४ वैशाख २०८१ मंगलबार
अर्थ

बाँध बनाउन पुनः टेन्डर

काठमाडौं – तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले बिहीबार पुनः अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो। बोलपत्र पेस गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको एक सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायत संरचना निर्माण गर्नुपर्ने छ। पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ।

टेन्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरुले दातृ निकाय एडिबीको खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नुपर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीप कुमार थिकेले जानकारी दिए। ‘पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ,’ प्रवन्ध–सञ्चालक थिकेले भने।

कात्तिकको दोस्रो साता (अक्टोबर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ। आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको  छ।

तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत कारणले सिएमसीसँगको ठेक्का तोडेको थियो। 

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ। सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायत संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ। कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता भइसकेको छ। त्यस्तै नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता पनि  सम्पन्न भइसकेका छन्।

प्रकाशित: १३ वैशाख २०७६ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App