coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको स्मृति खातामा

जाइकाको सहयोगमा धादिङको खनियावास गाउँपालिका वडा नं ५ सत्यदेवीमा रहेको बच्छलादेवी माध्यमिक विद्यालय निर्माण सुरु गरिदै।

धादिङ-  विनासकारी भूकम्प गएको चार वर्ष बितेको छ। धादिङमा भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुदाँ अझै पनि टहरा र खुल्ला आकाशमुनि पढ्न बाध्य छन्। उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं ५ सत्यदेवीमा रहेको बच्छलादेवी माध्यमिक विद्यालयमा अझै पनि टहरामा नै पढाई हुन्छ। भूकम्पले भत्किएपछि जस्ताले बारेर पढाउँदै आइरहेको संरचना अझै परिवर्तन हुन सकेको छैन।

विद्यालय निर्माणका लागि अष्ट्रेलियन नागरिक मोयलया तोकमकले विद्यालयको भम्रण गरी नेपाली ३० लाख बराबर  को सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही बमोजिम मोयालियाले अष्ट्रेलियामा बस्दै आएका सत्यदेबी कै मंगलबहादुर तामाङ मार्फत नेपाली २० लाख  विद्यालय निर्माणका लागि पठाएका थिए। मंगलबहादुर तामाङले विद्यालयको खातामा जम्मा नगरि विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाका अध्यक्ष  नै अध्यक्ष रहेको दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा जम्मा गरिदिएका थिए। दामन पाख्रिन स्मृति प्रतिष्ठान नेपाली काँग्रेसका नेता दामन पाख्रिनको नाममा काँग्रेस कार्यकर्ताहरुले स्थापना गरेका हुन्।

विद्यालय निर्माणका लागि तीन वर्ष अगाडि सो रकम दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा जम्मा गरिदिएका थिए। विद्यालयको खातामा ल्याउन पटक पटक माग गर्दा समेत नल्याएको विद्यालय व्यवस्थापन समितिका सदस्य निकिता तामाङले बताए। ‘विद्यालय निर्माणका लागि विदेशी नागरिकले पठाएको रकम दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा जम्मा गरिदिएका रहेछन्, उनले भनिन्, ‘सो रकम विद्यालय व्यवस्थापन समितिको बैठकमा बारम्बार विद्यालयको खातामा हाल्नका लागि अनुरोध गरेपनि अध्यक्ष सधै चुपचाप बस्ने गर्छन्।’

विद्यालयमा तात्कालिन जिल्ला शिक्षा कार्यालय धादिङ र खनियाबास गाउँपालिकाको सहयोगमा निर्माण गरिएको चारकोठे भवन बाहेक सबै कक्षा जस्ताले बारेको टहरामा नै पढाई हुन्छ। ७ सय १० जना विद्यार्थी अध्यायनरत बच्छलादेबी माविमा पुनर्निर्माण नहुदाँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले कष्ट व्यहोर्नुपरेको समितिका सदस्य निकिता तामाङले बताइन्। ‘चारवर्ष हुदाँ पनि विद्यालय कसले निर्माण गर्ने हो भन्ने अन्यौलमा छौँ’, उनले भनिन्, ‘हावाहुरी आउने बित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था छ।’

रकम अभावमा निर्माणमा ढिलाइ भएपछि हालसम्म समेत जोखिमपूर्ण तरिकाले टहरामा नै बसेर पढ्न बाध्य भएका छन्। सुरुमा विद्यालय निर्माणको जिम्मा जाइकाले लिएको थियो तर निर्माण गरेनन्। तात्कालिन जिल्ला शिक्षा कार्यालयले ८ कोठे भवन मात्र निर्माण गरिदियो जुन विद्यालयका लागि अपर्यप्त थियो। पढाई कष्टपूर्ण भएपछि विद्यालय व्यवस्थापन समितिले जाइकालाई विद्यालय भवन बनाइदिन अनुरोध गरे। हाल दुई महिना अघिमात्र १६ कोठे विद्यालय भवन निर्माणको कार्य अघि बढेको छ।

विद्यालय निर्माणका लागि रकम पठाएको भन्ने मंगलबहादुरले दामन स्मृति खातामा जम्मा गरिदिएको भएपनि ३ वर्ष भइसक्दा समेत विद्यालय बनाउने रकम विद्यालयको खातामा आएको छैन। अष्ट्रेलियन दाताले आफूले पठाएको रकमबाट विद्यालय निर्माण भएको भए सो बारे जानकारी दिन पटक पटक आग्रह गरिरहेका छन्। विद्यालय निर्माण पश्चात बाँकी १० लाख रकम पठाइदिने जानकारी गराइएको छ तर अहिलेसम्म न विद्यालयको खातामा रकम आएको छ न विद्यालय नै निर्माण भएको छ। विद्यालय निर्माण नभएपछि अभिभावकहरु रुष्ट बनेका छन्। 

विद्यालयका लागि आएको रकम दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा गएको सम्बन्धी विषयमा जिज्ञासा राख्दा प्रतिष्ठानका अध्यक्ष एवं खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ प्रतिष्ठानको खातामा रकम आएको र विद्यालयलाई आवश्यक परेको बेला उपलब्ध गराउने बताए। विद्यालयमा निर्माण गरिदै गरेको १६ कोठे भवन सम्पन्न भएपछि मात्रै त्यो रकम प्रयोग गर्न मिल्ने बताएका छन्।

तीन वर्ष अगाडि आएको रकम विद्यालय व्यवस्थापन समितिलाई पनि थाहा छैन, विद्यालय पनि निर्माण भएको छैन नी ? भन्ने प्रश्नमा उनले भने, ‘मैले व्यक्तिगत पहलमा काम गरेको हुँ, तपाईहरुले त्यो कुरा कोट्याइरहनु जरुरी छैन, तपाईको सरोकारको विषय होइन’ भनेर जवाफ दिएका थिए।

 

 

 

प्रकाशित: १२ वैशाख २०७६ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App