१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गाउँनै पिच्छे खेल मैदान

दोलखा (जफे)- खेल क्षेत्रको प्रवर्दन गर्न यहाँको एउटा गाउँपालिकाले गाउँ नै पिच्छे ठुला खेल मैदान बनाउने अभियान थालेको छ। जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिकाले आफ्ना ७ वटै वडामा खेल मैदान निर्माण अभियान थालेको हो। फराकिला मैदानमा गाउँमा महिनैपिच्छे पालिका स्तरिय खेल प्रतियोगिता आयोजना गर्ने नीति गाउँपालिकाको छ।

पालिकाले सबै वडाहरुमा तयार गरेको मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ। वडा नं ७ हावाको खेल मैदानमा दुई साता अघि राष्ट्रपति रनिङशिल्ड नै आयोजना गरिसकिएको गाउँपालिकाकी उपप्रमुख उर्मिला खड्काले जानकारी दिईन्। हावासँगै मालु, शहरे, च्यामा, झुले, भिरकोट, जफेमासमेत मैदान निर्माण भइरहेको छ।

शहरेको खेल मैदानलाई सानो आकारको रंगशाला बनाउने तयारी गाउँपालिकाको छ। मिलेको भुगोलमा निर्माण भईरहेको शहरेको मैदानमा प्याराफिटसमेत सजिलो गरी बनाउन सकिने कारण कारण त्यसलाई रंगशाला बनाउने तयारी थालिएको हो। रंगशाला निर्माणका लागि गाउँपालिकासँगै प्रदेश सरकारले समेत बजेट विनियोजन गरिसकेको छ।

गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अघिल्लो बर्षको बजेट बनाउँदा खेल क्षेत्रलाई प्राथमिकतामा राखिएका आधारमा यो बर्षबाट ७ वटै वडाहरुमा खुल्ला मैदान निर्माण थालिएको हो। ‘हामीले अरु क्षेत्रमा जित्न सकिएला वा नसकिएला त्यो आफ्नो ठाउँमा छ’ पोखरेलले भने ‘तर अलिकति मात्र भएपनि मेहेनत र विकास गर्न सक्यौं भने खेल क्षेत्रमा अवश्य जित्न सक्छौं भनेर गाउँ सभाबाट प्रत्येक वडामा खेल मैदान बनाउने नीति लिएका हौं। निर्माण हुन लागेका खेल मैदानलाई भुगोल र जग्गा पुगेसम्म फुटबल खेलको अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइने पोखरेल बताउँछन्। ‘जग्गा पुग्ने मैदानहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार फुटबल खेल्न मिल्ने सम्मको बनाउछौं’ उनले भने।

गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारिरिक तन्दुरुस्ती राख्न युवाहरुलाई फाईदा पुग्ने हावाका वडाध्यक्ष लेखबहादुर सुनुवारले बताए। ‘किशोर, किशोरी तथा युवाहरुलाई गाउँमै बिहान बेलुका फुटबल, भलिबल, क्रिकेटजस्ता खेलहरु गाउँमै खेल्न सकुन भनेर यो मैदान बनाएका हौं’ सुनुवारले भने ‘यसले गाउँमै खेलाडीहरुलाई खेल अभ्यास गराउन मद्धत पुग्ने अपेक्षा गरेका छौं।

गाउँ नै पिच्छे निर्माण गर्न लागिएका खेल मैदानले खेलकुद क्षेत्रको विकाससँगै गाउँहरुमा आयोजना हुने सभा सम्मेलन, शिविरलगायतलाई सजिलो हुने गाउँपालिकाको भनाई छ। यसले विद्यालयहरुमा पढाई बाधा पुग्ने गरी आयोजना गरिने सभा सम्मेलन र कार्यक्रमसमेत रोकिने स्थानीय बताउँछन।

प्रकाशित: १६ वैशाख २०७६ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App