८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल र चीनबीच सात सम्झौतामा हस्ताक्षर

बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपराह्न बेइजिङस्थित जनबृहत् सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामध्ये सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल रहेको छ। १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारका तर्फबाट यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन्। विगत चार दशकदेखि छलफलमा रहे पनि नेपाल र चीनबीचमा यातायात तथा पारवहन प्रोटोकल बन्न सकेको थिएन। तीन वर्षअगाडि प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले पहिलो चीन भ्रमण गर्दा नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो। यसलाई कार्यान्वयन गर्न प्रोटोकल अनिवार्य रहेकाले दुई देशका अधिकारी प्रोटोकल बनाउन जुटेका थिए। ओली प्रधानमन्त्रीबाट हटेपछि प्रोटोकल निमार्णको काम पनि सुस्ताएको थियो। फेरि ओली प्रधानमन्त्री बनेपछि प्रोटोकल निर्माणले गति लिएको हो। गत वर्ष उनको दोस्रो भ्रमणका समयमा प्रोटोकलमा हस्ताक्षर हुने चर्चा चले पनि त्यसले मूर्त रुप लिइनसकेकाले हस्ताक्षर हुन सकेको थिएन।

प्रोटोकलमा हस्ताक्षर भइसकेपछि नेपाल र चीनबीचको यातायात तथा पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। यसले नेपाललाई भारतीय भूमि नछोईकन समुद्रसम्मको पहुँच स्थापित गराएको छ। प्रोटोकलमा नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख छ, जसमा तातोपानी, केरुङ, किमाथांका, कोरला, यारी र ओलाङचुङगोला छन्। यीमध्ये ओलाङचुङगोला, किमाथांका र कोरला औपचारिक रुपमा खुल्न बाँकी छन्।

चीनले नेपाललाई प्रदान गरेको सहयोगसम्बन्धी सम्झौतामा पनि सोमबारै हस्ताक्षर भएको छ। सो सम्झौताअनुसार चिनियाँ सहयोगका परियोजना तथा पुनर्निर्माणमा नेपालले थप सहयोग पाउने भएको छ। सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीनका तर्फबाट वाणिज्यमन्त्री चोङ शानले हस्ताक्षर गरे। सम्झौताअनुसार चीनले नेपाललाई एक अर्ब चिनियाँ युआन अर्थात् १६ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा सहयोग प्रदान गर्नेछ। त्यस्तै नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। यस सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष वाङ सिआयोथावोले हस्ताक्षर गरे।

त्यसैगरी चौथो सम्झौतामा नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार्न सहयोगात्मक साझेदारी सशक्त बनाउने कुरा उल्लेख छ। विशेष गरी चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएका नेपालका जिल्लामा चीनले अस्पताल, विद्यालय, सुरक्षा संयन्त्र, कृषि, विद्युत्, सौर्य ऊर्जाजस्ता कुरामा सहयोग पु¥याउँदै आएको छ। यो सहयोगलाई अझै सशक्त बनाउन नयाँ सम्झौता भएको हो। यस सम्झौतामा पनि नेपालका तर्फबाट घिमिरे र चीनका तर्फबाट सिआयोथावोले हस्ताक्षर गरे। दुई देशबीचको भन्सार व्यवस्थामा आपसी सहयोग गर्न पनि दुई देशबीच सम्झौता भएको छ। यस सम्झौतामा नेपालका तर्फबाट घिमिरे र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले हस्ताक्षर गरे।

त्यस्तै नेपाल नापतौल तथा गुणस्तर विभाग र चीनको गुणस्तर प्रशासनबीचमा आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालका चर्फबाट चीनका लागि नेपाली राजदूत पौड्याल र चीनका तर्फबाट यान्छीले हस्ताक्षर गरे। सांस्कृतिक सम्पदाको अवैध आयातनिर्यात, चोरी, तस्करी रोक्न पनि चीन र नेपालबीच नयाँ सम्झौता भएको छ। यो सम्झौतामा नेपालका तर्फबाट पौड्याल र चीनको तर्फबाट चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका प्रशासक लिउ युचुले हस्ताक्षर गरे।

प्रकाशित: १७ वैशाख २०७६ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App