७ वैशाख २०८१ शुक्रबार
राजनीति

चिनियाँ रेल नेपाल ल्याउन वार्ता केन्द्रित

बेइजिङ - चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेकी छन्। बेइजिङस्थित जनबृहत् सभाभवनमा सोमबार अपराह्न पौने पाँच बजे दुई राष्ट्रनायकबीच भेट भएको हो। सुरुमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई रातो कार्पेटमा स्वागत गरेका थिए। त्यति बेला चिनियाँ जनमुक्ति सेनाको टुकडीले राष्ट्रपति भण्डारीको स्वागतमा सलामी अर्पण गरेको थियो। ‘गार्ड अफ अनर’ मा २२ नेपाली प्रतिनिधि उपस्थित थिए। चिनियाँ राष्ट्रपतिसँग नेपाली प्रतिनिधिको परिचय राष्ट्रपति भण्डारीले गराएकी थिइन्। त्यसैगरी चिनियाँ राष्ट्रपति सीले चिनियाँ प्रतिनिधिमण्डलको परिचय गराएका थिए। त्यसपछि आयोजित चिनियाँ राष्ट्रपति सीसँगको बैठकमा भने सातजना नेपाली प्रतिनिधि सहभागी भएनन्।

चिनियाँ राष्ट्रपति सीसँगको भेटमा राष्ट्रपति भण्डारीको साथमा १५ सदस्यीय नेपाली टोली सहभागी थियो। सहभागीहरुमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत उच्चपदस्त अधिकारी थिए। दुई राष्ट्रनायकबीचमा लगभग २० मिनेट कुराकानी भएको थियो। दुवै राष्ट्रनायकको बैठकपछि नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर समारोहमा दुवै राष्ट्रपति साक्षी बसेका छन्।

भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले चीन र नेपालबीचको सम्बन्ध नदीनाला र हिमाल पहाडले जोडेको भन्दै आफ्नो भनाइ राख्न सुरु गरेका थिए। सामान्यतया नेपालीले मन्जुश्री, भृकुटी, अरनिकोलगायतका सांस्कृतिक दूतबाट चीनसँगको सम्बन्धबारे चर्चा सुरु गर्छन् भने चिनियाँ नेताहरुले प्रकृतिको सन्दर्भ जोडेर दुई राष्ट्रबीचको सम्बन्धबारे चर्चा सुरु गर्छन्। सोमबारको बैठकमा पनि चिनियाँ राष्ट्रपति सीले चीन र नेपाललाई प्रकृतिले जोडेको कुरा उल्लेख गरे। नेपाल चीनको असल छिमेकी मित्रराष्ट्र रहेको उल्लेख गर्दै उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए।

सीले हिमालय सीमापार बहुआयामिक सञ्जालको कुरा उठाउँदै नेपालसम्म चिनियाँ रेल पु-याउने बताएको वार्ता टोलीमा सहभागी नेपाली दूतावासका मिनिस्टर काउन्सिलर हरीश्चन्द्र घिमिरेले नागरिकलाई जानकारी दिए। घिमिरेका अनुसार चिनियाँ राष्ट्रपति सीले हिमालय पार गरेर चिनियाँ रेल नेपाल पुगेपछि यसबाट दुवै देशको विकासमा सहयोग पुग्ने बताए। चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भित्र हिमाल पार गरेर जाने रेललाई पनि समेटेको उल्लेख गर्दै सीले नेपालको पूर्वाधार विकासमा सघाउन चीन तयार रहेको स्पष्ट पारे। उनले रेलवे सेवाका लागि चाँडै नै डिपिआर तयार गर्ने कार्यमा पनि सघाउन चीन तयार रहेको जानकारी दिए। दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च सम्मेलन सम्पन्न भएपछि जारी गरिएको संयुक्त विज्ञप्तिको अनुसूचीअन्तर्गत २३ नम्बरमा नेपाल चीन ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कमा नेपाल चीन सीमापार रेलवे उल्लेख गरिएको छ।

बैठकमा राष्ट्रपति सीले चीन र नेपालको भूभाग जोडिएको र यगौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताको मन पनि मिलेको बताएका थिए। नेपालसँगको सम्बन्धमा चीनले उच्च ध्यान दिनुका साथै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता संरक्षणमा आफ्नोे राष्ट्रिय अवस्थासँग अनुकूल रहेको विकासको बाटो खोज्न नेपाललाई समर्थन गरेको उनले स्पष्ट पारेका थिए। बेल्ट एन्ड रोडको संयुक्त निर्माणमा नेपाल सक्रियताका साथ संलग्न भएकोमा चीनले उच्च प्रशंसा गरेको भन्दै उनले चीन र नेपालले पूर्वाधार क्षेत्रमा सहयोग बढाएर सीमा पार आर्थिक सहयोग क्षेत्र निर्माण गर्न अरु प्रवद्र्धन गर्नुपर्ने दोहो-याए।

प्रत्युत्तरमा भण्डारीले बिआरआई ऐतिहासिक प्रस्ताव भएको भन्दै यसको विश्वव्यापी प्रभाव परेको र नेपाल चीन सहयोगका लागि असल मञ्च भएको उल्लेख गरिन्। उनले जनगणतन्त्र चीन स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवका अवसरमा शुभकामना ज्ञापन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले उल्लेखनीय उपलब्धि हासिल गरेकोमा सीलाई बधाई दिइन्। चीन नेपालको साँच्चिकै मित्रराष्ट्र रहेको भन्दै दुई देशबीचमा घनिष्ट ऐतिहासिक, भौगोलिक, सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरिन्। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा दुई देश अडिग रहिरहेको भन्दै उनले चीनको समृद्धि स्थिर नेपालका लागि अवसर रहेको पनि बताइन्।

चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा दिएको निःसर्त समर्थनप्रति धन्यवाद दिँदै चीनको असल छिमेकी नीतिको प्रशंसा गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिइन्। सीले उपयुक्त समयमा आफूले नेपालको भ्रमण गर्ने भनेको घिमिरेले बताए। राष्ट्रपति भण्डारीले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च सफल रुपमा आयोजना गरेकोमा चिनियाँ राष्ट्रपति सीलाई बधाई दिइन्। नेपालसम्म पुग्ने चिनियाँ रेललाई बिआरआईको दस्तावेजमा उल्लेख गरेकोमा पनि उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खुसी प्रकट गर्दै नेपाली जनता व्यग्रताका साथ चिनियाँ रेलको प्रतीक्षामा रहेको बताइन्। नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

चिनियाँ राष्ट्रपतिसँग भेट गर्नुअगाडि राष्ट्रपति भण्डारी थिआनआनमन स्क्वायरको सहिद स्मारकमा गएर पुष्पगुच्छा अर्पण गरेकी थिइन्। राष्ट्रपति सीसँगको भेटपछि राष्ट्रपति भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन आयोगका प्रमुख चाउ लचीसँग पनि भेटवार्ता गरिन्। दुईपक्षीय छलफलपछि नेता चाउले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रीभोज दिएका थिए।

प्रकाशित: १७ वैशाख २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App