८ वैशाख २०८१ शनिबार
राजनीति

ओली सरकार विफल भयो : पौडेल

रौतहट - नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसद्वारा रौतहटको राजपुर फरहदवामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको थियो। तर नेकपा सरकारले त्यसको विपरित भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिई मुलुकलाई भ्रष्टाचार एवं काण्डैकाण्डको देश बनायो।’

नेपाली जनता सुखी त परै जाओस् नेकपाको केही नेता एवं कार्यकर्ताहरु मात्रै सुखी भएको आरोप लगाउदै वरिष्ठ नेता पौडेलले मुलुक पहिलाभन्दा धेरै बदनाम भएको दुःख प्रकट गर्दै सरकारले नेपालमा पानीजहाज चलाउने जस्ता उखान टुक्का गरेर अहिलेको सरकारले जनता मूर्ख बनाउने काम गरिरहेको आरोप लगाए।

काण्डैकाण्डले भरिएको ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल भएको आरोप लगाउँदै पौडेलले बालुवाटार, खुलामञ्च, सुन, निर्मला, वाइडबडीलगायत काण्डैकाण्डको आरोप लागेका ओली सरकार हरेक क्षेत्रमा विफल भई नेपाली जनताको नजरबाट दिन दिनै खस्किँदै गएको आरोप लगाएका छन्। नेकपा सरकारको रबैया देखेर नेपाली जनता सचेत हुन जरुरी रहेको वरिष्ठ नेता पौडेलले आग्रहसमेत गरे। कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस र मधेसी जनताको सम्बन्ध अति नै प्रगाढ रहेको दाबी गरे। जबजब कांग्रेसमाथि शंकट पर्छ मधेसका जनता कांग्रेसका पक्षमा उभिएर साथ दिने उल्लेख गर्दै उनले एक रथका दुई पाँग्रासरह कांगेस र मधेसको सम्बन्ध रहेको चर्चा गरे। मुलुकका तीनवटा स्थानमध्ये कुनै पनि एक स्थानमा मधेसीको प्रतिनिधित्व पाउनुपर्ने जरुरी रहेको उनले बताए। राष्ट्रपति, प्रधानमन्त्री वा सभामुखमध्ये एक स्थानमा मधेसीको स्थान सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। कांग्रेसभित्र रहेको आन्तरिक द्वन्द्व अन्त्य गरेर अघि बढ्नुपर्ने कार्यकर्तालाई सुझाव दिँदै उनले कांग्रेसभित्रको गुटउपगुट समाप्त भएमा कांग्रेसलाई कसैले पनि चुनौती दिन नसक्ने बताए।

कांग्रेसका सांसद मोहम्मद आफताव आलमले नेकपा सरकारको कारण मुलुकमा अहिले अराजकता फैलिएको आरोप लगाए। सरकार गठन भएदेखि हत्या, बलात्कार, भ्रष्टाचार बढिरहेको वर्तमान सरकारको नेतृत्वले अलिकति पनि नैतिकता भएमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १५ वैशाख २०७६ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App