८ वैशाख २०८१ शनिबार
समाज

अन्नपूर्णमा अलपत्र आरोहीको उद्धार

अन्नपूर्ण प्रथमको सफल आरोहण गर्दै मलेसियन आरोही वुई किन चिन (बायाँ)। उनी फेला परेको ठाउँ।

पोखरा - गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा चिन तोकिएको गन्तव्यमा नआएपछि साथमा गएका अरु आरोहीसहितको टोली फर्कियो।

साथमा गएको टोलीका सबै आरोही सदस्य र सहयोगी शेर्पाहरु बुधबार नै फर्किसक्दा पनि चिन नफर्किएपछि परिवारका सदस्यलाई चस्को पस्यो। अनि मलेसियामा रहेकी चिनकी श्रीमतीले हराएका पतिबारे पदयात्रा बिमा गरेको ‘ग्लोबल इन्सुरेन्स इन्टरनेसनल’ लाई उद्धार र खोजीका लागि गुहारिन्। त्यहाँबाट पनि पार लाग्ने अवस्था नआएपछि उनले सिम्रिक एयरलाइन्सलाई खोजिदिन आग्रह गरिन्।

सिम्रिकको हेलिकोप्टर उडाएका क्याप्टेन सिद्धार्थजंग गुरुङले बिहीबार बिहान अन्नपूर्ण प्रथमको झन्डै ७५ सय मिटर उचाइमा चिनले हात हल्लाइरहेको देखे। त्यसपछि उनलाई उद्धार प्रयास थालिए पनि बढी उचाइमा रहेकाले तत्काल सम्भव नभएको गुरुङले जानकारी दिए। ‘चिन हिँड्न सक्ने अवस्थामा छैनन्। उनले हात हल्लाइरहेको मैले करिब ५०–६० मिटर टाढाबाट देखेको हुँ,’ क्याप्टेन गुरुङले भने, ‘निकै नै कमजोर भएकाले पनि हिँड्न सकेका छैनन्। तर जीवित रहेको पुष्टि भएको छ।’ त्यसपछि ६५ सय मिटर उचाइमा चारजना शेर्पालाई डोरीको सहायताले पु¥याएर उद्धारमा खटाएको उनले बताए। ‘हामीले चारजना शेर्पालाई ६५ सय मिटर उचाइमा छाडेका छौं। उनीहरु अक्सिजन र खानासहितका उद्धारकर्ता हुन्,’ गुरुङले भने, ‘ती शेर्पाहरु चिन भएको ठाउँतर्फ उक्लिनेछन् र उद्धार गर्नेछन्।’

उचाइले उद्धारमा समस्या, चार शेर्पा खटाइयो

चिनसहित ३१ जनाको टोली नेपालको सेभेन समिट टे«क्सबाट अन्नपूर्ण आरोहणमा गएको थियो। सेभेन समिट टे«क्सका म्यानेजर थानेश्वर गुरागाईंका अनुसार बिहीबार बेलुकीसम्म ६५ सय मिटरमा झार्ने प्रयास शेर्पाबाट हुनेछ। ‘तीन दिनदेखि ७५ सय मिटर उचाइमा चिन अड्किएका छन्। उनी खाना र अक्सिजनको अभावमा तड्पिएका छन,’ गुरागाईंले भने, ‘बिहीबार उद्धारको निकै प्रयास भएको हो। तर ७५ सय मिटर उचाइमा हेलिकोप्टरबाट उद्धार गर्न कठिनाइ भयो।’ सम्भव भएसम्म उनलाई रातारात ६५ सय मिटर उचाइमा झारिने उनले बताए। ‘शुक्रबार बिहानै हेलिकोप्टरको सहायताले आधारशिविर झारिनेछ’, उनले भने। गुरागाईंका अनुसार गत मंगलबार दिउँसो चिनसहितको टोलीले सफल आरोहण गरेको थियो। आरोहणबाट फर्किने क्रममा चिन र उनका सहयोगी निमा छिरिङ शेर्पा थाकेपछि अरुभन्दा पछाडि परेका थिए। चिन हिँड्नै नसक्ने अवस्था आएपछि अक्सिजन सकिन थालेको भन्दै निमा क्याम्प ४ मा ओर्लेका तिए।

‘अक्सिजन सकिने डरले निमा जसोतसो क्याम्प ४ मा झरेर अरु शेर्पालाई खबर गरे तर उनीहरु खोजीमा जान सकेनन्,’ गुरागाईंले भने, ‘माथि उक्लिन नसकेपछि उद्धारका लागि हेलिकोप्टर खटाइदिन बिमा गरेको ‘ग्लोबल इन्सुरेन्स इन्टरनेसनल’ लाई अनुरोध गर्दा बेवास्ता भएपछि बल्ल आरोहणको चाँजो मिलाएको नेपाली कम्पनी खटिएको हो।’
आरोही र शेर्पाहरुले बिमा गरेको कम्पनीलाई बारम्बार अनुरोध गर्दा पनि हेलिकोप्टर पठाउन अस्वीकार गरेकाले यस्तो अवस्था आएको उनले बताए। ‘बिमा गरेको कम्पनीको दायित्वभित्र उद्धार पर्छ। तर चिनलाई उद्धार गर्न बिमा गरेको कम्पनी मानेन अनि हामी अघि सरेका हौं,’ उनले भने। गुरागाईंका अनुसार चिनले यसअघि २०१८ को मेमा सगरमाथा आरोहण गरेका थिए। अन्नपूर्ण प्रथमको आरोहण अरु आरोहणको तुलनामा जोखिमपूर्ण मानिन्छ। ‘सबैभन्दा गाह्रो आरोहण अन्नपूर्णको मानिन्छ,’ उनले भने, ‘यस्तोमा बिमा कम्पनी बढी सचेत हुनुपर्ने हो।’

प्रकाशित: १३ वैशाख २०७६ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App