८ वैशाख २०८१ शनिबार
अन्य

पहिला कुट्थे, अहिले काममा सघाउँछन्

बर्दघाट नगरपालिका–७, जिमिरेभार नवलपरासीका चन्द्रबहादुर कुँवर र उनकी पत्नी मीनाबीच एक वर्ष अघिसम्म दिनहुँजसो झगडा र कलह हुन्थ्यो। जसको कारणले श्रीमान र श्रीमती आपसमा खुलेर कुराकानी गर्न हिच्किचाउँथे। चन्द्रबहादुर कहिल्यैँ पनि कतै जाँदा पनि श्रीमतिलाई सोधेर हिँड्दैनथे। जतिबेला मनलाग्यो जाने र मन लागेका बेला मात्रै घरमा आउने गर्थे। कहिलेकाहीँ त गाउँलेका कुरा सुनेर श्रीमतीलाई कुटपिट समेत गर्थे।

श्रीमानको अनौठो खालको व्यवहारले दिक्क हुन्थिन् मीना। ‘पहिला कहिल्यै मेरा श्रीमान सोधेर घरबाट हिँड्दैनथे। जुन बेला जता जान मन लाग्यो त्यतै जान्थे। त्यति मात्रै होइन, स–साना कुरामा पनि निहुँ खोज्दै झगडा हुन्थ्यो,’ मीनाले विगतको श्रीमानको व्यवहार सम्झिइन्, ‘झगडा मात्रै होइन, कहिलेकाहीँ त कुटाइ समेत खाइन्थ्यो।’

तर, अहिले श्रीमान्मा आएको परिवर्तन देखेर मीना अचम्मित छन्। उनी भन्छिन्, ‘पहिला हामी दुवै खुलेर बोल्न डराउँथ्यौं। जसको कारण झै–झगडा हुने रहेछ।’ गत मंसिरदेखि उनीहरूको ‘गाउँमा परिर्वतन घरदेखि समुदायसम्म’ कार्यक्रम सुरु भएसँगै अहिले जिमिरेभार गाउँका पुरुष तथा महिलामा सकारात्मक परिवर्तन देखिन थालेको छ।

जिमिरेभारका महिला र पुरुष दुवै आपसमा आफ्ना समस्याबारे खुलेर छलफल गर्न थालेसँगै गाउँमा सकारात्मक परिवर्तन देखिन थालेको छ। ‘पहिला श्रीमानले घरायसी काम कहिल्यै सघाउँदैनथे,’ उनले भनिन्, ‘अहिले काममा सघाउने मात्रै होइन, केही काम गर्नुअघि सोध्ने बानीसमेत विकास भएको छ।’

मीनाका श्रीमान् चन्द्रबहादुर पहिला अज्ञानताकै कारणले श्रीमतिमाथि गलत व्यवहार गरेको  सुनाउँछन्। ‘गाउँलेले श्रीमतिका बारेमा अनेक कुरा लगाउँथे। रिस उठि हाल्थ्यो। श्रीमतीले राम्रै कुरा गरे पनि नराम्रो लाग्थ्यो। त्यसैले कहिलेकाहीँ कुटपिट पनि गर्थे,’ उनले भने, ‘गाउँमा आएका स्वंयसेविकाले राम्रोसँग सम्झाएसँगै आफ्नो बानी सुधार्ने प्रयत्न गरेको छु।’

उनका अनुसार अहिले हरेक निर्णय लिँदा श्रीमतीसँग सल्लाह गरेर अघि बढ्ने गरिएको छ। आज चन्द्रबहादुर र मीनाको परिवारमा मात्रै होइन्, बर्दघाट नगरपालिका–७ का स्थानीयमा सकारात्मक परिवर्तन आएको अगुवा महिला इन्द्रावती गुरुङले बताइन्। ‘पहिला वडामा धेरै झैं–झगडा र महिला हिंसाका गतिविधि हुन्थ्यो,’ उनले भनिन्, ‘जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेसँगै वडालाई हिंसामुक्त बनाउन सफल भएका छौं।’ जिमिरेभारका लीला थारूको परिवारमा समेत अहिले धेरै परिवर्तन आएको उनले बताइन्।

जिमिरेभारका महिला र पुरुष दुवै आपसमा आफ्ना समस्याबारे खुलेर छलफल गर्न थालेसँगै गाउँमा सकारात्मक परिवर्तन देखिन थालेको छ।

‘श्रीमानले जाँडरक्सी खाएर बिहानै झगडा हुन्थ्यो,’ उनले भनिन्, ‘स्वयसेविकाले श्रीमान् र श्रीमतीबीच हुने द्वन्द्व न्यूनीकरण कार्यक्रम सञ्चालन गरेसँगै अहिले परिवारमा खुसीयाली छाएको छ। श्रीमान् घर बनाउने मिस्त्री बन्नुभएको छ। मैले घरअगाडि पसल सञ्चालन गरेर घरखर्ची चलाउँदै आइरहेकी छु,’ उनले भनिन्।

‘पहिला हामीबीच आपसमा राम्रोसँग कुराकानी समेत हुँदैनथ्यो। जसका कारणले धेरै समस्या उत्पन्न हुने रहेछ,’ उनले भनिन्, ‘अहिले दुवै एकै ठाउँमा बसेर कुराकानीबाटै समस्या टुंग्याउँछौं।’ इक्वेल एक्सेस इन्टरनेसनलका राष्ट्रिय प्रतिनिधि विनिता श्रेष्ठले श्रीमान् र श्रीमतीबीच हुने वैवाहिक हिंसा न्यूनीकरणका लागि समुदायमा आधारित सचेतना कार्यक्रम गर्दै आएको बताइन्। ‘श्रीमान् र श्रीमतीबीचको स–साना खालका टकराबकै कारणले हिंसा हुने गर्छन्। त्यसैले दुवैलाई एकै ठाउँमा राखेर समूहगत छलफल गराउन सके पनि धेरै हदसम्म हिंसा न्यूनीकरण गर्न सकिने रहेछ,’ उनले भनिन्, ‘हामीले ६ महिनाअगाडि ‘गाउँमा परिर्वतन घरदेखि समुदायसम्म’ कार्यक्रम सञ्चालन ग¥यौं। जसको परिणाम महिला र पुरुष दुवैमा सकारात्मक परिवर्तन ल्याउन सम्भव भएको छ।’

इक्वेल एक्सेसले सन् २०१५ देखि नवलपरासी, कपिलवस्तु र चितवन गरी तीन जिल्लामा ७२ समूह बनाएर लैंगिक हिंसा विरुद्धको गतिविधि सञ्चालन गरिरहेको छ। १० विवाहित जोडीका एउटा समूहमा १० पुरुष र १० महिलाको समूह बनाएर समाजमा लैगिंक हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। परिणामस्वरूप अहिले महिला र पुरुष समान  व्यवहार गर्दै आइरहेका छन्। त्यसै कार्यक्रमलाई निरन्तरता दिंदै जिमिरेभार, बर्दघाट, नगरपालिका वडा नम्बर ७ मा गएको ६ महिनामा लैंगिक समानता सम्बन्धित जनचेतनामूलक कार्यक्रम १० जोडीमा मात्र सीमित नराखेर समुदायमै फैलाउने उद्देश्य राखेर ‘परिर्वतन घरदेखि समुदायसम्म’ कार्यक्रम सुरु गरेको थियो।

हिंसामुक्त वडा
बर्दघाट नगरपालिका–७ जिमिरेभारलाई हिंसामुक्त वडा घोषणा गरिएको छ। वडा अध्यक्ष धु्रव थारूले सोमबार औपचारिक कार्यक्रमबीच हिंसामुक्त वडा घोषणा गरे। ४ सय ५० घरधुरी रहेको वडामा सम्पूर्ण सदस्यले कुनै प्रकारको हिंसा नगर्ने चार बुँदे प्रतिबद्धता गरेसँगै हिंसामुक्त वडा घोषणा गरिएको हो।

यस्तो छ प्रतिबद्धता
बुहारीसहित घरका सबै महिला सदस्यलाई घरको समान सदस्यका रूपमा व्यवहार र सम्मान गर्नेछु, सबैलाई घरमा सम्मानपूर्ण व्यवहार, घरपरिवारको निर्णयमा सहभागिता र समान व्यवहार हुनेछ। सबै घरायसी काम सबै सदस्यबीच समानपूर्ण बाँडफाँड भएको सुनिश्चित गर्नेछु। त्यस्तै गरी सबै प्रकारका हिंसा अन्त्य गर्न सक्दो सहयोग गर्नेछु भन्ने लगायतका प्रतिबद्धता व्यक्त गरेसँगै हिंसामुक्त वडा घोषणा गरिएको हो।

जिमिरेभारका स्थानीय इन्द्रावति गुरुङले ६ महिनासम्म विभिन्न बहसमूलक तथा सचेतनामूलक कार्यक्रमपछि मात्रै हिंसामुक्त वडा घोषणा गरेको बताइन्। ‘६ महिनासम्म लगातार महिला र पुरुषलाई सचेतनामूलक कार्यक्रम सञ्चालन ग-यौं,’ उनले भनिन्, ‘सम्पूर्ण वडावासीले कुनै प्रकारको हिंसा नगर्ने प्रतिबद्धता जनाएसँगै हिंसामुक्त वडा घोषणा गरिएको हो।’

नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले वडा नम्बर ७ ले हिंसामुक्त वडा घोषणा गरेर सकारात्मक कार्यको सुरुवात गरेको बताइन्। ‘हिंसामुक्त वडा घोषणा कार्यक्रम सुरुवात मात्रै हो। यसलाई नगर हुँदै देशभर अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘वडावासीको सचेतनाले हिंसामुक्त वडा घोषणा गरिएको हो।’

‘हिंसामुक्त वडा घोषणा गर्न जति सजिलो छ। कार्यान्वयन गर्न त्यति नै असहज पनि छ,’ उनले भनिन्, ‘त्यसैले महिला र पुरुष दुवै हातेमालो गरेर अघि बढेमा हिंसा अन्त्य गर्न सहजै सकिनेछ।’ उपप्रमुख पौडैलले नगरपालिकाले हिंसा अन्त्यका लागि आवश्यक पर्ने जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन्।

बर्दघाट नगरपालिका–७ का वडा अध्यक्ष ध्रुव थारूले हिंसामुक्त वडा कार्यान्वयन गरेरै छाड्ने बताएका छन्। ‘स्थानीय जनताकै अगुवाइमा हिंसामुक्त वडा घोषणा गर्नु सराहनीय अभियान हो। त्यसैले वडा कार्यान्वयनले व्यावहारिक रूपमा कार्यान्वयन गर्दै लैजानेछ,’ उनले भने, ‘हिंसामुक्त अभियानलाई सफल बनाउन आफ्नै परिवारबाट सुरुवात गर्नुपर्छ। त्यसैले सबैको सहयोग र सद्भाव भएमा कार्यान्वयन गर्न कुनै अप्ठेरो हुँदैन।’ उनका अनुसार वडा कार्यालयले हिंसामुक्त  अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि आश्वयक पर्ने बजेट उपलब्ध गराउनेछ।

इक्वेल एक्सेस इन्टरनेसनलका सञ्चार तथा पैरवी अधिकृत नवोदिता सुवेदीले जिमिरेभारमा ‘परिवर्तन घरदेखि समुदाय’सम्म कार्यक्रम सञ्चालन गरेसँगै महिला र पुरुषमा धेरै परिर्वतन आएको दाबी गरिन्। ‘पहिला आउँदा श्रीमान र श्रीमतीइ बीचमा पनि खुलेर बोल्दैनथे। त्यति मात्रै होइन, परिवारमा झै–झगडा र निर्णय लिँदा पुरुषले मात्रै लिने गर्थे,’ उनले भनिन्, ‘जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेसँगै पहिला खुलेर नबोल्ने श्रीमान अहिले घरायसी काममा समेत सघाउन थालेको देखिन्छ। जुन सकारात्मक कुरा हो।’

इक्वेल एक्सेस इन्टरनेसनलका सञ्चार तथा पैरवी अधिकृत सुवेदीले हामीले जनचेतनामूलक कार्यक्रम गर्न मात्रै सघाएको बताइन्। ‘हामीले जनचेतनामूलक कार्यक्रममा मात्रै सघाएका हौं,’ उनले भनिन्, ‘हिंसामुक्त अभियान त उहाँहरूको पहलकै कारणले सम्भव भएको हो।’ उनका अनुसार हिंसा अन्त्य घोषणा गरेर मात्रै कार्यान्वयन गर्न सम्पूर्ण स्थानीयवासी अग्रसर हुन जरुरी देखिन्छ।

हिंसामुक्त अभियान कार्यान्वयनमा चुनौती
बर्दघाट नगरपालिका–७ का वडाध्यक्ष धु्रव थारू स्थानीयको सहयोग र सद्भावले हिंसामुक्त वडा घोषणा गरेको बताउँछन्। घोषणा कार्यान्वयन गर्न जति सजिलो छ कार्यान्वयन गर्न त्यति नै गाह्रो भएको उनको भनाइ छ। ‘घोषणा केवल घोषणामा सीमित गर्न चाहान्नौं,’ उनले भने, ‘वडा कार्यालयले नागरिक अगुवालाई निरन्तर हिंसा अन्त्यको लागि दीर्घकालिन योजनासहित वडामा प्रस्ताव ल्याउनुस्। त्यसका लागि आवश्यक सहयोग गर्न तयार छौं।’ 

थारूले वडामा मिश्रित बसोबास भएकाले सबै मिलेर हिंसा अन्त्य गर्न जरुरत रहेको बताए। ‘वडामा महिलामात्रै हिंसाबाट प्रताडित छैनन्,’ उनले भने, ‘कतिपय पुरुष पनि महिलाबाट पीडित छन्। त्यसैले दुवैलाई न्याय दिएर अघि बढ्नेछौं।’

उपप्रमुख पौडेलले पनि कार्यान्वयन केही जटिलता भए पनि लागू गरेर नै छाड्ने प्रतिवद्धता व्यक्त गरिन्। ‘हिंसाका घटना आर्थिक अवस्था कमजोर भएका कुरा सहजै बाहिर आउँछन्,’ उनले भनिन्, ‘धनाढ्य परिवारका हिंसाका घटना गुपचुपमै लुकाइन्छन्। सबैतिरका हिंसाका घटना बाहिर आउन जरुरत छ।’

पौडेलले हिंसामुक्त कार्यक्रम साह्रै सान्दर्भिक र आवश्यक भएकाले यस्तो खाले कार्यक्रम वडा नम्बर ७ मात्रै सीमित नराखेर आउने वर्षमा स्थानीय तहको योजना छनोट प्रक्रिया र बजेट विनियोजनमा समेट्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित: १४ वैशाख २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App