coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खुलामंच अतिक्रमणको विरोध

काठमाडौं – काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन्। सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरपालिका र कम्पनीको मिलेमतोमा खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइएको छ। कम्पनीले महानगरपालिकालाई आर्थिक प्रलोभनमा पारेर व्यापारिक सटर निर्माण गरेको हो। महानगरले सुविधासम्पन्न काठमाडौं भ्यु टावर निर्माण गर्ने भन्दै बसपार्कलाई २०७३ वैशाखमा दुई वर्षका लागि खुलामञ्चमा सारेको थियो।

दुवै पक्षबीच भएको सम्झौतामा खुलामञ्चमा निर्माण गरिने अस्थायी बसपार्कमा तीन बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय र एउटा क्यान्टिन निर्माण गर्ने उल्लेख थियो। तर निर्माण कम्पनीले सम्झौताको धज्जी उठाउँदै अहिले ४४ भन्दा धेरै व्यापारिक सटर बनाएर भाडामा लगाएको छ। ‘खुला स्थान माफियाले मास्ने, भूकम्प दिवस जनताले मनाउने’, ‘७२ को भूकम्प बिर्सियौ होला ? खुला स्थानजति माफियाको पेवा’, ‘खुलामञ्च ! कहाँ छ खुला ?’ लगायतका नारा लेखेका पोस्टर टाँसेर स्थानीयले विरोध गरेका थिए। विरोध सभामा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, नयाँ शक्ति पार्टीकी मानुषी यमी भट्टराई लगायत उपस्थित थिए।

 कम्पनीले अहिले तीन लाखदेखि १२ लाख रूपैयाँ अग्रिम लिएर प्रति सटर १२ हजार रूपैयाँमा भाडामा लगाएको छ। काठमाडौं महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष भाइराम खड्गीले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर खुलामञ्चमा निर्माणाधीन व्यापारिक सटरका विषयमा स्पष्टीकरण माग गरेका छन्। सर्वसाधारणबाट विरोध भएपछि काठमाडौं महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। खड्गीले खुलामञ्चभित्रका नवनिर्मिति सबै संरचना भत्काउने आदेशसमेत दिएकी छन्। उनले एक साताभित्र नभत्काए स्थानीय र महानगरले नै भत्काउने बताइन्। ‘यसमा माथिल्लो निकायको हात छ, महानगरले पनि यसबारे खासै जानकारी पाएको छैन,’ उनले भनिन्।

प्रकाशित: १३ वैशाख २०७६ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App