८ वैशाख २०८१ शनिबार
अर्थ

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक - चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ।’ चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाह आउँदो मे २० (जेठ ६ गते) भित्र हस्तान्तरण गर्ने जानकारी उसले पठाइसकेकाले नाका सञ्चालनको तयारी थालिएको ढकालले बताए।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यो व्यापारिक नाका बन्द छ। बन्दरगाह हस्तान्तरण भएपछि नाका सञ्चालनमा ल्याउने सहमित यसअघि नै नेपाल–चीनबीच भइसकेको प्रवक्ता ढकालले जानकारी दिए। विभिन्न उच्चस्तरीय भेटमा चिनियाँ अधिकारीले मे ३१ (जेठ १७) बाट नाका औपचारिक रुपमा सञ्चालनमा ल्याउन आफूहरुले तयारी थालेको बताउँदै आएका छन्।

‘छिट्टै नाकाबाट व्यापारिक कारोबार सुरु हुनेमा कुनै सन्देह छैन,’ उनले भने। बन्दरगाह हस्तान्तरणसँगै नाका सञ्चालनमा ल्याउने पूर्वसहमति रहेकाले थप सम्झौता गरिरहन नपर्ने प्रवक्ता ढकालले प्रस्ट्याए। खाद्य, पशु क्वारेन्टाइन र सुरक्षा निकायलाई नाकामा फर्कने तयारी गर्न मन्त्रालयले निर्देशन दिइसकेको बताउँदै उनले भने, ‘बन्दरगाहमा भन्सार प्रणाली जोडेर तयारी हालतमा बस्न पनि निर्देशन गइसकेको छ।’ उनका अनुसार मन्त्रालयकै अनुरोधमा सडक विभागले नाका जोड्ने अरनिको राजमार्ग मर्मत तथा सुधार गरिरहेको छ।

साढे ६ वर्षअघि तातोपानीको ६ किलोमिटर तल लार्चामा बन्दरगाह निर्माण थालिएको थियो। ६० प्रतिशत काम सकिएका बेला आएको भूकम्पले तीन वर्ष बन्दरगाहको काम रोकियो। निर्माणमा संलग्न चिनियाँ कम्पनी बेजिङ रियल स्टेट गु्रपले अघिल्लो वर्षको चैत ७ गतेबाट पुनः बन्दरगाहको काम अघि बढाउँदै आएको छ। बन्दरगाहको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। राजमार्ग र बन्दरगाह जोड्न भोटेकोसीमाथि जडान गरिएको मोटरेबल पुल सञ्चालनमा आइसकेको छ। बन्दरगाहमा अन्तिम रङरोगन, बिजुली, पानी जडान र ‘फाइनल फिनिसिङ’को काम द्रुत गतिमा भइरहेको छ।

चीन सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ (८.६२ करोड युआन) भोटेकोसी गाउँपालिकाको लार्चामा २०६९ पुसबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्दरगाह निर्माण थालिएको थियो। निर्माण थालेको दुई वर्ष ६ महिनामा सक्ने लक्ष्य नेपाल सरकारलाई दिइएको थियो। तर, भोटेकोसी बाढी, जुरे पहिरोले निर्धारित समयमा काम सम्पन्न हुन सकेन। लिपिङ बजारदेखि बन्दरगाह स्थलसम्मकोे राजमार्ग स्तरोन्नति, बन्दरगाह स्थलमा पुग्न भोटेकोसी नदीमा मोटरेबल पुल र बन्दरगाह निर्माणको काम एकै प्याकेजमा हुँदै आएको छ।

पुल र बन्दरगाह संरचना तयार भइसकेका छन् भने राजमार्ग मर्मतको काम मात्र बाँकी छ। चिनियाँ पक्षले २४सै घन्टा तीन ‘सिफ्ट’मा सडकको काम तीव्रताका साथ गरिरहेको छ। राजमार्गको जुरेदेखि माथिको काम डिभिजन सडक कार्यालय चरिकोटमार्फत भइरहेको छ। ‘व्यापारिक कारोबार कसरी सञ्चालनमा ल्याउने भन्नेबारे मन्त्रालयले तयारी गरिरहेको छ,’ मन्त्रालयका सहसचवि रहेका प्रवक्ता ढकालले भने।

उनका अनुसार अब चिनियाँ कन्टेनर सामान लिएर सिधै बन्दरगाह प्रवेश गर्नेछन्। यसअघि नेपाली कन्टेनर सामान लिन खासा पुग्थे। भूकम्पपछि खासा बजार खालि गराइएको छ। स्थानीयलाई त्यहाँबाट ४० किलोमिटर टाढा कुती, नेलाम लगेर स्थापित गराइएको छ। चिनियाँ क्षेत्रबाटै सिल लगाएर सामान बोकेका कन्टेनर नेपाली भूमि छिर्नेछन्। चिनियाँ कन्टेनर नेपाली कन्टेरभन्दा दोब्बर क्षमताका हुन्छन्।

सरकारी अधिकारीका अनुसार नेपाली व्यापारीको अर्डरपछि आयात हुने चिनियाँ सामान बन्दरगाह गोदाममा भण्डारण गरिनेछ। त्यहाँ भन्सार भएपछि नेपाली कन्टेनरमा सामग्री राजधानी भित्रिनेछन्। बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, बैंक तथा वित्तीय संस्थाका लागि भवन र कर्मचारी आवास रहन्छन्। साथै, त्यहाँ गोदाम घर, जाँचपास यार्ड, चेक पोस्ट पनि रहन्छन्। गोदाम घरमा एक सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिन्छ भने ६० देखि सय मेट्रिक टन सामग्री एकैपटक तौलिने यन्त्र बन्दरगाहमा रहने छ।

नाका सञ्चालनमा रहँदा तातोपानी भन्सारले दैनिक दुई करोडसम्म राजस्व संकलन गथ्र्यो। उसले राज्यलाई वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँथ्यो। खाद्यान्न र नुन साटासाटबाट नाका हुँदै सुरु परम्परागत व्यापार ५० को दशकदेखि आधुनिक बन्दै जाँदा भूकम्पअघिसम्म चीनबाट वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी मूल्यका सामग्री आयात हुन थालेको थियो। नाका सञ्चालनमा आउनुअघि गत चैत २६ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले यहाँको तयारीबारे अन्तिम अवलोकन भ्रमण गरेको थियो।

संविधानलाई कारण देखाउँदै भारतले २०७२ मा झण्डै ६ महिना दक्षिणी नाकामा अघोषित नाकाबन्दी लगाउँदा चीनबाट आपूर्ति गरेर जनजीवन सहज बनाउन सरकारले भूकम्पले तहसनहस राजमार्ग हतार–हतार खुलाएको थियो। तर सुरक्षा मामलालाई कारण देखाउँदै चीन तातोपानी नाका खाल्न तयार भएन। लगत्तै २०७३ मा भोटेकोसीमा निम्तिएको बाढीले तातोपानी क्षेत्र क्षतबिक्षत बनाएपछि नाका सञ्चालनमा आउनेमा द्विविधा बढाएको थियो। त्यसयता तातोपानी सञ्चालनमा ल्याउन नेपालतर्फको संरचना बाधक रहेको प्रतिक्रिया दिँदै आएको चीनकै बढी चासो र अग्रसरतामा नाका खुल्ने अवस्थामा पुगेको हो।

तातोपानी नाकाको लार्चामा निर्माण अन्तिम चरणमा पुगेको अत्याधुनिक सुक्खा बन्दरगाह र भोटेकोसी पुल (इन्सेटमा)। यो बन्दरगाह नेपाललाई हस्तान्तरण भएपछि जेठभित्र नाका सञ्चालनमा ल्याउने तयारी छ।

प्रकाशित: १५ वैशाख २०७६ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App