७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्लाका प्रत्येक वडामा हेलिप्याड

जुम्ला– जुम्लाका प्रत्येक वडामा हेलिप्याड निर्माण प्रक्रिया चलिरहेको छ। प्रत्येक वडाको पायकपर्ने स्थानमा हेलिप्याड निर्माण प्रक्रिया चलिरहेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ हेलिप्याड निर्माणको लागि स्थानीय तहसँग समन्वय भईरहेको बताउँछन्। यहाँका एक नगरपालिकासहित ७ वटैे गाउँपालिकाभित्र पर्ने ६० वटा वडामा हेलिप्याड निर्माणको काम अघि बढेको उनले बताए।

उनले भने ‘गाउँमा स्थापित प्रहरी चौकी स्थानीय तहका पदाधीकारी र स्थानीयको सहमतिमा हेलिप्याड स्थल छनौट हुने गरेको छ। दुर्गम क्षेत्रमा कुनै पनि विपद् आउन सक्छ। महामारी फैलन सक्छ,उनले थपे ‘उद्धार संयन्त्रलाई प्रभावकारी बनाउन प्रत्येक वडामा हेलिप्याडको अवधारणा अघि सारीएको हो।’

सहजै रुपमा हेलिकप्टर अवतरण गर्न सक्ने देखि लिएर बिरामीलाई सहजै रुपमा हेलिप्याड स्थलसम्म पुर्याउन सक्ने गरि स्थान छनौट गरिएको हो। अब कुनै पनि प्रकोप, विपद्को उद्धार गर्न हेलिकप्टर आकाशमा रुमलिनु पर्दैन्। कर्णाली लगायतका दुगर्म जिल्लामा अहिले सुत्केरी महिलालाई रेस्क्यू गर्नु पर्नसक्छ। बिरामी र सुत्केरीलाई मध्येनजर गर्दै हेलिकप्टरको अवधारणा अघि बढेको हो। जुम्लाका प्रत्येक वडामा हेलिप्याड स्थल छनौट र सांकेतिक चिन्ह बनाउने कार्य चलिरहेको छ।

तिला गाउँपालिका २ का वडाध्यक्ष कलीबहादुर रावत प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने कार्य चलिरहेको बताउँछन्। उनले भने ‘हेलिप्याड निर्माण भएपछि कुनै पनि जटिल प्रकारको बिरामीलाई सुविधा सम्पन्न अस्पताल सम्म पुगाउन कठिन हुने छैन्। वडाले बनाएको हेलिप्याडमै हेलिकप्टर अवतरण गरेर लिन सकिने छ।’ प्रत्येक वडाका वडाबासीको अनुकुलताका आधारमा हेलिप्याड बनाउन थालिएको उनी बताउँछन्। यहाँका अधिकांश वडामा सडक पुग्न सकेको छैन्। अहिले जटिल प्रकारका बिरामी डोको र स्टेचरको भरमा अस्पताल पुग्छन्।

समयमै अस्पतालसम्म पुर्याउन नसकिएका बिरामी अकालमा मर्न विवश छन्। वडाध्यक्ष रावत भन्छन् ‘हेलिप्याड बन्न थालेपछि स्थानीय खुसी छन्। एक हप्ताभित्र हेलिप्याड भएको स्थान र निर्माण गरिएको प्रतिवेदन गृह मन्त्रालय पठाईने भएको हो। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत एक वडा एक हेलिप्याडको अवधारणा निकै सान्दर्भिक भएको बताउँछन्। उनले भने ‘कुन बेला के विपद् आई लाग्ने हो कसैलाई थाहा हुदैन्, अब विपद्मा परेको बेला उद्धारदेखि जटिल प्रकारको सुत्केरीलाई लैजान सहज हुने भएकोमा खुसी नै छन्।

प्रत्येक वडासँग समन्वय गरेर हेलिप्याड बनाउने काम भईरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। अहिले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दुर्गमका सुत्केरीलाई हेलिकप्टरमा ओसार्दै आईरहेको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App