८ वैशाख २०८१ शनिबार
खेल

मुम्बईको प्लेअफ सम्भावना बलियो

चेन्नई – कप्तान रोहित शर्माले जारी सिजन इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो अर्धशतक पूरा गरेको दिन मुम्बई इन्डियन्सले शुक्रबर चेन्नई सुपर किङ्समाथि ४६ रनको सहज जित हात पार्दै प्लेअफ सम्भावना बलियो पारेको छ।

चेन्नईलाई पराजित गरेसँगै ११ खेलमा १४ अंकका साथ मुम्बई दोस्रो स्थानमा उक्लिएको हो। जुन एक खेल बढी खेल्दै शीर्ष स्थानमा बसेको चेन्नईभन्दा २ अंक कम हो। दिल्ली क्यापिटल्स १४ अंक जोड्दै तेस्रो स्थानमा छ। ११ खेलमा समान १० अंकका साथ सनराइजर्स हैदराबाद र किङ्स इलेभन पन्जाब क्रमशः चौथो र पाँचांै स्थानमा छन्। त्यस्तै समान खेलमा समान ८ अंक जोडेका कोलकोता नाइटराइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमश छैटौं, साताैं र आठाैं स्थानमा छन्।

ज्वरोका कारण नियमित कप्तान महेन्द्रसिंह धोनी र अलराउन्डर रवीन्द्र जडेजा अनुपस्थित रहेको खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन मात्र जोड्न सक्यो। चेन्नईले २०१५ पछि घरेलु मैदानमा गुमाएको यो पहिलो खेल हो।

चेन्नईका ओपनर मुरली विजयले सर्वाधिक ३८ तथा मिचे सान्टनरले २२ र ड्वाने ब्राभोले २० रन जोडे। अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक छुन सकेनन्। मुरलीले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दा  १७ बलको सामना गरेका ब्राभोले २ चौका प्रहार गरे। सान्टनरले २० बल खेल्दै २ छक्का प्रहार गरे। चेन्नईलाई सस्तोमा सीमित पार्ने क्रममा मुम्बईका लासिथ मालिङ्गाले ४ तथा कुनाल पाण्डेय र जसप्रीत बुमराहले मसान २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल खडा गरेको थियो। २४ रन जोड्दा ओपनर क्विन्टन डी ककलाई गुमाएको मुम्बईको इनिङ रोहितले इर्बिन लुइससँग ७५ रनको साझेदारी गर्दै उकासेका थिए। रोहितले ४८ बलमा ६ चौका  र ३ छक्का प्रहार गर्दा लुइसले ३ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। कुनाल र काइरन पोलार्डले पाँचाैं विकेटका लागि अविजित ३३ रनको साझेदारी गरेसँगै मुम्बईले चुनौतीपूर्ण लक्ष्य तयार पारेको थियो। चेन्नईका सान्टनरले २ विकेट लिए। चेन्नईलाई पराजित गरेसँगै ११ खेलमा १४ अंकका साथ मुम्बई दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App