बर्दिया - आँखा टाढा छन्। कान पनि उस्तै सुनिहाल्ने। युवा अवस्थाको जस्तै चम्किलो अनुहार छ। हातखुट्टा पनि मजाले चल्छन्। कुराकानी गर्दा अरूले बोलेको कुरा आनन्दसँग सुनेर सहज रूपमा जवाफ फर्काउन सक्ने शक्ति छ। कुरा सुन्ने र फर्काउने हुनाले दिउँसोको समय कुरा गर्नकै लागि उनको घरमा छिमेकी आउँछन्। जीवनको उत्तराद्र्धमा पनि उनी घरव्यवहारमा व्यस्त हुन्छिन्।
यस्ता किसिमका गुण युवा अवस्थामा हुन्छन् भन्ने सबैलाई लाग्छ। तर सतायु कटिसकेको वृद्ध अवस्थामा सहज जिन्दगीको कल्पना गर्न पनि गाह्रो हुन्छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–९ मैनपुर गाउँकी मन्टरनी थरुनी १०३ वर्षकी भइन्। अझै पनि घरव्यवहार भनेपछि हुरुक्क हुन्छिन् रे उनी। अहिले स्थायी घर बर्दिया भए पनि उनमा दाङबाट तराई झर्दाताकाको उत्साह मरेको छैन। हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी कटिसकेको जस्तो लाग्दैन। उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग कुराकानी गर्दा वृद्धपनको आभासै हुँदैन। गाउँघरमा बिहेबारीको निम्तो पाए पनि उनी ठमठम्ती हिँडेरै पुग्छिन्।
नागरिकतामा उल्लेख भएअनुसार १९७३ साल माघमा उनको जन्म भएको हो। यो उमेरमा पनि उनको उत्साह तन्नेरी छ। बिहानको भान्साको काम आफैं गर्छिन् उनी। केटाकेटी विद्यालय गए कि गएनन् भन्ने हेक्कासमेत राख्न भ्याउँछिन् उनी। बिहान उठ्ने बानी उनको पुरानो हो। यतिखेर बिहान र साँझको छाक टार्न तिहुनतरकारी काट्ने काम उनको दैनिकीभित्र पर्छ। पनातिसम्म देख्न पाउँदाको खुसीको क्षण उनको अनुहारमा झल्किन्थ्यो। ‘अहिलेसम्म नातिकी छोरी पनि हेरिसकेँ,’ उनी भन्छिन्, ‘अब बाँचें भने खनाति पनि हेर्न पाउँछु।’ पाँच छोरा र तीन छोरीबाट जन्मेका नातिदेखि पनातिसम्म अहिलेसम्म ४६ जना सन्तान भएको उनले जानकारी दिइन्।
२०४९ सालमा पति र जेठो छोरा गुमाउँदा उनलाई पीडा भयो। केही वर्ष उनलाई चिन्ताले सतायो। त्यतिखेर उनको प्रेसर बढ्यो। तर, पीडा भुलेकी उनलाई यतिखेरसम्म बाँच्दा ऊर्जा थपिएको छ। चार भाइ छोरामध्ये कान्छो छोरा वडासदस्यमा निर्वाचित भएका छन्। ‘मेरो आयु लामो भएकाले सबै राम्रो देखिराछु,’ उनले थपिन्, ‘आफैंले भोट दिएर कान्छो छोरालाई जनप्रतिनिधि बनाउँदा धेरै खुसी लाग्यो।’ उनी आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरामा निकै सजग छिन्। ‘जे गरिन्छ बाँचुन्जेल गर्ने त हो, मरेसी त्यै माटोमा मिल्ने हो,’ उनले भनिन्, ‘जिन्दगीमा केही गर्न सक्छु भन्नेर बाँच्नुपर्छ।’ पारिवारिक वातावरण र शारीरिक व्यायामका कारण उनी उमेर भए पनि बुढ्यौलीको अनुभूति गर्दिनन्। उनी खानेकुरा समयमै खान्छिन्। जस्तोसुकै काम छुटाएर भए पनि खाना खाने समय तलमाथि नपार्ने उनको आदत छ। दैनिक काममा व्यस्त हुने गरेको छिमेकी कलावती कँडेलले बताइन्। ‘म वरपर हिँड्दा जहिल्यै भेट गर्छुु,’ उनले भनिन्, ‘हालचाल सोध्ने र केही न केही खान जहिल्यै जोड गर्नुहुन्छ।’ वृद्ध अवस्थामा आमामा ऊर्जा देखेर सबै दंग पर्ने गरेको उनले सुनाइन्।
प्रकाशित: १५ वैशाख २०७६ ०२:०८ आइतबार