८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीले मुलुकलाई काण्डै काण्डकाे रूपमा चिनाए : नेता पाैडेल

कांग्रेसद्वारा रौतहट राजपुर नगरपालिकामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइरालासहित नेता।

रौतहट - नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित भएकाे आरोप लगाएका छन्।

नेपाली कांग्रेसद्वारा रौतहट राजपुर फरहदवामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरे पनि त्यसविपरीत काम गरेको आरोप लगाए।

ओली सरकारले भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिई भ्रष्टाचार एवं काण्डै काण्डको देश बनाएको नेता पौडेलले आरोप लगाएका छन्। नेपाली जनता सुखी त परै जाऊन्। नेता र कार्यकर्ताहरु मात्रै सुखी भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले मुलुक पहिलाभन्दा धेरै बदनाम भएको दुःख प्रकट गर्दै नेकपा सरकारले नेपालमा पानीजहाज चलाउने जस्ता उखान टुका गरेर अहिलेको सरकारले नेपाली जनतालाई मूर्ख बनाउने काम गरिरहेको आरोप लगाएका छन्।

काण्डै काण्डले भरिएको ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल भएको आरोप लगाउदै वरिष्ठ नेता पौडेलले बालुवाटार काण्ड, खुलामञ्च काण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइडबडी काण्डलगायत काण्डै काण्डको आरोप लागेका ओली सरकार हरेक क्षेत्रमा विफल भई नेपाली जनताको नजरबाट दिनदिनै खस्किँदै गएको आरोप लगाएका छन्।

नेकपा सरकारको रवैया देखेर नेपाली जनता सचेत हुन समेत वरिष्ठ नेता पौडेलले आग्रह गरेका छन्।

वरिष्ठ नेता पौडेलले तराई मधेशमा खेती किसानी गर्न सिँचाइको व्यवस्थापन गराउने तर्फ खासै ध्यान नदिई पानीजहाज चलाउने कुरा गरेर जनताको भावनासँग खेलवाड गरेको आरोप लगाए। एक पटक कम्युनिष्टलाई हेर्ने जनताको इच्छामाथि नेकपाले कुठराघात गरेकाे उनकाे अाशय थियाे।

विश्वमा हराउदै गएका कम्युनिष्टहरू नेपालमा स्थापित हुन लागेकोमा चिन्ता व्यक्त गर्दै तराई मधेशका जनताहरू कांग्रेसको पक्षमा रहन जरूरी रहेकोले आउँदो समयमा नेपालबाट कम्युनिष्टलाई सधैंको लागि अन्त्य गर्ने आँट जनताले देखाउनुपर्ने बताए
 
कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस र मधेसी जनताको सम्बन्ध अति नै प्रगाढ रहेको स्पष्ट पारेका छन्। जबजब कांग्रेस संकटमा पर्छ मधेशका जनता कांग्रेसको पक्षमा उभिएर एक रथको दुई पांग्रासरह हुनुपर्ने उनले बताए।

राष्ट्रपति, प्रधानमन्त्री वा सभामुख यी तिनै पदमध्ये एक स्थानमा मधेशी जनताको स्थान सुनिश्चित गर्नुपर्नेमा जोड दिए शशांकले जाेड दिए। कांग्रेसभित्र रहेको आन्तरित द्वन्द्वलाई अन्त्य गरेर अघि बढ्नुपर्ने कार्यकर्तालाई सुझाव दिँदै उनले काँग्रेस भित्रको गुटउपगुट समाप्त भए कांग्रेसलाई कसैले चुनौती दिन नसक्ने बताए।

 

प्रकाशित: १४ वैशाख २०७६ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App