१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नौ लाख युवा रोजगारविहीन

काठमाडौं - बर्सेनि नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला स्वदेशमा बेरोजगार युवाको संख्या नौ लाख रहेको तथ्य फेला परेको छ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा नौ लाख आठ हजार युवा बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला रहेको विभागले जनाएको छ। श्रम बजारमा उपलब्ध युवाको संख्या भने ८० लाख छ। विभागले श्रम तथ्यांकको पछिल्लो परिभाषा अनुसार एक सातामा एक घण्टा पनि ज्याला पाउने कुनै काम तथा नाफा, नोक्सान बेहोर्ने गरी सञ्चालित कुनै पनि व्यवसायमा संलग्न नभएकालाई बेरोजगारको सूचीमा राखेको छ।

श्रमशक्ति सर्वेक्षण अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। मुलुकमा १५ वर्षभन्दा बढी उमेरका दुई करोड सात लाख ४४ हजार जनसंख्या छ। त्यसमध्ये ७९ लाख ९४ हजारको संख्यामा श्रमशक्ति बजारमा उपलब्ध छ। यीमध्ये झन्डै ४५ लाख वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ। बाँकी श्रमशक्तिबाट मुलुकमा रोजगारी पाएका ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन्।

सर्वेक्षण अनुसार रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहर र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन्

पछिल्लो सर्वेक्षण अनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ। यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेको छ। श्रमशक्तिभन्दा बाहिरको संख्या एक करोड २७ लाख ५० हजार छ। त्यसमध्ये ८५ लाख महिला र ४२ लाख ५० हजार पुरुष छन्। ७० लाख ८६ हजार रोजगारीमध्ये २५ लाख ४० हजार महिला र ४४ लाख ४६ हजार पुरुष छन्।

सरकारले केही समय पहिला संविधानको मौलिक हकले व्यवस्था गरे बमोजिम रोजगारीको ग्यारेन्टी गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। अब कम्तीमा नौ लाख युवालाई रोजगारी नभए बेरोजगार भत्ता दिनुपर्ने हुन्छ। श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिकको एक सय दिन बराबरको रकम बेरोजगार युवाले भत्ता पाउनेछन्। बेरोजगार युवालाई सरकारले पहिला काम खोज्ने र त्यस्तो सम्भव नभए बेरोजगार भत्ता उपलब्ध गराउने घोषणा गरिसकेको छ।

उक्त सर्वेक्षण अनुसार रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहर र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन्। प्रदेशबीच तुलना गर्दा सबभन्दा बढी ३ नम्बर प्रदेशमा रोजगारीको अवसर राम्रो देखिएको छ। जहाँका ४३.८ प्रतिशत युवा रोजगारीमा छन्। सबभन्दा कम सुदूरपश्चिमका २७.३ प्रतिशतले मात्र रोजगारी पाउन सकेका छन्।

नेपालमा औपचारिक भन्दा अनौपचारिक क्षेत्रमा रोजगारी बढी देखिएको छ। अनौपचारिक क्षेत्रमा १५.४ प्रतिशतले रोजगारी पाउँदा अनौपचारिक क्षेत्रको रोजगारीमा रहनेको संख्या ८४.६ प्रतिशत छ। सबभन्दा बढी रोजगारी सिर्जना भइरहेका प्रमुख पाँच क्षेत्रमा क्रमशः कृषि (२१.५ प्रतिशत), वन र माछापालन (१७.५), थोक तथा खुद्रा बिक्री (१५.१), मोटरगाडी मर्मतसम्भार (१३.८) र उद्योग, निर्माण र शिक्षा (७.९ प्रतिशत) छन्।

रोजगारीमा रहेका महिलाको मासिक आम्दानी पुरुषको तुलनामा ३० प्रतिशतले कमी रहेको सर्वेक्षणले देखाएको छ। विभागले उक्त सर्वेक्षण २०७४ असारदेखि २०७५ जेठसम्म गरेको थियो।

प्रकाशित: १५ वैशाख २०७६ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App