coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नौ महिनादेखि बन्द एएफयू

चितवन - चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।

निजी क्याम्पसलाई दिएको सम्बन्धनको विवादमा विश्वविद्यालयका शैक्षिक प्रशासन र परीक्षा शाखाबाहेक अन्य शाखा बन्द गरिएका छन्। पछिल्लो पटक भने चैत २१ गतेदेखि विश्वविद्यालय ठप्प छ। विश्वविद्यालयका प्राध्यापकलाई दुव्र्यवहार गरिएको घटनापछि विश्वविद्यालय बन्द भएको हो। कृषि संकायका सहायक डिनसमेत रहेका बाली प्रजनन विषयका प्राध्यापक विष्णु ओझालाई चैत २१ गते विद्यार्थीले विश्वविद्यालयपरिसरमै कालोमोसो दलेका थिए।

घटनाको विरोध गर्दै विश्वविद्यालयको प्रजातन्त्रवादी प्राध्यापक संघले सम्पूर्ण निकाय र पठनपाठन तथा परीक्षासमेत बन्द गरेको थियो। घटनापछि शैक्षिक प्रशासन र परीक्षा शाखासमेत बन्द भएका छन्। विश्वविद्यालय र आंगिक क्याम्पसका कृषि र भेटेरिनरी संकायमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीको चैत २६ गतेदेखि हुने भनिएको परीक्षा पनि स्थगित गरिएको छ। यसअघि शैक्षिक प्रशासन र परीक्षा शाखा खुला हुँदा पढाइ र परीक्षा भने सञ्चालन हुँदै आएको थियो।

प्राध्यापकलाई दुव्र्यवहार गर्ने ६ जना विद्यार्थीलाई विश्वविद्यालयले कृषि संकायको छैटौं सेमेस्टर अध्ययन गर्न नपाउने गरी ६० दिनका लागि निष्कासन गरेको छ। विद्यार्थीलाई कारबाही गरिए पनि विश्वविद्यालय खुल्न सकेको छैन। घटनाबारे सत्यतथ्य बुझ्न छानबिन समितिसमेत गठन नगरी कारबाही गरिएको भन्दै विश्वविद्यालयको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पनि विश्वविद्यालय बन्द गराएको छ।

विश्वविद्यालयले गत असार २१ गते सातवटा क्याम्पसलाई कृषि र एउटालाई वन विषय अध्यापन गर्न पाउने सम्बन्धन दिने निर्णय गरेको थियो। यस क्रममा झापाको पूर्वाञ्चल कृषि क्याम्पस, इटहरीको जीविका कृषि उद्यान कलेज, ललितपुरको भ्याली स्टेट कृषि क्याम्पस, परासीको रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज, कोहलपुरको गोर्खा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस र नवलपुरको हिमछाया क्याम्पसलाई कृषि स्नातक अध्यापन गर्ने सम्बन्धन दिने निर्णय भएको थियो।

नवलपुरकै सिद्धान्त क्याम्पसलाई वन विषय अध्यापनको सम्बन्धन दिइएको थियो। विश्वविद्यालयको निर्णयको विरोधमा विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेपछि गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको थियो। मन्त्रिपरिषद्बाट गरिएको सम्बन्धन खारेजीको निर्णयविरुद्ध निजी कलेज सञ्चालकले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नवलपुरको गैंडाकोटको सिद्वान्त क्याम्पसको तर्फबाट छविलाल कँडेल र जीविका कृषि सहकारी संस्था लिमिटेडको तर्फबाट शिवकुमार डाँगीले गत साउन ३१ गते सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए। मुद्दामा पटक पटक पेशी सर्दै आएको छ। पछिल्लो पटक चैत १८ गते परेका दुवै मुद्दाको पेशी स्थगित गरिएको छ।

बन्दकै कारण कृषि स्नातक तहमा अध्ययनरत विद्यार्थीले सातौं सेमेस्टरको पूरा परीक्षा नै दिन पाएका छैनन्। सातौं सेमेस्टरको परीक्षा नसकिँदै आठौं सेमेस्टरमा गर्नुपर्ने इन्टर्नसिपका लागि विद्यार्थी फिल्डमा पठाइएका छन्। सम्बन्धनको विषयमा राज्यको सर्वोच्च निकायको अदालतले गर्ने निर्णयलाई पालना गरेर अगाडि बढिने विश्वविद्यालयका रजिस्ट्रार प्राडा मनराज कोलाक्षपति बताउँछन्। विश्वविद्यालयका प्राध्यापकमाथि गरिएको दुव्र्यवहार प्राज्ञिक मर्यादा बाहिरको क्रियाकलाप भएकाले दोषी विद्यार्थीलाई दुई महिनाका लागि शैक्षिक कार्यक्रमबाट निलम्बन गरिसकेको उनले बताए। विश्वविद्यालय बन्द निषेधित क्षेत्र बनाउन सबै राजनीतिक पार्टीको सहयोग चाहिने उनी बताउँछन्। प्राध्यापकलाई दुव्र्यवहारको घटना हुनुअघि विश्वविद्यालयमा पठनपाठन र परीक्षा भने सञ्चालन हुँदै आएको थियो।

प्रकाशित: १२ वैशाख २०७६ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App