८ वैशाख २०८१ शनिबार
अर्थ

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएको छ। महासंघको विशेष साधारण सभाले साबिकको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको हो। यस संशोधनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन्।

बिहीबारको पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष पशुपति मुरारकाले विशेष साधारण सभाले पूर्ण महुमतबाट विद्यमान विधान २०४९ को छैठौं संशोधन गरेको बताए। '९० प्रतिशत सदस्य उपस्थित विशेष साधारण सभाको सर्वसम्मतिले विधान संशोधन गरेको छ,' अध्यक्ष मुरारकाले भने, 'अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्षमा खुला निर्वाचन हुन्छ।'

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाले गुट–उपगुट अन्त्य हुने र अध्यक्षले पूर्ण जिम्मेवारीसाथ संयम भएर काम गर्ने अवसर पाउने मुरारकाले बताए। 'वरिष्ठ उपाध्यक्ष निर्वाचन भएपछि उक्त व्यक्ति अध्यक्ष हुँदासम्म धेरै अुनभवी र जिम्मेवार भइसक्छ,' मुरारकाले भने, 'अध्यक्ष हुँदा बढी कुल भएर काम गर्ने अवसर पाउने छ।'

आगामी चैत २८ गते वर्तमान अध्यक्ष मुरारकाको कार्यकाल सकिँदै छ। उनको कार्यकालपछि वर्तमान वरिष्ठ उपाध्यक्ष राणा स्वतः अध्यक्ष हुनेछिन् भने उपाध्यक्षमा खुला प्रतिस्पर्धा हुनेछ।

महासंघले अन्य बँुदा पनि संशोधन गरेको छ। महासंघका अनुसार अब प्रत्येक सात प्रदेशमा च्याप्टरको रुपमा उद्योग वाणिज्य महासंघ रहनेछन्। अञ्चल तथा क्षेत्रीय उद्योग वाणिज्य संघहरूबाट हुने प्रतिनिधित्व खारेज गरेको छ। राज्यको संघीय स्वरुप अनुसार महासंघको संरचनामा पनि सुधार भएको मुरारकाले बताए।

'जिल्ला उद्योग वाणिज्य संघहरूको जिम्मेवारी र अधिकारलाई प्रस्तावित विधानले अझ बढी सुनिश्चित गराएको छ,' मुरारकाले पत्रकार सम्मेलनमा भने, 'वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूको अधिकार र जिम्मेवारीलाई अझ फराकिलो गराएको छ।'

महासंघले विधान संशोधनबाट केन्द्रीय समितिमा सदस्य संख्या पनि बढाएको छ। संस्थापक उद्योग वाणिज्य संघहरूबाट एक सिट संरक्षणको व्यवस्था गरिएको छ। महासंघको विधानमा २०४९ पछि पहिलोपटक पदाधिकारीमा कोषाध्यक्षको व्यवस्था गरिएको छ।

वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्थाको केही पूर्व अध्यक्षले भने विरोध गरेका थिए। विशेष साधारण सभा रोक्न उच्च अदालतमा मुद्दा समेत परेको थियो। अदालतले विशेष साधारण सभा रोक्नुपर्ने कुनै कारण नदेखिएको फैसला गरेपछि महासंघलाई बाटो खुलेको थियो।

विशेष साधारण सभामा ६ जना पूर्वअध्यक्षहरू उपस्थित भएनन्। पत्रकार सम्मेलनमा उपस्थित एकमात्र पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले पूर्वअध्यक्षहरूले विधान संशोधनको विरोध नगरेको र यसबारे धेरै छलफल भएको बताए। 'केही बुँदामा पूर्वअध्यक्षहरूको असहमति भएको हो,' श्रेष्ठले भने, 'विधान संशोधनको विरोध गरेको भने होइन।'

उनले विशेष साधारण सभामा पूर्व अध्यक्षहरूको उपस्थिति नभए पनि यसले महासंघलाई कमजोर नबनाउने दाबी गरे। विधान संशोधनले महासंघलाई अझ बलियो बनाउने र सबैलाई एकजुट बनाएर लैजानेसमेत बताए।

पूर्वअध्यक्षहरूको असहमतिले कतै महासंघ टुक्रने त होइन भन्ने प्रश्नमा श्रेष्ठले संस्था नटुक्रने बताए। अध्यक्ष मुरारकाले यसले संस्था टुक्रने वा कमजोर नहुने बताए।

विधान संशोधनबारे विशेष छलफल गर्नुपरेकाले विशेष साधारण सभा बोलाउनुपरेको मुरारकाले बताए। मुरारकाले गहन छलफलले केही बुँदा संशोधनसँगै भाषागत कमजोरीका सम्बन्धमा विज्ञहरूको समेत सहयोग लिई संशोधनलाई अन्तिम रुप दिने सर्वसम्मत निर्णय गरेको सुनाए।   

नेपालको निजी क्षेत्रको छात संस्था महासंघलाई सबल, सक्षम र ओजपूर्ण बनाउन, निजी क्षेत्रमा क्रियाशील तथा लोभलाग्दो नयाँ पुस्ताका युवा शक्तिलाई आकर्षित गर्न, संगठनलाई एक ढिक्का बनाई विद्यमान अवस्था र चुनौतीको सामना गर्दै संघीय नेपालको संरचनामा महासंघको भूमिका तथा महासंघको संरचनालाई अझ बढी शसक्त र प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गरी विधान संशोधन कार्यलाई अघि बढाउनुपरेको मुरारकाले बताए।

प्रकाशित: ५ कार्तिक २०७३ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App