७ वैशाख २०८१ शुक्रबार
अन्य

पदयात्रीलाई उपहार

नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय बेलायती नागरिक रविन बुस्टेडले आफ्नो फोटो पुस्तक ‘दि ग्रेट हिमालय ट्रेल’को दोस्रो संस्करण सार्बजनिक गरेका छन्। पुस्तकमा नेपालका पदमार्गहरूको सचित्र जानकारी दिइएको छ। यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने विश्वास गरिएको छ।

पुस्तकमा नेपालका मुख्यमुख्य पदमार्गको जानकारी, १२ वटा नक्सा, आठ हजार मिटर भन्दा अग्ला हिमालसहित १६८ वटा तस्बिरका साथै विभिन्न जातजातिको चिनारी दिइएको छ। सकेसम्म सही सूचना दिने प्रयास गरिएको बुस्टेड बताउँछन्।

पूर्वको कञ्चनजंघादेखि पश्चिमको दार्चुलासम्म लामो पदमार्गलाई ‘ग्रेट हिमालय ट्रेल’का रुपमा ब्राण्डिङ गरिएको छ। नेपाल खण्डमा यसको १७ सय किलोमिटर पर्छ। ग्रेट हिमालय ट्रेललाई दश खण्डमा बाँडिएको छ। कञ्चनजंघा, मकालु, सोलुखुम्बु र एभरेष्ट, रोल्वालिङ, लाङटाङ, मनास्लु र गणेश, अन्नपूर्ण, नार र फु, मुस्ताङ, डोल्पो, मुगु र हुम्ला र सुदूरपश्चिम गरी विभाजन गरिएको छ।

एकैपटक लामो पदयात्रा गर्न समय नहुनेहरूले जीवनकालमा खण्डखण्ड गरेर यो पदमार्ग पुरा गर्न सक्छन्। बुस्टेडले यसको गाइड बुक पनि लेखेका छन् जसलाई बेलायती प्रकाशनले छापेको छ। प्रकाशक हिमालयन म्याप हाउसले हालै ललितपुरमा गरेको कार्यक्रममा प्रख्यात पर्वतारोही पिटर हिलारीले बुस्टेडको फोटो पुस्तक सार्बजनिक गरेका थिए। पिटर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमण्ड हिलारीका पुत्र हुन्। बिमोचनपछि उनले नेपालको भूगोल, कला, संस्कृति र जातजातिले विदेशीलाई लोभ्याउने अनुभव सुनाएका थिए।

नेपालको पर्यटन प्रोडक्टको मार्केटिङ गर्न यस्ता पुस्तकहरूले राम्रो भूमिका खेल्ने विश्वास नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीको छ। पुस्तक मार्फत नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु-याउन ‘ग्रेट हिमालय ट्रेल’ प्रकाशन गरिएको म्याप हाउसका प्रमुख उद्योग सुवाल बताउँछन्। हार्ड कभर पुस्तकको मूल्य ३५ सय रुपैयाँ पर्छ भने सफ्ट कभरको तीन हजार रुपैयाँ ।
संसारभरका साहसिक पदयात्रीका लागि ग्रेट हिमालय ट्रेल डिजाइन गरिएको हो। यसले पदयात्रीको ध्यान खिच्दै गएको  छ। म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्य भन्छन्, ‘पदयात्रीका लागि सुन्दर उपहार हो यो पुस्तक।’
यति राम्रो पुस्तक प्रकाशन गरेकामा नेपालका अघोषित पर्यटन दूत रविनलाई धन्यवाद।

 

प्रकाशित: १४ वैशाख २०७६ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App