८ वैशाख २०८१ शनिबार
समाज

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

सिन्धुली– राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्। तर धुराबजार क्षेत्रका केहि घरहरु राजमार्ग निर्माण गर्दा क्षति हुने भएपछि त्यसक्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरि अन्यत्र डाइभर्ट गर्न कसरत सुरु भएपछि अन्यौलता छाएको हो।

कमलामाई नगरपालिकासहित प्रदेश सांसद तथा संघीय सांसदले धुरा क्षेत्रबाट सडक निर्माण गर्दा ठुलो क्षति हुने भन्दै राजमार्गको नक्सा तथा रुट परिवर्तन गर्न पहल थालेपछि सदरमुकाम सिन्धुली माढीमा मदन भण्डारी राजमार्गको रुटकै विषयमा सहमति हुन सकेको छैन। केहि जनप्रतिनिधिहरुले सरदमुकाम सिन्धुलीमाढीस्थित कमलामाई नगरपालिका ४ मा रहेको महादेवफाटको खेतलाई व्यवस्थित शहर बनाउदै त्यहि शहरको बिचबाट राजमार्ग निर्माण गर्नुपर्ने बताउँदै आएका छन्। तर त्यस क्षेत्रका स्थानीय घर तथा जग्गा धनीहरुले त्यस क्षेत्रबाट राजमार्ग निर्माण गर्न नदिने भन्दै चरणबद्ध संघर्ष सुरु गरेपछि राजमार्ग निर्माणमा अन्यौलता छाएको हो।

विवादित रहेको हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट परिवर्तन गरि कमलामाई नगरपालिका ४ स्थित विपी राजमार्गको तत्कालिन हाज्माको २ नं. गेट हुदै आदर्श टोल (कुमाल फाट) हुँदै  साङवाले खट्टार जोड्ने गरि नक्साङकन परिवर्तन गर्न कसरत सुरु भएको देखियो, स्थानीय कृष्ण अधिकारीले भने, हामी हाम्रो जग्गाबाट राजमार्ग निर्माण गर्न दिदैनौं। उनले खेतीयोग्य जग्गा भएकाले आफुहरुले धान खाने खेत मास्न नदिने बताए। राज्यले नै खेती किसानी गर्नेलाई प्रोत्साहन गरिरहेको अवस्थामा खेत मासेर शहर तथा राजमार्ग निर्माण गर्न दिदैनौं, उनले भने–‘राजमार्ग यहि क्षेत्रबाटै निर्माण गर्नैपर्ने अवस्था आएको हो भने हामीलाई यहाँको चलनचल्ति अनुसारको क्षतिपुर्ति चाहिन्छ।’

त्यस क्षेत्रको झन्डै तीन सय विघा खेतीयोग्य जग्गा प्लटिङ गरि सोही क्षेत्रबाट राजमार्ग निर्माण गर्ने पहल आफुहरुले गरेको प्रदेश सभाका सांसद बिनोद खड्काले बताए। धुराबजारबाट राजमार्ग निर्माण गर्दा ठुलो क्षति हुने देखिन्छ, त्यसैले परिवर्तन गर्न पहल गरेका हौ। उनले हेटौडा–सिन्धुली–चतरा राजमार्ग निर्माण गर्दा राजमार्गले अधिग्रहण गर्ने जग्गाको क्षतिपुर्ति नदिने स्पस्ट पारे। सांसद खड्काले राजमार्ग निर्माणको विषयमा लामो समयदेखि अन्यौलता कायम रहेकाले त्यसको निकासको प्रक्रिया सुरु गरेको र उत्तम विकल्प तत्कालिन हाज्माको २ नं. गेट हुदै आदर्श टोलबाट साङवाले जोड्नेगरि पहल सुरु भएको बताए। तर आदर्श टोलका स्थानीयले भने आफुहरुको जग्गा जमिनबाट राजमार्ग निर्माण नगरिदिन माग गरेका छन्। हामी कुनैपनि हालतमा यस क्षेत्रबाट राजमार्ग दिदैनौ, किनकी यहाँको धेरै गरिब परिवार सुकुम्बासी बन्ने तथा भएको खेतीयोग्य जग्गा समेत मासिन्छ, स्थानीय बुद्धिमान विकले भने, जवरजस्ती गरिए चरणबद्ध संषर्घमा उत्रिन्छौ। उनले टोलमा बसेको भेलाले स्थानीय कृष्णअधिकारीको संयोजकत्वमा संषर्घ समिति समेत बनेको बताए।

तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने गरि आयोजनाले तालिका नै बनाएको भएपनि सदरमुकाम सिन्धुलीमाढीमा नक्साङकन परिवर्तन गर्न पहल हुँदा अन्यौलता थपिएको छ। पहिलो बर्ष २५ प्रतिशत चालु आर्थिक बर्ष अर्थात् दोस्रो बर्षमा ५० प्रतिशत र तेस्रो बर्षमा २५ प्रतिशत निर्माण गरि मदनभण्डारी राजमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ। पछिल्लो समय धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको निर्माणकार्य तिव्र गतिमा भइरहेका बेला सदरमुकाम सिन्धुलीमाढीमै अन्यौल भएको हो। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान—चतरा—सिन्धुली—हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तिब्र भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार राजमार्गको पुर्वी र पश्चिम दुबै खण्डको काम तिब्र गतिमै भइरहेको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्म कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ भने  पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३४ किलोमिटर सडकमा धमाधम निर्माण कार्य भइरहेको छ।

प्रकाशित: १३ वैशाख २०७६ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App