५ वैशाख २०८१ बुधबार
समाज

पासोमा परेर चितुवा मर्‍याे

टीकापुर– कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा शिकारीले थापेको पासोमा परेर आइतबार एक वयस्क चितुवा मरेको छ। स्थानीय थाहा सामुदायिक वन उपभोक्ता समूह र मोहन्याल सामुदायिक वन उपभोक्ता  समूहको सीमा क्षेत्रमा चितुवा पासोमा परेको अवस्थामा भेटिएको थियो। 

स्थानीयले चितुवा पासोमा परेको खबर दिएपछि बिहान साढे ११ बजे डिभिजन वन कार्यालय पहलवानपुरको टोली घटनास्थलमा पुगेको थियो। वन कार्यालयको टोली घटनास्थल पुग्दा पासोमा परेको चितुवा घाइते अवस्थामा भेटिएको डिभिजन वन कार्यालय पहलवानपुरका निमित्त प्रमुख गौचरण चौधरीले जानकारी दिए। 

पासोमा परेको घाइते चितुवालाई सकुशल उद्धार गर्न वन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाएको थियो। निकुञ्जको टोली घटनास्थल नपुग्दै घाइते चितुवाको साढे ३ बजेतिर मृत्यु भएको वन कार्यालयका निमित्त प्रमुख चौधरी बताए। 

‘हामी घटनास्थल पुग्दा छटपटाई रहेको थियो। हामीसँग उद्धार टोली थिएन’, उनले भने, ‘निकुञ्जको टोली नपुग्दै मृत्यु भयो।’ उनका अनुसार मृत्यु भएको चितुवा ६ दशमलव ८ इञ्च लामो, ३० इञ्च मोटो र २८ इञ्च अग्लो रहेको छ। मरेको चितुवालाई जनप्रतिनिधि, प्रहरी प्रशासन र सरोकारवालाहरुको रोहवरमा गाडिएको छ। 

शिकारीले बँदेल मार्नका लागि थापेको पासोमा चितुवा परेको आशंका गरिएको छ। पासोमा मोटरसाइकलको तीन वटा ब्रेक तार प्रयोग भएको पाइएको चौधरीले बताए। उनले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।

 

प्रकाशित: १५ वैशाख २०७६ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App