८ वैशाख २०८१ शनिबार
खेल

नेपालमाथि अस्ट्रेलियाको गोलवर्षा

काठमाडौं – एएफसी यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ११–१ को फराकिलो अन्तरले पराजित भएको छ।

म्यानमारको म्यान्डलेस्थित म्यान्डलार्थिरी स्टेडियममा भएको खेलको पहिलो हाफमा ६–१ गोलले पछि नेपालले दोस्रो हाफमा ५ गोल बेहोरेपछि फराकिलो हारको सामना ग-यो। नेपालको लागि एक मात्र गोल मञ्जलीकुमारी योञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेकी थिइन्।

फिफाको महिला वरीयतामा छैटौं स्थानमा रहेको अस्ट्रेलियाले १ सय ६औं स्थानको नेपाललाई सुरुआतबाट नै दबाबमा राखेको थियो। उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपाल अस्ट्रेलियन अग्रपंक्तिलाई रोक्न असफल भयो। प्रतियोगितामा अब नेपालले दोस्रो खेलमा आइतबार उज्बेकिस्तानसँग खेल्दा मंगलबार आयोजक म्यानमारको चुनौती सामना गर्नेछ।

दोस्रो चरणअन्तर्गतको छनोट चरण पार गर्ने शीर्ष दुई टोलीले थाइल्यान्डमा आगामी अक्टोबरदेखि हुने एएफसी यु–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछन् । पहिलो खेलमा नै पराजित भएको नेपाली टोलीकी कप्तान सरु लिम्बुले शारीरिक रूपमा उनीहरू बलिया रहेकोले फराकिलो अन्तरले पराजित हुनुपरेको प्रतिक्रिया दिइन्।

‘अस्ट्रेलिया हामीभन्दा धेरै राम्रो टोली हो। शारीरिक बनावट र उचाइका कारण उनीहरूलाई फाइदा पुग्यो,’ नेपाली टोलीकी कप्तान सरुले भनिन्, ‘अनपेक्षित नतिजा बेहोर्नुप-यो। तै पनि बाँकी दुई खेलमा राम्रो प्रदर्शन गर्दै अघिल्लो चरणको यात्रा बनाउने प्रयास गर्नेछौं।’छनोट चरणअन्तर्गत गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न पहिलो चरणको प्रतियोगितामा समूह ‘बी’ बाट उपविजेताको रूपमा नेपाल दोस्रो चरण प्रवेश गरेको थियो।

उक्त छनोट चरणको पहिलो खेलमा आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको नेपालले बाँकी खेलमा जित निकाल्दै उपविजेता बनेको थियो। आयोजक थाइल्यान्ड, भारत, पाकिस्तान र नेपाल रहेको समूह चरणको खेलमा नेपालले भारतलाई २–० र पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो। खेलको पहिलो हाफमा ६–१ गोलले पछि नेपालले दोस्रो हाफमा थप ५ गोल बेहोरेपछि फराकिलो हारको सामना ग-यो।

प्रकाशित: १४ वैशाख २०७६ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App