७ वैशाख २०८१ शुक्रबार
समाज

हावाहुरीले विद्यालयको छानो उडाउँदा पढाइमा असर

जाजरकोट- हावाहुरीले विद्यालय भवनको  छानो उडाउँदा यहाँको एक गाउँका  स्कुले बालबालिकाहरुको पढाइमा असर परेको छ।  दुइ दिनअघिको हावाहुरीले जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर ६ कार्कीजिउलास्थित सीता माध्यमिक विद्यालय भवनको छानो उडेपछि ५ सय बढी विद्यार्थीको पढाइमा असर परेको हो।

विद्यालय भवनको छानो पुर्ण रुपमा क्षतिग्रस्त हुने गरि उडेपछि पढाउने सुरक्षित स्थानसमेत  नभएको शिक्षकहरु बताउँछन्। तत्काल छानो मर्मत गर्ने रकम विद्यालयसँग नभएपछि विद्यार्थीहरुलाइ कहा राखेर कसरी पढाउने भनेर  समस्यामा परेको उनीहरुको भनाइ छ।

हुरीले विद्यालयको ६ कोठे भवनको छानो पुरै उडाइदिएको र  भवनभित्र रहेको पुस्तकालयका सबै किताबहरु समेत भिजेर  काम नलाग्ने अबस्थामा पुगेको निमित्त प्रधानाध्यापक तिलक महताराले बताए। उनले  विद्यालयको  छानो  नै उडेपछि विद्यार्थीहरुलाइ अब चौरमा राखेर पढाउने अनि हावाहुरी चल्दा र पानी पर्दा विद्यालय बन्द नै गर्नु पर्ने अवस्था आएको बताए।  अब पढाउनका लागि सुरक्षित ठाउँ छैन तत्काल  छानो मर्मत गर्नलाइ रकम पनि  छैन,  हुरी र पानी आए विद्यालय बन्द गर्नुको विकल्प पनि छैन उनले भने।  विद्यालयको  छानो उडेर सुरक्षित स्थानमा  बालबालिकाहरलार्इ पढाउने अवस्था नभएपछि स्थानीय अभिभावकहरुले पनि बालबालिकाहरुलार्इ स्कुलमा पठाउन अप्ठेरो मान्ने गरेको  शिक्षकहरु बताउँछन्।

आर्थिक अभावका कारण आधाभन्दा बढी विद्यार्थी भुइँको धुलोमा बसेर पढ्नुपर्ने बाध्यता रहेको बेला भवनको छानो पुरै  हुरीले उडाइदिएपछि झन समस्या परेको शिक्षक अभिभावकहरूको दुखेसो छ। बाल कक्षा र १ कक्षाका विद्यार्थीहरु कार्पेटमा बसेर पढ्ने र  २ कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरु भुइँमा बसेर पढ्ने गरेको विद्यालयले जनाएको छ। १ कक्षा देखि १० कक्षा सम्म पढाइ हुने उक्त विद्यालय जिल्लाको दुर्गम स्थानमा अवस्थित छ। हावाहुरीले छानो उडाउँदा हुरीसँगै आएको पानीले विद्यालयको पुस्तकालयमा रहेका ५ लाख बढीका किताबहरु पनि भिजेर  प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको  विद्यालयले जनाएको छ। हावा हुरी  चल्ने र पानी पर्ने मौसम  भएको तर विद्यालय भवनको छानो नै नभएका कारण डरले विद्यार्थीहरु स्कुल जान नमान्ने गरेको स्थानीय अभिभावक लालबहादुर नेपालीले बताए। उनले  अब पानी पर्ने  र हावाहुरी चल्ने बेला भएकोले छोराछोरीलार्इ स्कुल पठाउन आफुहरुलार्इ पनि  डर लाग्ने गरेको  बताए। वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले  हावाहुरीले  छानो उडाएर क्षतिग्रस्त भएको  सीता माध्यमिक विद्यालयको  क्षतिको विवरण संकलन गर्न र  आवश्यक जानकारी संकलन गर्न पहल भइरहेको बताए। विद्यालयको  पठनपाठनमा असर नपर्ने गरि  छानो मर्मतको लागि के कति बजेट आवश्यक हुन्छ भनेर जानकारी आएपछि थप पहल गरिने  उनले बताए।

प्रकाशित: १५ वैशाख २०७६ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App