७ वैशाख २०८१ शुक्रबार
समाज

तुईनको विकल्पः दुई वर्ष बित्यो तर पुल बनेन

मुगु– सदरमुकाम गमगढीदेखि छायानाथ रारा नगरपालिका वडा–१३ र १४ लाई जोड्न मुगु कर्णालीमाथि पक्की पुल बनाउन दुई वर्ष अघिदेखि निर्माण सुरु गरिएपनि अहिलेसम्म पुल बन्न सकेको छैन।

नदिमाथि पक्की पुल बन्दा छायानाथ रारा नगरपालिका वडा–१३ र १४ का गाउँ बस्ति सडक सञ्जालमा जोडिने र यहि बाटोबाट हुम्लाको चंखेली गाउँपालिका जोडिने अपेक्षा गरिएको थियो। अहिले ग्रामीण पहुँच कार्यक्रमले हुम्लाको दार्माबाट यता र मुगुको बाम र चंखेली तर्फबाट सडकको निर्माण कार्यलाई तिब्रता दिई रहेको छ। तर कर्णाली नदिमाथि बन्ने पक्की पुल भने दुई वर्षदेखि अलपत्र परेको छ।

सुरुमा तत्कालिन जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकले दिएको सर्भे अनुसार पुल बनाउने कार्य सुरु गरिएको तर काम सुरु गरिएको स्थानमा तल कडा चट्टान लाग्दा मेसिन भाँचिएपछि काम रोकिएको, पुलको निर्माण कार्यको जिम्मा लिएको पृथ्वी जेभी काठमाडौंले जनाएको छ। कडा चट्टान भेटिएपछि फेरि अर्को ठाउँमा प्राविधिकले लाईन दिनुपर्ने भएपनि सरकारको कुन निकायले प्राविधिक पठाउने हो भन्ने अन्यौलता रहेको निर्माण कम्पनीका फिल्ड सुपरभाईजर राजन चापागाईंले बताए। पुल निर्माणका लागि चाहिने उपकरण, छडलगायतका सामाग्री पुगिसकेको र आफु योजना निर्माण स्थलमा आएको सात महिना पुगेपनि सरकारी क्षेत्रबाट प्राविधिक नआउँदा काम सुरु हुन नसकेको चापागाईंले बताए।

साविकको जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकले दिएको नक्सा बमोजिम काम सुरु भएपनि पुल निर्माण हुने स्थानको माटो परिक्षण नहुँदा समस्या ब्यहोर्नु परेको पृथ्वी जेभीका सञ्चालक राजु कार्कीले बताए। माटो परिक्षण गर्ने काम सरकारकै रहेको र अहिले पुन नक्सा बदलेर दिएपनि प्राविधिक नखटाउँदा आफ्ना कर्मचारी तथा कामदार काम नपाएर बस्नु परेको कार्कीले बताए। प्राविधक खटाई दिन जिल्ला समन्वय समितिलाई चार पटकसम्म पत्र लेखेपनि अहिलेसम्म समन्वय समितिले प्राविधिक नखटाएको कार्कीको भनाई छ।

मोटर एवल पुल निर्माण गर्न तत्कालिन जिल्ला विकास समितिले सम्झौता गरेको र संघीयता आइसकेपछि कर्णाली प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले जुम्लामा रहेको प्राविधिक डिभिजन कार्यालयलाई पुलको निर्माण कार्य हेर्ने जिम्मा दिएकाले आफनो समन्वय गर्ने कामबाहेक अरु केही जिम्मेवारी नभएको जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकायाले जानकारी दिए। निर्माण कम्पनीले प्राविधिक पठाई दिन समन्वय समितिलाई पत्र पठाएपछि आफुले कर्णाली प्रदेश भौतिक पुर्वाधार मन्त्रालयमा पत्र पठाएपनि प्राविधिक आउन नसकेको उनले बताए।

दुई वर्षदेखि पुल बन्न नसकेपछि सामान ओसारपसार गर्न नदिमाथि अहिले तुईन बनाईएको छ। तुईनबाट सडक निर्माण सामाग्री तार्ने काम भइरहेको छ। यो पुल बन्ने हो भने छायानाथ रारा नगरपालिकाका रुगा, थार्प, लुम, बाम तथा चंखेली सडक सञ्जालसँग जोडिने छन् भने चंखेली भएर हुम्लाको दार्मा पनि जोडिनेछ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App