८ वैशाख २०८१ शनिबार
अर्थ

सरकार गम्भीर भएन

तस्बिर: भीम/नागरिक

इलाम - महिना दिनयता काम छाडेर आन्दोलनमा उत्रिएका चिया श्रमिकले सरकारले आफ्ना मागप्रति चरम बेवास्ता गरेको गुनासो गरेका छन्। सरकारकै निर्णय कार्यान्वयनका लागि रोजीरोटी त्यागेर आन्दोलन गरे पनि सरकार गम्भीर नभएको श्रमिकको भनाइ छ।

चिया श्रमिक गत चैत १७ यता इलाम, झापा र धनकुटाका चिया उद्योगहरू बन्द गरेर आन्दोलनमा छन्। आन्दोलनका कारण इलामका ४ र झापाका ३ सरकारीसहित दर्जनौं निजी उद्योग–बगानसमेत ठप्प छन्। न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग राख्दै नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको अगुवाइमा आन्दोलन चर्किएको छ। आन्दोलनका कारण वर्षभरकै गुणस्तरीय र महँगोमा बिक्री हुने करोडौं रुपैयाँको हरियो पत्ती (फस्ट फ्लस) नष्ट भइसकेको छ।

श्रमिकले आन्दोलन जारी राखेपछि उद्योगीसमेत आफ्ना माग तेस्र्याउँदै सरकारसम्म पुगेका छन्। तर, श्रमिकको विषयमा आफैंले गरेको निर्णय कार्यान्वयनप्रति सरकार लाचार बनेको श्रमिक अगुवा बताउँछन्। ‘सरकार यति लाचार छ कि, आफैंले गरेको निर्णय कार्यान्वयन गराउन हामीले सहयोग गर्दा उल्टै उद्योगीको मागलाई चाहिँ प्राथमिकता दिइरहेको छ,’ श्रमिक नेता दीपक तामाङले भने, ‘श्रमिकको माग स्वतः कार्यान्वयन हुनुपर्ने हो तर सरकार चाहिँ श्रमिकलाई बेवास्ता गरेर उद्योगीप्रति नै नतमस्तक भइरहेको छ।’ उनले सरकारले अहिलेसम्म श्रमिकलाई उनीहरूको मागबारे एक शब्द सोध्नेसम्म चासो नदेखाएको उनले बताए।

दिनभरको ज्याला भेला गरेर साँझ–बिहानको छाक टार्ने श्रमिकले २७ दिनसम्म काम छाडेर आन्दोलन गर्दा पनि उद्योगी र सरकार नगलेको श्रमिक बताउँछन्। ‘एक दिन काम नगर्दा श्रमिकको पेटमा माड पर्न ऋण खोज्नुपर्छ भन्ने बाध्यता कसलाई थाहा छ र !’ अर्का श्रमिक नेता विष्णु भट्टराई भन्छन्, ‘श्रमिकलाई गलाएर भोकै बनाउन पाए आन्दोलन त्यागेर आफैं काममा फर्किन्छन् भन्ने बुझाइ उद्योगी र सरकारको छ।’ तर, उनले यो पटक महिनौं आन्दोलन गर्नुपरे पनि पछि नहट्ने बताए। ‘यो पटकको आन्दोलन निर्णायक हो। महिनौं लागे पनि कोही पछि हट्नेवाला छैन,’ उनले भने, ‘बरु, हामी भोका श्रमिक झन्–झन् आन्दोलन चर्काउँदै जानेछौं।’

तेस्रो चरणको संघर्षले पनि पार नलागेपछि श्रमिक संघ–संगठन चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन्। उनीहरूले नेपालमै बढी परिमाणमा चिया उत्पादन हुने झापालाई यो पटक आन्दोलनको केन्द्र बनाएर इलाम र धनकुटामा समेत आन्दोलन चर्काएका छन्। माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम अझ कडा बनाउने उनीहरूको भनाइ छ। ‘आइतबार श्रमिकले चिया उद्योगी–व्यवसायीको पुतला दहन गर्ने कार्यक्रम छ,’ अर्का श्रमिक नेता सहीकुमार राईले सुनाए, ‘श्रमिकको पक्षमा मानवसाङ्लो प्रदर्शन हुनेछ, अझ भएन भने आउँदो १८ गते आन्दोलनको अर्काे चरणका कार्यक्रम घोषणा हुनेछन्।’

गत साउनमै कार्यान्वयन हुनुपर्ने आफूहरूको न्यूनतम् ज्याला अहिलेसम्म कार्यान्वयन नभएपछि चिया श्रमिक आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले न्यूनतम् ज्यालाभन्दा श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनलाई जोडदार रूपमा उठाइरहेका छन्। ‘अहिलेको आन्दोलनमा हामीले राखेको माग सरकारी निर्णय कार्यान्वयनको मात्रै हो,’ राईले भने, ‘तर, यो माग पूरा गर्न न संघीय र प्रदेश सरकार गम्भीर भए, न स्थानीय सरकारले हामी श्रमिकका माग पूरा गराउन चासो दिए।’ आफूहरू तीनै तहका सरकारबाट हेपिएको गुनासो नेता राईले गरे। श्रमिकले स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र प्रदेश १ सरकारलाई समेत ध्यानाकर्षणपत्र बुझाएर ज्याला तथा ऐन कार्यान्वयन माग गरेका थिए।

सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ। चिया कारखानामा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला चार सय २७ रुपैयाँ छ। तर, दुवैखाले श्रमिक अहिले झापामा दैनिक दुई सय ७८ र इलाममा दुई सय ६५ रुपैयाँमा काम गर्न बाध्य छन्। सूर्याेदय नगरपालिकाका ५२ चिया उद्योग आबद्ध सूर्याेदय टी एसोसिएसनले भने श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो। तर, एसोसिएसनले वैशाखदेखि आउँदो असारसम्मको मात्रै न्यूनतम् ज्याला कार्यान्वयन गर्ने भएपछि श्रमिक त्यसमा असन्तुष्ट छन्। ‘गत साउन १ देखि नै लागू भएको ज्याला किन वैशाखदेखि मात्रै लागू गर्ने ?’ श्रमिक नेता रमेश खड्काले भने, ‘आंशिक रूपमा माग पूरा भएको देखाएर आन्दोलन तुहाउने खेलमात्रै हो यो।’

प्रकाशित: १५ वैशाख २०७६ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App