coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मध्य र पश्चिम तराईमा ‘लु’

वैशाख - एक सातादेखि मध्य तथा पश्चिम तराईका जिल्लामा गर्मी बढेसँगै ‘लु’ (तातो हावा) चल्न थालेको छ। मध्य तराईका जनकपुर, बारा, पर्सा, पश्चिम तराईका बाँके, रूपन्देही, कैलालीलगायत जिल्ला गर्मीसँगै तातो हावा चल्न सुरु गरेको हो। गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयले बताएका छन्।

नेपालगन्जको तापक्रम साताको पहिलो दिनदेखि नै बढेको छ। साताको पहिलो र दोस्रो दिन ८ र ९ गते ३७ दशमलव ६ डिग्री रहेको अधिकतम तापक्रम बढेर चौथो दिन ३९ दशमलव ५ डिग्री सेल्सियस हुँदै छैटौं दिन ४१ डिग्री सेल्यियससम्म पुगेको छ। यो क्रम बढ्दै साताको अन्तिम दिन शनिबार तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी फिल्ड कार्यालय नेपालगन्ज राँझाका फिल्ड इन्चार्ज अखिलेशप्रसाद चौरसियाले जानकारी दिए।

गर्मीको सबैभन्दा बढी मारमा विद्यालय जाने बालबालिका परेका छन् । नयाँ शैक्षिक सत्रको सुरुवातमै गर्मी बढेपछि विद्यार्थीलाई गर्मीको मार खेप्नुपरेको छ ।

नेपालगन्ज भौगोलिक हिसाबले समुन्द्री सतहदेखि १ सय ५८ मिटर उचाइमा रहेको छ। यहाँको तापक्रम विगत चार÷पाँच वर्षको अन्तरालमा फेरबदल हुँदै आएको छ। सन् २०१३ मा नेपालगन्जको अधिकत तापक्रम ४१ डिग्री सेल्सियस र २०१४ मा ४१ दशमलव ८ डिग्री सेल्सियस कायम रहेको फिल्ड इन्चार्ज चौरसियाले जानकारी दिए। उनका अनुसार २०१५ मा भने यहाँको तापक्रम घटेर ३८ दशमलव ६ डिग्री सेल्सियस कायम रहेको थियो। त्यस्तै २०१६ मा बढेर ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। २०१७ मा ४१ दशमलव १ र २०१८ मा ३८ दशमलव ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हावापानी फिल्ड कार्यालय नेपालगन्ज राँझाको फिल्ड कार्यालयले जनाएको छ।

हावापानी कार्यालय अत्तरिया, कैलालीका सानु मैया बेन्जनकारले एक सातायता धनगढी, अत्तरियालगायत ठाउँमा गर्मी बढेको बताइन्। यस वर्ष शुक्रबार (वैशाख १३ गते) सबैभन्दा बढी तापक्रम मापन भएको छ। शुक्रबार ४१ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको उनले जनाइन्। सोे दिन न्यूनतम २३ दशमलव २ डिग्री र अधिकतम ४१ दशमलव ५ रहेको थियो। उनका अनुसार शनिबार न्यूनतम २० दशमलव ५ र अधिकतम ३९ डिग्री सेल्सियस मापन भएको थियो। यस वर्ष विगतको तुलनामा छिटो गर्मी बढेको स्थानीयले बताएका छन्। गर्मी बढेसँगै खेतबारीलगायत घरायसी कामकाज गर्न समस्या भएको स्थानीय किशोर जोशीले जानकारी दिए।
रूपन्देहीमा गर्मीकै कारण दिउँसोको समयमा सहरका चोकचौराहमा चहलपहल घटेको छ। गत मंगलबार यस क्षेत्रमा पानी परेको थियो। त्यसलगत्तै बुटवल, भैरहवामा गर्मी बढेको हो। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय भैरहवाका अनुसार पछिल्लो पाँच दिनमा बुटवल, भैरहवाको तामक्रम करिब ५ डिग्री सेल्सियसले बढेको छ। अर्थात् वैशाख १० गते अधिकतम तापक्रम ३३ दशमलव ७ डिग्री सेल्सियस रहेको यहाँको तापक्रम शुक्रबारसम्म बढेर ३८ डिग्री सेल्सियस पुगेको गौतम बुद्ध विमानस्थलस्थित मौसम फिल्ड कार्यालयका प्रमुख राजेश झाले बताए। मौसम शाखाका अनुसार मंगलबार भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव ७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन भएको थियो भने २६ दशमलव ७ मिलिलिटर वर्षा भएको थियो। वैशाख ११ गते तापक्रम बढेर ३५ दशमलव ७ डिग्री र न्यूनतम २४ दशमलव २ डिग्री सेल्सियस पुगेको मौसम शाखाले जनाएको छ।

समयसमयमा पानी परे पनि गर्मी बढ्दै गएकाले जनकपुरको जनजीवन अस्तव्यस्त बन्दै गएको छ। गर्मी बढेर तातो हावा चल्न थालेपछि घरबाहिर निस्कनसमेत गाह्रो भएको छ। गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजमा समेत प्रभाव पार्न थालेको छ। गर्मीको सबैभन्दा बढी मारमा विद्यालय जाने बालबालिका परेका छन्। नयाँ शैक्षिक सत्रको सुरुवातमै गर्मी बढेपछि विद्यार्थीलाई गर्मीको मार खेप्नुपरेको छ। चर्को गर्मीमा जनकपुरमा अनियमित हुने गरेको लोडसेडिङका कारण सर्वसाधारण अझैै पीडित भएका छन्।
धनुषाका ग्रामीण क्षेत्रमा गर्मी बढेपछि खानेपानीको समेत अभाव भएको छ। गर्मीले गर्दा हाते कलहरू सुक्न थालेका छन्। धनुषाको उत्तरी क्षेत्रमा ह्यान्डपम्प र इनारहरूमा पानी कम हुन थालेको छ। पानीका कुण्ड तथा मूलसमेत सुक्न थालेका छन्। एक साताअघि एकपटक पानी परे पनि यस क्षेत्रमा त्यसले कुनै राहत दिएको छैन।

गर्मीले किसान पनि प्रताडित भएका छन्। गहुँ भिœयाएर धानको बिउ छर्ने तयारी गरिरहेका किसानलाई समेत गर्मीले प्रभावित पारेको छ। खडेरीले यस क्षेत्रको जन स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दै गइरहेको छ। तातो हावा र अत्यधिक गर्मीका कारण बिरामीको संख्यामा पनि वृद्धि भएको देखिन्छ। गर्मीका कारण विषालु सर्प ग्रामीण क्षेत्रमा देखा पर्न थालेको हो।
गर्मीले बिरामी बढ्दै
यहाँ गर्मी बढेसँगै बिरामीको संख्या पनि बढेको छ। भाइरल ज्वरो, टाइफाइड, झाडापखाला, छालासम्बन्धीलगायत बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। सेती अञ्चल अस्पतालमा दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेका छन्। ‘आकस्मिक र ओपीडी गरेर सामान्य अवस्थामा सेती अञ्चल अस्पतालमा चार सय बिरामी आउने गर्छन्,’ उनले भने, ‘अहिले पाँच सयभन्दा बढी बिरामी आउन थालेका छन्।’ गर्मीमा छाता ओढेर हिँडडुल गर्न, प्रशस्त पानी खान, छायामा बस्न, लामखुट्टेको टोकाइबाट जोगिन, बासी खानेकुरा नखानलगायत सुझाव चिकित्सकले दिएका छन्।

गणेश बिक/ रेखा भुसाल/ दिलबहादुर छत्याल/ कमलेश ठाकुर
नेपालगन्ज/ बुटवल/धनगढी/जनकपुरधाम

प्रकाशित: १५ वैशाख २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App