५ वैशाख २०८१ बुधबार
राजनीति

विदेशीहरू सल्बलाए, राष्ट्रियता खतरामा पर्‍यो : कोइराला

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता शेखर कोइराला।

कोहलपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रियता खतरामा रहेको बताएका छन्। कांग्रेस कोहलपुर नगर कमिटीले शनिबार कोहलपुरमा गरेको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै देशलाई समृद्ध बनाउनु पहिले राष्ट्रियता संरक्षण गर्नुपर्ने बताए।

विदेशी शक्तिहरू सल्बलाइरहेकाले राष्ट्रियता कमजोर भएको उनको भनाइ छ। राष्ट्रियता संरक्षणका लागि कांग्रेस सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए। नेता कोइरालाले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे। ‘सरकारका गतिविधिले जनतामा निराशा छाएको छ,’ उनले भने।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेस अहिले अलि अप्ठ्यारोमा परेको बताए। ‘कांग्रेसले गरेका कामको हामीले प्रचारप्रसार गर्न सकेका छैनौं,’ उनले भने, ‘तर निराश भइहाल्नुपर्ने अवस्था भने छैन।’ कांग्रेस अब जाग्ने बेला भएको उनले बताए। ‘कांग्रेस ढलेको पनि होइन, हारेको पनि होइन,’ उनले भने, ‘कांग्रेसकै कार्यकालमा निर्वाचन सम्पन्न भयो, विभिन्न ठूला उपलब्धिहरू कांग्रेसकै पालामा भएका छन्।’

उनले वर्तमान सरकारले देशमा शान्ति, सुशासन कायम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापको विरोध सडक र सदनबाट गर्ने बताए। उपस्थित कार्यकर्ताले केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले कांग्रेसलाई एकढिक्का हुन आग्रह गरे। गुटउपगुटका कारण कांग्रेस पछाडि परेको भन्दै गुटउपगुटको अन्त्य गर्न उनीहरूले सुझाव दिए।

प्रकाशित: १४ वैशाख २०७६ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App