coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन चिनी उद्योग बन्द

ईन्दुशंकर चिनी उद्योगको खाली यार्ड। तस्बिर: टंक/नागरिक

सर्लाही - मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको ईन्दुशंकर चिनी उद्योग चालू सिजनका लागि बन्द भएको छ। सोमबार बिहान साढे १ बजेदेखि उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको छ।

‘यसवर्ष ईन्दुशंकरले मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको छ,’ रजकले भने, ‘उद्योग चल्न महिना दिन ढिला भएकाले अझै उखु क्रसिङ घटेको हो, नत्र गत वर्षजति नै हुन्थ्यो।’ उक्त उद्योगले गत वर्ष ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल उखु क्रसिङ गरेको थियो।

केही दिन अघिदेखि नै बाहिरका संकलन केन्द्रबाट उखु ल्याउन बन्द गरिसकिएको र मिलगेट क्षेत्रको उखु मात्र ल्याएर एक सातादेखि नो क्यानमा उद्योग चलिरहेको थियो। चर्को घामका कारण कटाइ र ढुवानीमा समस्या हुँदा किसानले उद्योगसम्म उखु ल्याउन सकेका थिएनन्। ‘करिब सात सय क्विन्टल मिलगेट क्षेत्रको उखु अझै बाँकी रहेको छ,’ रजकले भने, ‘त्यो उखु भने बाराको मानकौरस्थित उद्योगमा पठाउँदैछौं।’

त्यस्तै जिल्लाको दक्षिणी क्षेत्र बगदहस्थित महालक्ष्मी सुगर मिल र पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलले भने एक साताअघि नै चालू सिजनका लागि उखु क्रसिङ बन्द गरिसकेका छन्। यसै वर्षदेखि क्रसिङ सुरु गरेको महालक्ष्मीले ११ लाख २७ हजार तीन सय ९५ क्विन्टल उखु पेलेको छ।

त्यस्तै पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले नौ लाख सात हजार ६ सय ९२ क्विन्टल उखु क्रसिङ गरेको छ। अन्नपूर्णले गत वर्ष १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो। यस वर्षदेखि दक्षिणी क्षेत्रकै बगदहमा महालक्ष्मी सुगर मिल सञ्चालनमा आएपछि इन्दुशंकर र अन्नपूर्णको क्रसिङ परिमाण घटेको छ।

तीनवटा चिनी उद्योग सञ्चालनरत सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो। यहाँ यस वर्ष करिब २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App