coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय

वासिङ्टन – भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ।

बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो। संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला (पीडीभीएसए) वा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेहरुमाथि कार्यबाही गर्नेछ।

राष्ट्रपति मदुरोलाई विस्थापित गरी विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिमा स्थापित गर्ने अमेरिकी ट्रम्प प्रशासनले स्पष्ट गरिसकेको छ। विपक्षी नेता गुएइदोलाई अमेरिका, युरोपेली मुलुकहरु सहित अधिकांश दक्षिण अमेरिकी देशहरुको समर्थन छ। सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो। अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो तेलको ग्राहक मुलुक हो।

आइतबारदेखि प्रतिबन्ध लागू हुने भएपनि संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको तेल व्यापारमा केही महिनादेखि तिब्र रुपमा कमी आइसकेको अन्तर्राष्ट्रिय कानुनका विज्ञ मारिआनो डी अल्बाले बताए। तर पनि प्रतिबन्धको असर भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ। भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ।

ऊर्जा खपतमा अग्रणी मानिएको भारत सन् २०१७ मा तेस्रो ठूलो आयातकर्ता मुलुक हो। पहिलो र दोस्रो स्थानमा संयुक्तराज्य अमेरिका र चीन रहेका छन्। तर भारतीय कम्पनीहरुले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन्। मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन्।

इरानबाट तेल खरिद गर्न रोकिएसँगै विश्व बजारमा तेलको मूल्यवृद्धि हुन थालिसकेको छ। भेनेजुएलाको लडखडाएको अर्थतन्त्रमा तेल नै जीवनरक्षक हो। भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गर्दछ। रासस

प्रकाशित: १५ वैशाख २०७६ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App