सुभाष भाम्रे, एसएस अहलुवालिया र गजेन्द्र सिंह शेखावतको जित–हारको पनि सोमबारकै मतदानले फैसला गर्नेछ।

भारतको तल्लो सदनमा बहुमत ल्याउनका लागि दुई सय ७२ सिट जित्न आवश्यक रहेको छ। अप्रिल ११ मा सम्पन्न भएको पहिलो चरणको मतदानअन्तर्गत उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसमेत १८ राज्य र दुई केन्द्र शासित क्षेत्रमा मतदान भएको थियो। पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद छानिने छन्। दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मु–कस्मिर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालका निर्वाचन क्षेत्रमा मतदान भएको थियो। तेस्रो चरणमा १४ राज्य तथा केन्द्र शासित स्थानमा गरेर कुल एक सय १५ संसदीय क्षेत्रमा मतदान भएको थियो। तीमध्ये केरलाको वायनाडबाट कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी पनि उठेका थिए।

प्रकाशित: १७ वैशाख २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App