coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

‘दिल नहीँ है जिगर मे तो दौलत बेकार है’

नागरिक नायकसँग संवाद

नेपाल रिपब्लिक मिडियाको १०औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ११ गते घोषित तीन नागरिक नायकमध्ये एक हुन्, जनकपुरका सामाजिक अभियन्ता पवन सिंघानिया। संस्कृतिविद् सत्यमोहन जोशी र काभ्रेका शिक्षक पूर्णबहादुर गौतमसँगै उनलाई १ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको होे।

जनकपुरको गंगासागर डिलमा रहेको ‘मसानघाट’ (दाहसंस्कार गर्ने स्थल) लाई ‘स्वर्गद्वार’ का रूपमा परिणत गरेबापत सिंघानियालाई ‘नागरिक नायक’ विभूषणले सम्मान गरिएको हो। पहिले झाडी र फोहोरले भरिएको मसानघाट स्थान अहिले प्रेमी–प्रेमिकाको समेत जमघट हुने सुन्दर स्थल बनेको छ। यो कसरी सम्भव भयो, त्यसमा पनि सरकारी सहयोगबिना ? यही विषयमा केन्द्रित रहेर शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुंगानाले सिंघानियासँग गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

वैराग्य चेत पलाउने ठाउँमा पुगेर यस्तो सिर्जनशी काम कसरी सम्भव भयो ?
मेरो यो चेतना त्यही ठाउँ अर्थात् मसानघाट गएरै आएको हो। मृत्यु अनिवार्य विषय हो। सबैले यो वरण गर्नैपर्छ। जनकपुरमा सबै कुरा ठीक थियो, केही खराब थियो भने त्यो मसानघाट थियो, जहाँ एकदिन सबैलाई जानैपर्छ।  

एक दिन समुदायमा एक जनाको देहान्त भयो, बुवाको स्वास्थ्य ठीक थिएन त्यसैले उहाँले मलाई जाऊ भन्नुभयो। त्यहीँ हुर्केको, खेलेको भएकाले त्यो मैले देखिरहेकै ठाउँ थियो। निकै फोहोर भएकाले मै कहिल्यै त्यो ठाउँ गएको थिइनँ। तर बुवाको आदेशअनुसार जानुप¥यो। त्यहाँ जाँदा फोहोरका कारण लास राख्ने ठाउँसमेत थिएन। त्यो स्थान दिसा, पिसाब गर्ने ठाउँका रूपमा परिणत भएको थियो। त्यहाँ गएर ३ घण्टा त के ३ मिनेट बिताउनु पनि निकै कठिन हुन्थ्यो। त्यस्तो अवस्था देखेर मेरो हृदय रोयो, र म पनि एक दिन त यहीँ आउनुपर्छ भन्ने महसुस भयो। भोलि म मात्र होइन, बुवा पनि बित्नुहुन्छ र यही फोहोरमा ल्याउनुपर्छ भन्ने लाग्यो, हिन्दुहरूको अन्तिम संस्कार यस्तो फोहोरमा भइरहेको छ भन्ने महसुस भएपछि मैले आवाज उठाएँ।

सयौँ मानिसबीच आवाज उठाउँदा त्यहाँ उपस्थित भएकाहरूले मसानघाटमा आउँदा सबैले वैराग्यका कुरा गर्छन्, यहाँबाट निस्किएर गंगा सागरमा नुहाएर गएपछि फेरि बिर्सीहाल्छन् मसानघाटलाई भनेर भनेँ।  मैले भनेँ, ‘म सानो मान्छे छु, एक्लै बनाउन धेरै पैसावाला पनि हैन, तर आज मलाई के लागिरहेको छ भने यो ठाउँ बनाउनु सबैभन्दा पहिलो आवश्यकता हो। यदी यहाँबाट निस्किएपछि नुहाएर गएपछि पनि तपार्इँहरूले सहयोग गर्नुहुन्छ भने म यो काम गर्छु।’ त्यसपछि उनीहरूले पनि वचन दिए र मैले काम अघि बढाउने निर्णय गरेँ।

–मैले प्रेमिल पार्क बनाएको होइन, मैले त मसानघाट नै बनाएको हुँ तर त्यो यति रमाइलो ठाउँ भइदियो कि प्रेमी–प्रेमिका मात्र होइन, बिहे गर्नका लागि पनि मानिसहरू यहाँ आउँछन्।

जीवनको अन्त्य गर्ने ठाउँमा केही सफा मात्र गरेर पनि छाड्न सकिन्थ्यो तपाईँले त यसलाई प्रेमिल पार्क नै बनाइदिनु भएछ त ?
मैले प्रेमिल पार्क बनाएको होइन, मैले त मसानघाट नै बनाएको हुँ तर त्यो यति रमाइलो ठाउँ भइदियो कि प्रेमी–प्रेमिका मात्र होइन, बिहे गर्नका लागि पनि मानिसहरू यहाँ आउँछन्। कतिपय बिहेसमेत यहीँबाट तय भइसके। केटाकेटीहरू आएर बस्छन् भने उनीहरूलाई भगाउनु पनि त भएन नि ! यसलाई तपाईँहरूले जे नाम पनि दिन सक्नुहुन्छ।

जीवनको अत्य गर्ने स्थानलाई तपाइँले प्रारम्भ गर्ने ठाउँ बनाइदिनु भयो ?
त्यो त झन् राम्रो कुरा भयो नि ! पहिले मसानघाट भएर हिँड्नुपर्दा पनि मानिस डर मान्थे, तर अहिले मलामी पनि आनन्दले ३ घन्टा बिताएर फर्किन्छन्। यो तर राम्रै कुरा भयो नि, हैन ?

यो कसरी बनाउनु भयो, आफैँले पनि खर्च गर्नुभयो कि ?
२ करोड १० लाख रुपैयाँ खर्चमा यो यस्तो बनाउन सम्भव भएको हो। मैले आफैँले खर्च गरेको होइन, यो सबै समाजको पैसा हो, समाजको पैसा उठाएर मैले त्यहाँ लगाएको हो।

–२ करोड १० लाख रुपैयाँ खर्चमा यो यस्तो बनाउन सम्भव भएको हो। मैले आफैँले खर्च गरेको होइन, यो सबै समाजको पैसा हो, समाजको पैसा उठाएर मैले त्यहाँ लगाएको हो।

तपाईँ व्यापारिक घरानाको मान्छे, व्यापारीहरू अलि छुच्चा पनि हुन्छन् भन्ने सुनिन्छ तर तपाइँले आफ्नै क्षेत्रबाट चन्दा उठाएर यस्तो काम गर्नुभयो, यसको सुरुवात कसरी भयो ?
जब मैले यो काम गर्ने अठोट गरेँ, त्यसपछि म सीधै जानकी मन्दिर गएँ किनभने माँ जानकीको आशीर्वादबिना जनकपुरमा केही पनि सम्भव छैन। मैले माता जानकीलाई प्रणाम गरेर महन्त राम तपेश्वर दासको नजिकै गएँ, त्यहाँ पुगेर मैले उहाँसँग रामानन्द द्वार बनाउँदा तपाईँले १ करोड खर्च गर्नुभयो, मलाई त्यसको १ प्रतिशत अर्थात् १ लाख चाहियो भनेर माग गरेँ। उहाँले के गर्न चाहियो भनेर सोध्नुभयो।  मैले आफ्नो योजना सुनाएँ। उहाँले मलाई १ लाख १ रुपैयाँ दिनुभयो, त्यहीँबाट यो योजना सुरु भयो।

परिवारसँग त पक्कै चन्दा माग्नु भएन होला ?
म कसैलाई पनि छाड्दिनँ, जसरी मृत्युले कसैलाई छाड्दैन। त्यसैले कतिपयले मलाई जिउँदो भूत पनि भन्छन्। मैले मेरै बुवासँग पनि १ लाख रुपैयाँ लिएको छु, यो काम गर्नका लागि। जसको जति क्षमता छ उति नै दिन्छ। तर मैले कसैलाई पनि छाडिनँ।

सामाजिक कार्य गर्दागर्दै तपाई सिर्जनशील पनि हुनुभयो, कवि बन्नु भयो भन्ने सुनिन्छ नि ?
म कम पढेलेखेको मान्छे, कवि होइन तर स्वर्गद्वार बनाउँदा यति धेरै मजबुरी आउँछन् भन्ने मलाई थाहा थिएन, काम गर्ने बेला समस्याहरू थपिँदै गए, मारवाडी मान्छे लडाइँ गर्न सक्दैन, सबैको जवाफ मैले कविता लेखेर दिएँ। त्यस क्रममा मैले सातवटा कविता लेखेँ।

तपाईँले जीवनमा कसैलाई कहिल्यै चन्दा नदिएका छुच्चा व्यापारीसँग पनि चन्दा उठाउनुभयो रे स्वर्गद्वार बनाउने क्रममा, हो ?
यो निकै रोचक छ। जब मैले चन्दा उठाउन थालेँ तब चार÷पाँच दिनपछि एक जना मारवाडी भाइसँग बसेर चन्दाको कुरा गर्दै थिएँ, उहाँले चन्दा पनि दिनुभयो। जनकपुरमा एक जना मारवाडी व्यापारी हुनुहुन्थ्यो हरगोविन्द मुरारका, उहाँलाई हामीले जानेका थियौँ, उहाँले आफ्नो जीवनमा कसैलाई ५ रुपैयाँ पनि चन्दा दिनुभएको थिएन। चन्दा दिने भाइले हरगोविन्दसँग पनि चन्दा उठाउनुभयो भने असली मर्द मान्नेछु भन्ने चुनौती दिनुभयो मलाई। किनभने सबैलाई थाहा थियो– उनले कसैलाई चन्दा दिँदैनन्। मैले आफूलाई बलियो बनाउन जनकपुरको हनुमान चोकमा रहेको हनुमानको मन्दिरमा पुगेर हरगोविन्दले चन्दा दिएन भने म मसानघाटको शिलान्यास गर्दिनँ भनेर कसम खाएँ। यो १७ वर्ष पहिलेको कुरा हो। कसम खाएर म हरगोविन्दको घरमा पुगेँ। मैले आफ्नो योजना बताउँदै ५÷१० मिनेट उनलाई जीवन र मृत्युबारे सम्झाएँ। उनले सबै कुरा प्रेमपूर्वक सुने र अन्त्यमा भने– ‘पवन तिमीले भनेका कुरा सबै ठीक छ तर चन्दा दिने कुरा हामीबाट हुँदैन।’

यो सुनेपछि मलाई नराम्रो लाग्यो, अरूले दिउन् नदिउन्, तिमीबाट म चन्दा लिएरै जान्छु, मैले हनुमानको कसम खाइसकेको छु भनेर सुनाएँ। तर पनि हनुमानको कसम खानु तिम्रो समस्या हो भन्ने जवाफ दिँदै उनले आफ्नो अडान व्यक्त गरे– ‘म मर्न सक्छु तर पैसा दिन सक्दिनँ।’ त्यो कुराले म डराएँ, किनभने मैले हनुमानको कसम खाइसकेको थिएँ। जति सम्झाए पनि नमानेपछि मैले त्यतिबेला अरू पनि उपाय छन् म तिमीलाई छाड्दिनँ भनेर त्यहाँबाट हिँडेँ। घरमा पुगेर खाना खाएर सुतेँ तर निद्रा लागेन। कि हनुमान देख्थेँ कि हरगोविन्द !  राति १२ बजेसम्म पनि निद्रा नलागेपछि हरगोविन्दका लागि कविता लेख्न थालेँ। कविताको शीर्षक पनि नलेख्दै श्रीमती ब्युँभिइन्। उनले मैले केही लेखिरहेको देखिन्। मलाई देखेपछि श्रीमती पनि आत्तिइन्।  किनभने मसानघाटन बनाउन थालेपछि मेरा हरेक गतिविधि परिवर्तन भइरहेका थिए। उनले के गरेको यति राति भनेर सोधिन्।  मैले धेरै गम्भीर विषय छ, तिमीले कुराकानी गर्छाँै भने म लेख्न सक्दिनँ भनेर श्रीमतीलाई सुत्न आग्रह गरेँ र लेख्न सुरु गरेँ। त्यसको शीर्षक ‘दिल नही तो दौलत बेकार’ भन्ने थियो।

कविता यस्तो थियोः
दिल नही है जिगर मे तो दौलत बेकार है
कुछ व्यक्तिओँको सिर्फ दौलत से ही प्यार है
समाज मे रहनेवालोको समाज से मिलकर रहना होगा
मानी नहीँ है बात समाजकी जिसने उसले वैसा हि फल भोगा।।
इस काममे मुझे छोड्दो, कहने से छुट नपाएगा
कित ने हि प्राण बचाओ हरगोविन्द
एक दिन तो दम घुट जाएगा।।
महल कितना भि हो सुन्दर वो काम नहीँ आएगा
राजा हो या रंक समसान हि लेया जाएगा
ए मनुष्य तु कितना अपने रङ दिखाएगा
उस मालिकका जब आएका बुलवा
तु कुछ भि नकर पाएगा
जब आएगी मौतकी घडी तु बहुत पछुताएगा
याद आएगी जब मेरी मगर मुझको खोज नपाएगा।।
सावधान होजाओ जीवित मे हि मे फिर आजाउंगा   
पैसे लेने कि पन्ध्र विधियाँ हे विस्तृतमे बताउंगा
चन्दा तो तुमको देना होगा, तभि समसान बनाउंगा
एक बार तो क्या हर गोविन्द कही बार तुमसे मिल्ने आउंगा।।
यो कविता हरगोविन्दलाई फोटोकपि गरेर पठाइदिएँ। एक हप्तापछि ११ हजार रुपैयाँ लिएर आए। तर त्यो चन्दा उनले सहजै भने दिएका थिएनन्। त्यसका लागि निकै लामो कहानी छ। आजसम्म संसारमा यस्तो भएको पनि छैन होला। मैले हनुमानको कसम खाएकाले मजबुर थिएँ। उसले पैसा दिनुभन्दा रातको समयमा मर्छु समेत भनेको थियो। तर अन्ततः उसबाट पैसा लिन सफल भएँ।

प्रकाशित: १५ वैशाख २०७६ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App