coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्ग निर्माण धमाधम

उदयपुर- आउँदो असारभित्र ५० किलोमिटर खण्डमा कालोपत्रे गरिसक्ने गरी राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’ को काम दु्रतगतिमा भईरहेको छ।   साविक धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने बैकल्पिक लोकमार्ग (हाल मदन भण्डारी लोकमार्ग) को उदयपुर सदरमुकाम गाईघाट आसपासमा सातामा १ किलोमिटरका दरले कालोपत्रेको काम भईरहेको छ।   

                पहिले गाईघाटदेखि पश्चिमतर्फको खण्डमा कालोपत्रे गरेको सडकको पूर्वतर्फ चैत दोस्रो सातादेखि कालोपत्रे भईरहेको छ।   गाईघाट–बसाहा खण्डमा अहिलेसम्म ४ किलोमटिर सडक कालोपत्रे भईसकेको छ।     गाईघाटदेखि पश्चिमतर्फको चिसापानीसम्म खण्डमा १२ किलोमिटर कालोपत्रे भने यसअघि नै भईसकेको छ।     गाईघाट–चुहाडे–तारीबारी हुँदै चिसापानीसम्मको १५ किलोमिटरमध्ये २ वटा खोलामा निर्माणाधीन पुल आसपासबाहेक बाँकी खण्डमा कालोपत्रे सकिएको हो।     

                चुहाडेनजिकै शाही खोला र सरस्वति खोलामा निर्माणाधीन पक्की पुल आसपास बाँकी राखेर अन्य सबैतिर कालोपत्रेको काम गत महिना सकेर पूर्वी खण्डमा काम थालिएको मदन भण्डारी लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ।     कार्यालय प्रमुख (डिई) ललिजन खनालले आउँदो असारभित्र ५० किलोमिटर कालोपत्रे गरिसक्ने गरी दु्रतगतिमा काम भईरहेको बताए।     उनका अनुसार पूर्वमा बेलटार बसाहा र पश्चिममा कटारीसँग गाईघाटलाई जोड्न दुवैतर्फ एकैचोटी कालोपत्रेको काम थालिएको हो।     

                ‘गाईघाटभन्दा पश्चिमतर्फ पूर्वाधार तयार भएजति सडकमा कालोपत्रे गरिसकिएको छ, अहिले पूर्वतर्फ गर्दैछौं’ डिई खनालले भने ‘पश्चिमतर्फ चुहाडेका दुई खोलाका निर्माणाधीन पुलको एप्रोच भाग झण्डै १ किलोमिटरबाहेक अन्यमा पहिल्यै पिच सकिइसकेको छ।  ’ उनका अनुसार गाईघाटदेखि बेलटारसम्मको २९ किलोमिटरमध्ये अहिलेसम्म ४ किलोमिटर पिच भईसकेको छ।     वैशाखभित्र ७ किलोमिटर सक्नेगरी युद्धस्तरमा काम अडाडि बढिरहेको उनको भनाई छ।     

                सुनसरीको नदाहादेखि सप्तरीको कन्चनपुर खण्ड जोड्ने सडक गतवर्ष नै कालिका कन्स्ट्रक्सनले गरिसकेको छ।     सो सडक खण्डको चौदण्डीगढी नगरपालिका ३ बसाहासँग जोडेर गाईघाटसम्मको २९ किलोमिटर खण्डमा असारभित्र कालोपत्रे गरिसक्ने योजना अनुसार निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिइएको खनालले बताए।     उनका अनुसार गाईघाटदेखि कटारी र बसाहा खण्डमा चालु आर्थिकवर्षभित्र ५० किलोमिटर कालोपत्रे सक्ने लक्ष्य अनुसार काम भईरहेको छ। 

                पूर्वतर्फ गाईघाटदेखि असारी, बहेडवा, भातिखर्क, फुलजौर हुँदै इक्राहासम्म कालोपत्रे  पुगिसकेको छ।     सो खण्डमा पर्ने भातिखर्क खोलामा पुल बन्दै गरेकाले ७ सय मिटर एप्रोच बाँकी रहेको, असारीस्थित बरुवा पुल एप्रोच ५ सय मिटर र बहेडवा खोलामा पुल बन्न बाँकी आसपास ५ सय मिटरबाहेक इक्राहासम्मै पिचको काम सम्पन्न भईरहेको छ।     कम्पनीले गाईघाट–मुर्कुची खण्डको होक्सेमा कालोपत्रेको प्लाण्ट स्थापना गरेर सामग्री उत्पादन गर्दै दुवैतर्फ पठाउने व्यवस्था मिलाएको र अहिले दैनिक ३० मेट्रिक टनभन्दा बढी कालोपत्रेको सामग्री उतपादन हुने गरे पनि अपुग भईरहेको निर्माण कम्पनीले जनाएको छ।     

                गत कात्तिकदेखि निर्माण सुरु भएको ३ वर्षे अवधिको बसाहा–गाईघाट–कटारी–सिन्धुली खण्ड लोकमार्गको उदयपुर खण्डमा उत्साहजनक काम भईरहको निर्माण कम्पनी जेडआईइसी शर्मा/लामा जेवीले जनाएको छ।     जेवीका प्रतिनिधि सीताराम दाहालले आउँदो ०७६ कात्तिकसम्म अवधि रहेको योजनाको लागत ६ अर्बको सम्झौता भएको बताए।     दाहालले डेढवर्षको अवधिमा उत्साहजनक रुपमा काम भईरहेको दावी गर्दै कटारी–गाईघाटबीचको बकपति–लामीदुवाली खण्डमा स्थानीयबीच बिबाद भएकाले केही ढिला भए पनि अन्य खण्डको काम दु्रतगतिमा भईरहेको बताएका छन्।     स्थानीयले बिबाद गरेपछि सकडको एलाईनमेन्ट बद्लिनु पर्ने भएकाले सो खण्डमा ६ महिना काम ढिला हुन गएको तर, अन्यत्र बेरोकतोक काम भईरहेको दाहालले बताएका छन्।     

                लोकमार्ग कार्यालयका अनुसार चालु आव १ अर्ब ५० करोड विनियोजित बजेटमध्ये ६० प्रतिशत भुक्तानी गईसकेको छ।     नयाँ ट्र्याक, स्तरोन्नति, नाला, कल्भर्ट, ग्राबेल र कालोपत्रेसहितको काममा रकम अपुग हुने देखिएपछि थप रकमको माग गरिएको कार्यालयका लेखा अधिकृत शुभकर न्यौपानेले बताए।     उनका अनुसार पछिल्लो समय कालोपत्रेको काम लक्ष्य अनुसार हुने देखिएपछि अभाव रकमको जोहो गर्न थप १ अर्ब बजेट माग गर्दै अर्थ मन्त्रालयमा फाईल पुगेको छ।     

 

मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्डको निर्माणाधीन कालोपत्रे।    तस्विरः महेश्वर

प्रकाशित: १५ वैशाख २०७६ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App