४ वैशाख २०८१ मंगलबार
राजनीति

३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो बीआरआई शिखर मञ्च सम्पन्न

बेइजिङ– चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शनिबार सम्पन्न भएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको सो शिखर मञ्चले विश्व अर्थतन्त्रमा उर्जा थप्ने अनुमान गरिएको छ। 

शुक्रबार सुरु भएको शिखर सम्मेलनमा आइतबार राउण्ड टेबल शिखर वार्ता भएको थियो। शुक्रबार उद्घाटनपछि आयोजित उच्चस्तरीय सम्मेलनलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन्। शनिबार आयोजित राउण्ड टेबुल शिखर वार्तालाई पनि राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन्। 

शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा ३८ बुँदाहरु रहेका छन्। विज्ञप्तिका अनुसार शिखर मंचमा सहभागी नेताहरुले बीआरआई प्रस्ताव तथा अन्य सहयोगात्मक रणनीति लगायत साझेदारी सम्बन्धमार्फत उपक्षेत्रीय, क्षेत्रीय र विश्वको तहमा अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्ने कुरामा प्रतिबद्धता जाहेर गरेका छन्। उनीहरुले साझा समृद्धि तथा सुमधुर भविष्यको सिर्जना गर्ने अठोट पनि व्यक्त गरेका छन्। यसबाहेक, नियमित रुपमा शिखर मञ्च र सम्बद्ध गतिबिधिको आयोजना गर्ने भन्दै फेरि दुई वर्षपछि यस्तै प्रकारको शिखर मंचको आयोजना हुने कुराको संकेत पनि गरेका छन्।

दुई वर्षअघि सन् २०१७ को मे महिनामा आयोजित पहिलो शिखर मञ्चको दाँजोमा यो शिखर मञ्चमा २८३ वटा सम्झौताहरु भएका छन्। ती सम्झौताको कूल रकम ६४ अर्बअमेरिकी डलरभन्दा बढी रहेको छ। बीआरआईमा रहेर सहयोगात्मक परियोजना संचालन गर्नका लागि विभिन्न देशसँग सम्झौता भएका हुन्। चीनले थालनी गरे पनि अब बीआरआई विश्वको साझा भइसकेको कुरा चीनले बताउँदै आएको छ। सम्झौताहरुले पनि यो कुरालाई पुष्टि गरेका छन्। दिन प्रतिदिन देश र जनता बीआरआईमा रहेर आपसी सम्पर्क राख्ने, पारस्परिक विचार विमर्श गर्ने र सँगसँगै विकास र समृद्धि गर्दै सहयोगात्मक साझेदार बन्दै जाने कुरालाई विज्ञप्तिमा उल्लेख गरिएको छ।

बीआरआईले विकासको परिस्थिति र ऐतिहासिक प्रवाहसँग अनुकूल गराउनुका साथै गतिरोधलाई क्रमशः अन्त्य गरेर विकासको सिर्जना गर्ने कुरा पनि विज्ञप्तिमा समेटिएको छ। खुलस्त विश्व अर्थतन्त्रबाट मात्रै विभिन्न मुलुकका जनताका लागि हित हुनसक्ने कुरालाई स्पष्टसँग विश्वसामु राखेको विज्ञप्तिमा उल्लेख छ। मानव जातिको भाग्य एकरुपता स्थापना गर्ने बाटोमा विभिन्न मुलुकका जनताले बीआरआईमार्फत हात मिलाएर सुमधुर मैत्री सम्बन्ध सिर्जना गर्दै विकासको बाटोमा लम्किने कुरालाई विज्ञप्तिले आफ्नो सम्पति मानेको छ।

प्रकाशित: १४ वैशाख २०७६ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App