६ वैशाख २०८१ बिहीबार
समाज

शताब्दी पुरुषको शतवार्षिकी मनाइँदै

ललितपुर - ललितपुर महानगरपालिकाले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको वार्षिक जन्मोत्सव मनाउने पहिलो दिन वैशाख ३० गते महानगरअन्तर्गतका सबै कार्यालय बन्द गर्नेे घोषणा गरेको छ।  सोमबार पत्रकार सम्मलेन गर्दै वर्ष दिनभरि गरिने कार्यक्रमको समय तालिकासहित महानगरले यस्तो घोषणा गरेको हो।

जोशी वैशाख ३० गते ९९ वर्ष पार गरी सय वर्षमा प्रवेश गर्दैछन्। उनको जन्मोत्सवलाई लिएर महानगरले वर्षभरि विभिन्न कार्यक्रम गर्ने योजना बनाइसकेको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनले जोशीको योगदानलाई कदर गर्दै त्यसको कदरस्वरुप महानगरले जन्मोत्सव मनाउन लागेको बताए।

‘उहाँ राष्ट्रकै धरोहर हो, हामीले उहाँको नाममा जतिसुकै कार्यक्रम गरे पनि त्यो कम हुन्छ,’ उनले भने, ‘एउटा सर्जकलाई सम्मान गर्न हामीले २० लाख रकम छुट्याएर जन्मोत्सव मनाउन लागेका हौं।’ मेयर महजर्नले सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण निधि भएकोले उनको लागि महानगरले लगानी गरेको बताए।

‘उहाँको अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुगेको छ, नेपालको कला, संस्कृति र साहित्यमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन उहाँको योगदान अतुलनीय छ,’ त्यसैले हामीले यस्तो कार्यक्रम गर्ने घोषणा गरेका हौं,’ उनले भने।

जोशीको जन्मोत्सवलाई सम्मान र कदर गर्नकै लागि ३० गते महानगरपालिका अन्र्तगनका सबै कार्यालय बन्द गरिने महानगरले जनाएको छ।

पाटनको एउटा सामान्य परिवारमा जन्मिएका अहिले पनि कला संस्कृति, साहित्यको अनुसन्धान र अध्ययनमा सक्रिय छन्। जन्मोत्सव मनाउन महानगरका मेयर महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन पनि गरिएको छ। वैशाख ३० गते मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक -याली गरिने छ। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी गराइने छ।

यसबाहेक रक्तदान कार्यक्रम, दिपावली, स्थायीबसोवास गर्ने सय वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई यथोचित सम्मान गर्ने लगायतका कार्यक्रम पनि तय गरिएको छ। जोशीको जन्मोत्सवलाई सम्मान गर्नकै लागि भनेर ३० गते महानगरपालिका अन्र्तगनका सबै कार्यालयहरू बन्द गरिने महानगरले जनाएको छ।

महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल मर्हजनले उनको नाममा गरिने कार्यक्रम धेरै भएकोले त्यसलाई ध्यानमा राखी महानगरका कार्यालय बन्द गरिएको जानकारी दिए। उनले देशको लागि योगदान दिने व्यक्तिलाई जिउँदो छँदै सम्मान र कदर गर्नुपर्छ भन्ने मान्यताले महानगर यस्तो कार्यक्रम बनाएको बताए।

‘हामीकहाँ देशको लागि अतुलनीय योगदान गर्ने व्यक्तिलाई मरेपछि मात्रै सम्मान गर्ने परिपाटी छ त्यसलाइ चिर्न आवश्यक छ,’ उनले सुनाए, ‘व्यक्ति जिउँदा छँदै उस्को सम्मान गर्ने हो भने त्यो व्यक्ति अझै बढी बाँच्न सक्छ।’

यस्ता छन् वार्षिक कार्यक्रम

  - नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीबारे -याली प्रदर्शन गर्ने,   - सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने,
 - उनको प्रकाशित कृति चारुमति नेपालीमा प्रकाशन गर्ने,
 - विद्यालयको पाठ्यपुस्तकमा जीवनी समावेश गर्न पहल गर्ने,
 - लेख, रचना र कार्यक्रमहरुको संकलनका लागि दैनिक पत्रिकामा प्रस्ताव आह्वान गर्ने,
 - सगरमाथामा जोशीको तस्बिर अंकित व्यानर फहराउने,
  - तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने,
  - उनको तस्वीर अंकित चाँदीको मुद्रा निष्काशन गर्ने,
  - गोसाईकुण्ड (सिलु) दर्शन गराउने,
  - उनको दिनचर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने,
   -पाटन संङ्ग्रालयभित्रको भण्डारखाल बगैचा जोशीको हातबाट सिलान्यास गराउने,
  - उनको नाममा पार्क निर्माण गर्ने,
  - केही सडकलाई उनको नामबाट नामाकरण गर्ने,
  - नेपाल आर्ट ग्यालरीमा आर्ट प्रदर्शन गर्ने,
  - मल्लकालिन संगीत सांस्कृतिक साँझ कार्यक्रम गर्ने,
  -  अध्ययन केन्द्र स्थापना गर्ने,
  - स्मारिका पुस्तक प्रकाशन गर्ने,
   -जीवनका भोगाई, अनुभवहरू र वैवाहिक जीवनको रेर्कड राख्ने,

 

प्रकाशित: १६ वैशाख २०७६ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App