मिलाएर राखिएको कुर्सी र टेबुल। मेन्युमा हेर्दै गरेका युवा जमात। केही जोडी युवा हातमा स्यान्डविच लिएर खाँदै थिए। कुक भने स्यान्डविच तयार गर्न व्यस्त देखिन्थे। यो दृश्य हो, चाबहिल स्तुपा नजिकै विग बाइट्स स्यान्डविच प्वाइन्टको।
‘विग बाइट्स स्यान्डविच प्वाइन्ट’ चावहिलमा स्यान्डविचको फरक–फरक स्वाद दिएर आएको केही महिना मात्र भयो। यहाँको परिकारलाई छोटो समयमा नै धेरैले रुचाएको सञ्चालक लगन राजभण्डारी बताउँछन्। उनी पनि स्यान्डविच बनाउँछन्। चिकेनलाई ग्रिल गर्नु, मायोनेज र सससँग खेल्नु, स्यान्डविच बनाएर ग्राहकको भोक मेटाउनु उनको दैनिकी नै हो। स्यान्डविच प्वाइन्टमा स्यान्डविच र चिकेन आइटमको मजा लिन सकिन्छ।
भण्डारीले नेपालमा मात्रै होइन, विदेशका थुप्रै रेस्टुरेन्टमा काम गरिसकेका छन्। ‘होटल लाइनमा काम गर्न थालेको १५ वर्ष भयो, अहिले आफै केही गरौ भनेर लागिरहेको छु,’ उनले भने, ‘अहिलेसम्मको अनुभवलाई सदुपयोग गर्ने मनसायले स्यान्डविच पसल खोलेको हुँ।’
नेपालमा खाजा भन्नेबित्तिकै मःमः र चाउमिन मात्र बुझिने भएकाले यो सोच परिवर्तन गर्न ‘विग बाइट्स स्यान्डविच प्वाइन्ट’को सुरुवात गरेको उनले बताए। अहिले नेपालमा खाने ट्रेन्डमा केही परिवर्तन भएको उनी सुनाउँछन्। नेपाली युवापुस्ता नयाँ परिकारको स्वाद लिन उत्साहित रहेको उनले बताए। ‘नयाँ खानाको परिकार खाने, चाख्ने ट्रेन्ड बढ्दो छ,’ उनी भन्छन्, ‘अरुको संस्कार र खान्कीप्रति धेरैले चासो राख्ने गरेको पाइएको छ।’
‘विग बाइट्स स्यान्डविच प्वाइन्ट’ मा विभिन्न परिकारको स्यान्डविचको स्वाद चाख्न सकिन्छ। स्न्डविच कन्टिनेन्टल खानाको परिकार हो। बिहानको खान्कीका रूपमा स्यान्डविच खाने गरिन्छ। दुई वटा स्लाइड बन (पाउरोटी)को बीचमा स्वादको लागि विभिन्न परिकार राखेर तयार गरिएको हुन्छ। स्यान्डविचलाई लञ्चको रुपमा पनि खाइने ‘विग बाइट्स स्यान्डविच प्वाइन्ट’ का सञ्चालक भण्डारी बताउँछन्। उनी भन्छन्, ‘ग्राहकले पैसा तिरेपछि टन्न अगाउने होस् भनेर थरीथरीका आइटम समावेश गरेका छौं।’
चावाहिलका कमल प्रजापती ‘विग बाइट्स् स्यान्डविच प्वाइन्ट’मै स्यान्डविच खान जान्छन्। कम्बो र चिकेन स्यान्डविच खान निकै मनपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘मःमः र चाउमिन त कति खाइयो। स्यान्डविच खाँदा खाजाको स्वाद फेरिएको महसुस हुन्छ। सधैं एउटै स्वाद बोरिङ पनि त हुन्छ।’
प्रकाशित: १३ वैशाख २०७६ ०६:४२ शुक्रबार