coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

बेइजिङ - चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

राजनीतिक स्थिरतासँगै आर्थिक विकासको मार्गमा हिँडिरहेको नेपालमा लगानीको वातावरण राम्रो रहेको भन्दै राष्ट्रपति भण्डारीले छिमेकी मुलुकका हैसियतले नेपालमा चिनियाँ पुँजी र प्रविधि आवश्यक रहेको र चिनियाँ व्यवसायीले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उनले बताइन्। एक महिनाअघि काठमाडौंमा लगानी सम्मेलन सम्पन्न भएको र सम्मेलनमा चिनियाँ उद्यमीको राम्रो उपस्थिति रहेको बताउँदै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीका लागि नेपाल सर्वोत्कृष्ट स्थान रहेकोमा जोड दिइन्।

वर्तमान नेपाल सरकारको विकासको लक्ष्य र नारालाई सम्बोधनमा समेट्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘चीन हाम्रो सबैभन्दा विश्वासिलो र भरपर्दो विकास साझेदार हो। नेपालको सामाजिक आर्थिक विकास प्रयासमा चीन सरकार तथा चिनियाँ जनताले निरन्तर पु¥याउँदै आएको समर्थन र सहयोगका लागि नेपाल तथा नेपाली जनताले सदैव सराहना गर्दछन्।’

बिआरआईले लगानीका थप अवसरका ढोका खोलेको र यसबाट फाइदा लिन चिनियाँ व्यवसायीलाई राष्ट्रपति भण्डारीले आह्वान पनि गरिन्। नेपालमा लगानी गर्नका लागि धेरै झन्झटिलो कानुनी प्रक्रिया रहेको र प्रणालीभन्दा पनि व्यक्तिले निर्णय गर्ने गरेको भन्दै चिनियाँ व्यवसायीले गुनासो गर्दै आएका छन्। सोबारे स्पष्ट पार्दैे राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालमा लगानीमैत्री वातारण छ। राजनीतिक स्थायित्वले नीतिगत एवं लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गरेको छ।’ लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिएको र गर्ने क्रम जारी रहेको पनि उनले उल्लेख गरिन्।

वैदेशिक लगानी सहजीकरणका लागि चाँडै नै एकल बिन्दु केन्द्र कार्यान्वयनमा ल्याउने बताउँदै नेपालको वर्तमान कर प्रणाली उदार र अनुमानयोग्य रहेको उनले बताएकी छन्। नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीले आफ्नो लगानीबाट राम्रो मुनाफा गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई पनि त्यस्तो अवसर नछुटाउन उनले आह्वान गरेकी हुन्। नेपालसामु पर्याप्त भौतिक साधनस्रोत र प्रविधि अभाव भएकाले छिमेकी राष्ट्रलगायत विश्व समुदायले सहयोग गर्नुपर्ने पनि राष्ट्रपति भण्डारीले औँल्याइन्।

नेपालमा चिनियाँ लगानीकर्ताले रुचाएको क्षेत्र पर्यटन हो। ठमेल र पोखराको लेकसाइटलाई साना चिनियाँ व्यवसायीले ‘मिनी चाइना’ बनाइसकेका छन्। यस्तो अवसरमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या पनि दिनानुदिन बढिरहेको छ। राष्ट्रपति भण्डारीले पनि सम्बोधनका क्रममा चिनियाँका लागि नेपालको पर्यटन क्षेत्रले लोभ्याएको संकेत गरेकी छन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। हामी नजिकको छिमेकी चीनबाट पर्यटकको संख्यामा गुणात्मक वृद्धि होस् भन्ने चाहन्छौँ।’ धेरै टाढाका ठाउँमा चिनियाँ पर्यटक बिदा मनाउन जान सक्छन् भने नजिकै रहेको नेपालमा आफ्नोे गन्तव्य बनाउन किन सक्दैनन् भन्दै उनले भनिन्, ‘नेपालमा रहँदा चिनियाँ मित्रहरूले आफ्नो घरबाट टाढिएको महसुस गर्ने छैनन्।’ उनले नेपाललाई गन्तव्य मुलुकका रूपमा प्रचारप्रसार गर्नलाई चीन सरकारलाई अनुरोध पनि गरेकी छन्।

राष्ट्रपतिको सम्बोधनपछि चिनियाँ उद्यमीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अंग्रेजीमा सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनका क्रममा मन्त्री ज्ञवालीले नेपाल इतिहास कालदेखि नै चीन र भारतको व्यापारलाई जोड्ने पुल बनेको बताए। चीनको निरन्तरको साथ र सहयोगप्रति नेपाल आभारी रहेको भन्दै चीन नै नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीकर्ता मुलुक रहेको कुरामा जोड दिए।

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी प्रमुख महाप्रसाद अधिकारी र नेपाली व्यवसायी चन्द्र ढकाल, सतिशकुमार मोर, राजेशकाजी श्रेष्ठलगायतले नेपालमा लगानीको राम्रो सम्भावना रहेको प्रष्ट्याउँदै आफ्ना भनाइ राखेका थिए। चिनियाँ व्यवसायीका तर्फबाट वाणिज्य मन्त्रालय, एसिया विभागका निर्देशक फङ काङ, चाइना रेल्वे अन्तर्राष्ट्रिय समूहका उपाध्यक्ष वाङ ली च्ये, ह्वाच्येन अन्तराष्ट्रिय समूहका अध्यक्ष चाङ रोङह्वा, आयोजक स्टक इन्टरप्राइजेजका अध्यक्ष वाङ फुछिङ, छिङ्वा विश्वविद्यालयस्थित बिआरआई थिंकट्याक निर्देशक शच सिन, चाइना रेलवे पहिलो सर्वेक्षण तथा डिजाइन इन्स्टिच्युट समूहका उप निर्देशक चु लिचङ लगायतले नेपालमा आफूले लगानीका वातावरणबारे आफ्ना अनुभव सुनाउँदै चिनियाँ सहकर्मीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त रहेको बताएका थिए।

बेइजिङमा राष्ट्रपति बसेकै होटल वेस्टिनको सभाकक्षमा राष्ट्रपतिले सम्बोधन गर्दा चिनियाँ व्यवसायी भरिभराउ थिए। बेइजिङ आइपुगेको चौथो दिन पनि उनी निकै व्यस्त थिइन्। शुक्रबार र शनिबार दिनभर उनी दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सहभागी भइन्। शिखर मञ्च शनिबार साँझ सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले आइतबार बिहान चिनियाँ व्यवसायीलाई सम्बोधन गरेकी हुन्। आइतबार दिउँसो उनी अरनिकोले निर्माण गरेको प्रशिद्ध सम्पदा श्वेत चैत्यको अवलोकनमा गएकी थिइन् भने आइतबार साँझ उनी बेइजिङ अन्तर्राष्ट्रिय वागवानी एक्स्पोको उद्घाटन समारोहमा सहभागी भइन्।

प्रकाशित: १६ वैशाख २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App