७ वैशाख २०८१ शुक्रबार
विचार

सातामै उप्किने कालोपत्रे

सकेसम्म काम नहुने, भइहाले गुणस्तरीय नहुने अवस्थाबाट मुलुक गुज्रिरहेको छ । वास्तवमा हाम्रो विकास निर्माणको समग्र तस्बिर पनि यही हो । ठेकेदार, कर्मचारी र सत्तारुढ दलका नेता तथा कार्यकर्ताबीचको अपवित्र गठबन्धनका कारण हाम्रो विकास निर्माणको यो दुर्गति भएको हो । ठेककापट्टाकै बेलादेखि चलखेल सुरु हुन्छ । सत्ता निकट व्यक्तिहरूले त्यसलाई सजिलै हासिल गर्छन् । तयसपछि सुरु हुन्छ– एउटा भद्दा खेल । जसरी पनि ठेक्का पाइसकेपछि परिचालनबापतको खर्च सजिलै लिन्छन् ठेकेदारले । त्यो रकम उनीहरूले अन्य लाभका क्षेत्रमा लगाउँछन् । एक, सुरुमै सबैभन्दा कममा निर्माण सम्पन्न गर्ने भनी ठेक्का हासिल गर्छन् । दुई, त्यसमा भागशान्ति गर्नका निम्ति कर्मचारीदेखि सत्तारुढ दलका नेता तथा कार्यकर्ताको संलग्नता हुने नै भयो । सबैको भाग पु¥याइसकेपछि ठेकेदारलाई पनि हाइसन्चो हुन्छ । तिनलाई समयमै काम सम्पन्न गर्नुपर्ने दबाब पनि हुँदैन । र, हुँदैन गुणस्तरीय निर्माणको दबाब । सर्वसाधारणकै आँखाअगाडि हुने यस्ता विकास निर्माणका काममा भइरहेको अनियमितता जति ढिलो गर्दै गयो, त्यति त्यति नै छोपिँदै जान्छ । धेरैको ध्यान जाने मूल सडकको निर्माण कार्यमा जति गुणस्तरमा ध्यान दिइएको हुन्छ, त्यति नै भित्री सडकमा हुँदैन । देशको मुख्यालय रहेको सिंहदरबार र यसको आसपासको सडकको अवस्था धेरथोर राम्रो भए पनि थोरै बाहिर जानासाथ भयाबह अवस्था छ । एकातिर तत्काल काम सम्पन्न हुँदैन । अर्कोतिर त्यो निर्माण कार्य सम्पन्नताको निम्ति कुर्दाकुर्दै सर्वसाधारणको धैर्यको बाँध टुटिसकेको हुन्छ ।

एउटा यस्तै विकास निर्माणले धेरैलाई आश्चर्यमा पारेको छ । बौद्ध–जोरपाटी सडक खण्डको अवस्था केही वर्षयता देख्ने सर्वसाधारणका निम्ति ढिलाइ कुनै अर्थमा नौलो छैन । मन्त्री र नेताहरू निरीक्षणमा आएको मौका पारेर केही दिन त्यहाँ निर्माण गतिविधि सुरु भए पनि त्यसले निरन्तरता पाउँदैन । धुवाँधुलो र हिलोमा सर्वसाधारणले पाएको दुःखको कुनै हिसाब छैन । बस्, सर्वसाधारणले चूपचाप सहिदिनुपरेको छ । निर्माण सम्पन्न हुने दिनको प्रतीक्षामा सर्वसाधारण बसेका छन् । जब निर्माण सम्पन्न हुन्छ सर्वसाधारण खुसीले गद्गद् हुन्छन् । तर त्यो खुसी एक साता पनि रहँदैन । ठेकेदारले गरेको काम एक साता पनि टिक्दैन । पिच हातैले उप्काउन मिल्छ । निर्माण सामग्री गुणस्तरयुक्त राखिएको छैन । गिटी, बालुवा र अलकत्राको मात्रा पनि पूरा गरिएको छैन । एकसातामै पिच बिग्रेको देखेर सर्वसाधारण अवाक हुन्छन् । नागरिकलगायतका पे्रेसले यो अवस्थाबारे चित्रण गरी समाचार÷टिप्पणी प्रकाशन तथा प्रसारण गरेका छन् । तर यसलाई सरोकारवाला सडक हाकिमहरूले सामान्य रूपमा मात्र लिएका छन् ।

चावहिल–साँखु सडकखण्डअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटारसम्मको करिब दुई किलोमिटर सडक खण्ड कालोपत्रे भएको एक सातामै छियाछिया भएको देखेर सर्वसाधारण अवाक छन् । यस्तो अवस्थालाई लिएर सडकका जिम्मेवार पदाधिकारीले गरेको टिप्पणी भने अचम्मै लाग्दो छ । ‘जमिनमा पानीको चिस्यान रहेकाले पिच उप्किएको हो’, यो जवाफ हो सडक बिस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठको । सबैलाई थाहै भएको पक्ष हो– काठमाडौँंमा निरन्तर पानी पर्छ । बेलाबेलामा चिस्यान पनि हुन्छ । तर काठमाडौंँजस्तै अवस्था भएका सहरमा विकास निर्माणको काम हुँदैन ? हिउँ पर्ने देशमा पनि विकास हुन्छ । अझ संसारले तिब्बतको उचाइमा रेल जानै सक्दैन भनेका अवस्थालाई समेत चिरेर चीनले विकास गरेर सबैलाई देखाइदिएको छ । त्यसैले कुनै पनि प्रकृति र ठाउँअनुकूलको प्रविधि आज तयार भइसकेको छ । त्यसलाई उपयोग गरी विकास निर्माणको काम अघि बढाउन सकिन्छ । अतः मौसम र प्रकृतिका सामान्य प्रभावलाई दोष दिएर गुणस्तरहीन काम भएकालाई स्वीकार गर्न सकिँदैन । सिक्टा सिँचाइमा पनि त्यहाँका ठेकेदार र परियोजना कर्मचारीले त्यहाँको माटोलाई दोष दिएका थिए । तर प्रविधि त्यस्तो माटोका निम्ति पनि निर्धारित छ । बरु सिक्टामा त्यहाँका कर्मचारी, राजनीतिक नेता तथा कार्यकर्ता र ठेकेदारको अपवित्र गठबन्धन त्यसको कारक थियो । चाबहिल–साँखु सडक खण्डमा देखिएको गुणस्तरहीन काम एउटा उदाहरणमात्र हो । सर्वसाधारण र प्रेसको नजर नपर्ने ठाउँमा यसरी नै मिचेर काम गर्ने गरेको देखिएको छ । यस्तै काम गोपीकृष्ण सिनेमादेखि भृकुटीचोकसम्म जाने कपनको बाटोको पनि छ । त्यहाँको बाटो एक वर्ष पनि नटिक्ने गरी पिच भएको देखिएको छ । तर त्यो बाटोलाई पुनः बलियो गरी पिच गराएको देखिएको छैन । बेलाबेलामा खल्डामा गिट्टी हालेर सर्वसाधारणको आँखामा छारो हाल्नेबाहेक अन्य भएको छैन । कलंकी–नागढुंगा सडकको बेथितिबारे धेरै बोलिएको छ । तर त्यहाँका सर्वसाधारण ठेकेदार, कर्मचारी र राजनीतिको अभिशापबाट अभिशप्त छन् ।

प्रकाशित: १६ वैशाख २०७६ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App