लोकतन्त्र जिउँदो रहोस्

शुक्रबार, १३ बैशाख २०७६, ०८ : ५५ डा.सरोज धिताल

हरेक वर्ष लोकतन्त्र दिवसका दिन मानव अधिकार तथा शान्ति समाजका मित्रहरू भेटघाटको बन्दोबस्त मिलाउनुहुन्छ। गत बुधबार साँझ पनि धेरै साथीसँग त्यहीँ भेट भयो। स्वागत गर्न बसेका कृष्ण पहाडीले फोटो खिच्न आग्रह गर्दै भन्नुभयो–  ‘एउटा फोटो खिचौंँ डाक्सा’ब! यो लोकतन्त्र अब कति रहन्छ, थाहा छैन!’ हामी सबै हाँस्यौंँ तर यो हाँसोले मात्र सबैको मनभित्र सल्बलाइरहेको एउटा डरलाग्दो अँध्यारो छायाँलाई भने छोप्न सकेको थिएन। के हो त्यो छायाँ? किन यस्ता प्रश्न आउने गर्छन् नागरिकका मनमा? लोकतन्त्रका निम्ति लडेका अभियन्ताहरूका मनमा? लोकतन्त्र साँच्चै खतरामै छ त?

शब्दका नृत्यहरू, शब्दका नाटकहरू रमाइला हुन्छन्। अर्थपूर्ण पनि हुन्छन्। जब कुनै कालखण्डको मञ्चमा एकथरी शब्दलाई अर्काथरी शब्दले बिस्थापित गर्छन्, त्यो बिस्थापनले समाज, जनताका मनोभाव, संस्कृति, राजनीति, अर्थतन्त्र, वातावरण अर्थात् जीवनका हरेक आयाममा भइरहेको परिवर्तनलाई दर्शाइरहेका हुन्छन्। पछिल्लो लोकतान्त्रिक आन्दोलनका क्रममा थाहै नपाई ‘प्रजातन्त्र’ भन्ने शब्दलाई ‘लोकतन्त्र’ ले बिस्थापित गरेको थियो। राजतन्त्र अस्वीकृत हुन थालेको अभिव्यक्ति थियो त्यो। ‘रैती’ शब्द त उहिल्यै सात सालपछि नै अस्वीकृत भइसकेको थियो। सात सालपछि बौरेका शाह राजाका ‘प्रजा’ हुन पनि अब स्वीकार थिएन जनताका लागि। ‘प्रजा’ले राजा सम्झाउँथ्यो। त्यसैले ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ भन्न थालेका थिए परिवर्तनकामी जनता।

लोकतन्त्र कुनै गन्तव्य विन्दु हैन, कुनै प्राप्य लक्ष्य हैन। यो त निरन्तर चलिरहने यात्रा हो जो एककिसिमले मानिसको पूर्णतातर्फको यात्रा हुन्छ।

‘जनवाद’, ‘जनतन्त्र’ रुचाउने मित्रहरूका निम्ति पनि ‘लोकतन्त्र’ स्वीकार्य, सुपाच्य भयो। यसरी यी दुई अक्षर बदलिनुमा नै जनतामा गणतन्त्रप्रतिको चाहना बढेको दर्शिए पनि परिवर्तनको नेतृत्व गरिरहेकाछौँं भन्ने धेरै नेताहरू र केही बुद्धिजीवीसमेत आफ्नो लडाइँलाई ‘गणतन्त्र’ प्राप्तिका निम्तिको लडाईं भन्न हिच्किचाइरहेका थिए। कुनैबेला कतै कसैको कोठामा, कहिले कुनै स्कुलमा, कसैको कार्यालयमा विभिन्न कुनाकाप्चामा परिवर्तनका निम्ति अभियन्ताका बीचमा कुराकानी भइरहन्थे त्योबेला। यस्ता कुराकानीमा समेत ‘गणतन्त्र’ उच्चारण गर्न मानिस हिच्किचाउँथे।

एकचोटि यस्तै एउटा भेटघाटमा गणतन्त्रको कुरा निस्कियो। डाक्टर देवेन्द्रराज पाण्डे छेउमै हुनुहुन्थ्यो। आफ्नो उही ठट्यौलो पारामा उही चिरपरिचित सुन्दर हाँसो हाँस्दै कुइनाले हिर्काउँदै भन्नुभो– ‘धन्न... ...जी बाहिर निस्केका बेलामा यो कुरा उठाउनुभो, नत्र उहाँ अहिल्यै यहाँबाट उठेर जानुहुन्थ्यो...।’ वास्तवमा उहाँले औंल्याउनुभएको व्यक्ति असल मान्छे हुनुहुन्छ। महŒवपूर्ण जिम्मेवारी लिएर अहिले पनि देशको हितमै सेवा गरिरहनुभएको छ। र, त्यसबेला पनि भित्रबाट शायद गणतन्त्रविरोधी नै त हुनुहुन्नथ्यो। तर राजतन्त्रको विरोध गर्न सबैलाई गाह्रो पाथ्र्याे दशकौंँदेखि संंरचित हुँदै आएको एउटा मनोग्रन्थीले गर्दा। दशकौंँदेखिको राजनीतिक वातावरणले मनमा पार्दै आएको छाप एउटा विशिष्ट मनोढाँचामा अनुदित भइसकेको थियो। त्यो मनोढाँचा एउटा भ्रमचित्र थियो जसले भन्थ्यो– गणतन्त्रको कुरा गर्नु खतरनाक हो, राजतन्त्र हट्न सम्भव छैन, बरु लोकतन्त्रको कुरा अलि मलुवा हुन्छ, मानिसले पचाउँछन्...।’

यथार्थमा ‘गणतन्त्र’ भन्दा हरेक हिसाबले धेरै गहिरो, जटिल, व्यापक र महान् अवधारणा हो ‘लोकतन्त्र’। गणतन्त्र त एउटा सामान्य गन्तव्य वा लक्ष्यहुन सक्छ जो यत्नले ‘प्राप्त’ हुन्छ। राजतन्त्र हट्यो भने गणतन्त्र भइहाल्यो ! तर गणतन्त्रसँगै लोकतन्त्र ‘आउँछ’ नै भन्ने हुँदैन। लोकतन्त्र कुनै गन्तव्य विन्दु हैन, कुनै प्राप्य लक्ष्य हैन। यो त निरन्तर चलिरहने यात्रा हो जो एककिसिमले मानिसको पूर्णतातर्फको यात्रा हुन्छ, हरेक पाइलामा केही नयाँ प्राप्ति हुन्छ, मानिस पहिलेभन्दा केही असल हुन्छ, केही हुर्किन्छ तर पूर्णतातर्फको यात्रा चलिरहन्छ, रोकिँदैन। लोकतन्त्रको यात्राको दिशा सुनिश्चित हुन्छ, गति कायम रहन्छ तर यसले कहिल्यै विश्राम लिँदैन। लोकतन्त्रको यात्रा टुङ्गियो भन्नुको अर्थ हुन्छ– लोकतन्त्रको मृत्यु भयो।

लोकतन्त्रको भविष्यका बारेमा नागरिकका चिन्ता जायज छन्। यतिबेला लोकतन्त्र बिरामी छ। विभिन्न ‘कीटाणु’बाट संक्रमित छ। र, यो रोगका कीटाणु केवल सत्ताधारीभित्र मात्रै छैनन्।

त्यसैले निश्चित अवधिमा मतदान गरेर केही मानिसलाई शासन गर्न पठाउने नागरिकको ‘अधिकार’ मात्र लोकतन्त्र हैन। अनेक नामका पार्टी खोलेर झण्डा फहराउनुमात्र पनि लोकतन्त्र हैन। जसलाई मनलाग्यो उसलाई छाडा गाली गरेर रमाउन ‘पाउनु’ पनि लोकतन्त्र हैन। शासन चलाउनेले नागरिकका कुरा नसुनी उल्टै हप्काउनु त झन् लोकतन्त्र हुँदै हैन। लोकतन्त्र साँच्चै जीवित छ कुनै देशमा भने जनता अस्तिभन्दा हिजो, हिजोभन्दा आज खुसी भएकै हुनुपर्छ। आजभन्दा भोलि खुसी हुने सम्भावना स्पष्ट देखिएको हुनुपर्छ। सामाजिक न्यायको स्थिति झन् झन् राम्रो भएकै हुनुपर्छ। मानिसमा अन्तर्र्नििहत सकारात्मक सम्भाव्यताहरू झन् झन् प्रष्फुटित भएकै हुनुपर्छ। सबैले भोग्न बाध्य प्राकृतिक प्रकोप वा अन्य विपत्का बेला आपसी प्रेम र सद्भावका भरमा तीमाथि विजय पाउन सम्भव हुनुपर्छ।

यसो भइरहेकोछैन भने लोकतन्त्रको यात्रा कतै अवरुद्ध भयो कि भनी जाँच्नैपर्छ। यात्रा अवरुद्ध हुनेबित्तिकै लोकतन्त्र मुर्छित हुन्छ। यो मुर्छा लम्बियो भने लोकतन्त्र मर्छ। लोकतन्त्र एउटा बहुआयामिक गत्यात्मक अविरल यात्रा हो मानिसको पूर्णतातर्फको। त्यसैले लोकतन्त्रको भविष्यका बारेमा नागरिकका चिन्ता जायज छन्। यतिबेला लोकतन्त्र बिरामी छ। विभिन्न ‘कीटाणु’बाट संक्रमित छ। र, यो रोगका कीटाणु केवल सत्ताधारीभित्र मात्रै छैनन्। जहाँ पनि आफू व्यापकरूपमा संलग्न भएको जुनसुकै आन्दोलनपछि जनताले सत्ताधारीहरूबाट धेरै अपेक्षा राखेका हुन्छन्। सत्ताधारीहरू भने आफ्ना सीमा, आफ्ना लाचारी, आफ्ना ‘बाध्यता’का बारेमा यति बढी केन्द्रित हुन्छन् कि थाहै नपाइ जनताका अपेक्षालाई देख्ने÷सुन्ने क्षमता गुमाउन थाल्छन्। उनीहरूका यी ‘सीमा’, ‘लाचारी’, ‘बाध्यता’ भ्रष्टाचारलगायतका विभिन्न विकृतिलाई छोपछाप पार्ने साधन बन्न पुग्छन्। अनि एउटा कुचक्रको जन्म हुन्छ जसबाट निस्कन सत्ताधारीहरूलाई मात्रै हैन, सिंंगै राज्यव्यवस्था र त्यसका हरेक अंगलाई गाह्रो हुन्छ। हुँदाहुँदा राष्ट्र नै त्यही कुचक्रमा नराम्ररी फसिसक्छ। दुःखको कुरा, यतिबेला हाम्रो देश यही कुचक्रमा फसिसकेको छ।

के यो कुचक्रबाट निस्कन सम्भव नै छैन त? छ। एक पाइला मात्र लिए पुग्छ। तर त्यो महत्वपूर्ण एक पाइला चाल्ने साहस भने नेतृत्वमा हुनुपर्छ। हामी आफ्ना भोगाइबारेका आफ्नै व्याख्या÷विश्लेषणबाट यति प्रभावित हुन्छौँं कि हाम्रा भ्रम हामीलाई सत्य लाग्छन्। तिनै भ्रमका कारण त्यो एक पाइला जसले देशलाई वर्तमान कुचक्रबाट पक्कै निकाल्न सक्छ, नेताका निम्ती अत्यन्त कठीन, दुरुह, पीडादायी प्रतीत हुने गरेको छ। त्यही भ्रमका कारण इतिहासका नयाँ सुन्दर पाना लेख्ने अवसर आफँै गुमाउँछन् र भयग्रस्त भएर नयाँ गल्ती गरिरहन्छन्, झन् झन् अप्रिय भइरहन्छन्। त्यो एक पाइला भनेको सुसंस्कारको स्थापना हो। त्यसका निम्ति नगरी नहुने पहिलो निर्णय भ्रष्टाचारविरुद्ध लडाईं गर्ने अठोट हो। भ्रष्टाचारप्रति शून्य सहनशीलता स्थापित गर्नका निम्ति जानी/नजानी, अरुबाट प्रभावित भएर वा दृष्टि नपुगेर आफैँबाट भएका गल्तीका निम्ति समेत क्षमायाचना गर्दै सर्वोच्च कार्यकारीले नयाँ अभियान थाल्न सक्छन्।

यो लडाईं पीडादायी हुनसक्छ किनकि कुनै न कुनै रूपमा सोचेभन्दा धेरै व्यक्तिलाई भ्रष्टाचारको छिटा लागेको हुनसक्छ। तर निरन्तरको ढाकछोपले सिङ्गो राष्ट्रलाई र नेताहरू स्वयंलाई अन्त्यमा जुन नारकीय गन्तव्यमा पु-याउँछ, त्यसको तुलनामा केही आफन्तको गाली खानु, केही भोट बैंक गुमे गुमोस् भन्नु, हिजोका केही गोप्यता बाहिर निस्के निस्कून् भन्नसक्नु जस्ता साहसिक निर्णय धेरै सहज हुन्छन्।

अडान चाहिन्छ सत्ताधारीमा। कस्तो अडान भन्ने कुरा भने सर्वाधिक महत्वपूर्ण हुन्छ। अडानका नाममा आफूमाथि आलोचना गर्ने जति सबैमाथि अरिङ्गालझैँं खनिने आदेश दिनु पनि अडान नै हो। हिजो ठूलो जोखिम मोलेर आन्दोलनका निम्ति त्याग गरेका कामरेडले पनि आज भने भ्रष्टाचार गर्दा दृढ भएर कार्बाही गर्छु भन्न सक्नु पनि अडान नै हो। ‘पार्टीले भागबन्डा गरेरै शासन चलाउने निर्णय गरिसक्यो’ भन्नु पनि अडान नै हो।‘जनताका सामु गरेका प्रतिबद्धताको पालना जसरी पनि गर्छौ’ भन्नु पनि अडान नै हो। जहिले पनि आफ्ना गल्तीलाई सच्च्याउने काम गर्नेबित्तिकै कमजोर भइन्छ, सबैको तारो भइन्छ भन्ने भ्रम हुन्छ जुनसुकै सत्ताधारीमा। वास्तवमा त्यसो गर्न सक्दा जनता जसरी सशक्तीकृत र सकारात्मक हुन्छन्, त्यो नेतृत्वका लागि सबभन्दा भरपर्दो सुरक्षाकवच बन्नसक्छ।

तर यी सबै ‘खोक्रा आदर्शवादी’ कुरा लाग्छन् सत्ताधारीलाई भने सुसंस्कारको स्थापना असम्भव लाग्छ भने, ‘राजनीतिमा कहाँ हुन्छ, त्यस्तो – यो कुनै आध्यात्मिक प्रवचनस्थल हो र!’भन्ने तर्कमै रमाउन मन लागिरहन्छ भने ‘सत्ता भनेको सत्ता नै हो, सत्ता छ हातमा भने सबथोक छ, सत्ता छैन भने केही पनि छैन’ भन्ने रट लगाइरहने हो भने बुझ्नुपर्छ– लोकतन्त्र बिरामी पर्दैछ।

यसपालीको लोकतन्त्र दिवसको साँझ बिदा हुने बेलामा साथीहरूसँंग जिस्कँदै भनेको थिएँ– लोकतन्त्रको ‘ल’ त अझै बाँकी छ है! यसलाई हुर्काऔँ ं।हुर्कियोस् लोकतन्त्र! सबैले यत्न गरौँ !








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad