४ वैशाख २०८१ मंगलबार
अन्य

ट्रेन्डमा न्यू हेयर स्टाइल

गर्मीको सुरुवातसँगै सहरका सैलुनमा थरीथरीका हेयर स्टाइलको ट्रेन्ड चल्ने गर्छ। यसपालीको गर्मीमा काठमाडौंका हेयर सैलुनमा नयाँ–नयाँ हेयर स्टाइलका क्याटलक राखिएका छन्। जसरी हामीले लगाउने पहिरनको फेसन चलेको हुन्छ त्यसरी नै समय अनुसार हेयर स्टाइलमा पनि परिवर्तन भइरहन्छ। फेसन फलो गर्नेहरू आफूलाई सधैं स्टाइलिस र फेसनेबल बनाउन लालायित रहन्छन्।

बाराका राजेश ठाकुरले पाटनमा कपाल काट्न थालेको १६ वर्षभन्दा बढी भइसक्यो। १४ वर्षको उमेरदेखि नै कपाल काट्न सिकेका उनी अहिले प्रोफेसनल हेयर डिजाइनर हुन्। ‘गाउँको बजारमा (जीतपुर) नै छ महिना कपाल काट्ने तालिम लिए, त्यसपछि कपाल काट्ने काम गर्न थालेको हुँँ,’ उनले भने। किसानका छोरा ठाकुर अहिले भने थरीथरीका हेयर स्टाइल बनाउनमा व्यस्त छन्।

समयको परिवर्तनसंगै हेयर स्टाइलमा पनि निकै फेरबदल आएको उनी अनुभब सुनाउँछन्। उनी भन्छन्, ‘मैले काम सुरु गर्दा कपाल काट्ने डिजाइन साधारण हुन्थे, बढीभन्दा बढी त्यो बेला चलेको हिरोको हेयर डिजाइन काट्न आउँथे। तर, अहिले भने दिनदिनै हेयर स्टाइल चेन्ज हुन्छ।’

टिनएजका तन्नेरीको चित्त बुझाउन धेरै मेहेनत गर्नु पर्ने उनी अनुभव सुनाउँछन्। धेरैजसो ग्राहक मोबाइलमा हेयर स्टाइलको फोटो लिएर आउने उनी बताउँछन्। उनी भन्छन्, ‘लेटेस्ट फेसन के चलेको छ भनेर दिनहुँजसो न्यू हेयर स्टाइलको भिडियो युट्युबमा हेरेर नयाँ हेयर स्टाइल सिक्ने कोसिस गर्छु।’

बजारमा चल्ने हेयर स्टाइलको एउटा डिजाइन आउन नपाउँदै त्यो डिजाइनलाई मोडिफाइ गरेर अर्को डिजाइन बन्ने हेयर डिजाइनर मन्जु बुढाथोकी बताउँछन्। चिसो मौसमभन्दा गर्मीमा धेरै डिजाइनका हेयर स्टाइल चल्ने हेयर डिजाइनर बुढाथोकीले बताइन्। पुरुष हुन् वा महिला, गर्मी मौसममा नयाँ हेयर स्टाइन रुचाउने उनी बताउँछिन्। कपनमा न्यू चाहना ब्युटिपार्लरकी सञ्चालिका मन्जु भन्छिन्, ‘खासमा गर्मी मौसममा महिला– पुरुष दुवैलाई छोटो कपालको हेयर स्टाइल काट्न रुचाउँछन्, छोटो हेयर स्टाइलले गर्मीमा सहज पनि हुने अनि युनिक हेयर स्टाइल पनि देखिने भएकाले छोटो बनाउने धेरै आउँछन्।’

विशेष युवतीले कपाललाई ठुटै पार्ने ट्रेन्ड अचेल सनकै चलेको उनी बताउँछिन्। नेटको पहुँच भएकाले इन्टरनेटमा बिभिन्न हेयर स्टाइल हेरेर कपाल कटाउन आउने धेरै रहेको उनी बताउँछिन्। आफूले खोजेजस्तो आफ्नो डिजाइनको कपाल बनाउन आउने युवा जमात धेरै रहेको उनी अनुभव सुनाउँछिन्। उनी भन्छिन्, ‘अधिकांश युवा जमात वेस्टर्न सेलिब्रेटी, खेलाडीको हेयर डिजाइन कटाउन आउन, कुनै–कुनै हेयर स्टाइल त हामीलाई थाहा पनि हुन्न।’

यो पालीको गर्मीमा बजारमा चलेको केही हेयर स्टाइललाई पछयाउनेको जमात निकै बढ्दो देखिन्छ। बिशेष युवापुस्ताले विभिन्न डिजाइन हेयरकट रुचाउने उनी बताउँछिन्।
 

प्रकाशित: १६ वैशाख २०७६ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App