८ वैशाख २०८१ शनिबार
खेल

सिटीविरुद्ध मेसीको ह्याट्रिक

पेरिस- स्पेनिस ला लिगाका प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडले बुधबार रातिका खेल जित्दै जारी सिजनको च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा यात्रा कायम राखेका छन्। घरेलु क्याम्प नोउ रंगशालामा लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले समूह 'सी' को खेलमा इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीमाथि ४–० को रवाफ जमायो। दुवै टोलीले १० जनामा समेटिएर अन्त्य गरेको खेलमा बार्सिलोनाका लागि अर्को गोल ब्राजिली सुपरस्टार नेइमारले गरे।

अर्जेन्टिनी सुपरस्टार मेसीले १७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म १–० को अग्रता दिलाए। मेसीले ६१ औं मिनेटमा अग्रता दोब्बर पारे भने ६९ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। यसअघि ५३ औं मिनेटमा क्लाउडियो ब्राभोले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० जनामा समेटिएको हो। जेरेमी म्याथुले समय सकिन १७ मिनेट बाँकी रहँदा दोस्रो पहेँलो कार्ड पाएपछि बार्सिलोना पनि १० जनामा सीमित भयो।

समय सकिन तीन मिनेट बाँकीमा नेइमारले टोलीको अग्रता फराकिलो पार्ने राम्रो मौका पाएका थिए। तर उनले पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोना थप फराकिलो जित हासिल गर्ने मौकाबाट चुक्यो। जबकि उनले समय सकिन एक मिनेट बाँकी हुँदा अर्को गोल गरेर त्यसको शोधभर्ना गरे।

समूहको अर्को खेलमा जर्मन टोली बोरुसिया मोन्चेन्ग्लाडबाचले सेल्टिकमाथि २–० को अवे विजय हासिल गर्‍यो। लार्स स्टिन्डलको गोलमा ५७ औं मिनेटमा अग्रता लिएको जर्मन टोलीका लागि आन्द्रे हानले ७७ औं मिनेटमा अर्को गोल थपेका थिए।

बुधबारका नतिजापछि समूह सी मा सबै तीन खेल जितेको बार्सिलोना ९ अंकसाथ शीर्ष स्थानमा रहँदा सिटी ४ अंक लिएर दोस्रो स्थानमा छ। बोरुसिया मोन्चेन्ग्लाडबाच ३ अंकसाथ तेस्रो तथा सेल्टिक १ अंकसाथ पुछारमा छन्।

बार्सिलोनाले विजय यात्रालाई निरन्तरता दिएको दिन स्पेनको अर्को टोली एट्लेटिको मड्रिडले समूह 'डी' को खेलमा एफसी रोस्टोभलाई १–० ले निराश पार्‍यो। गत सिजनको उपविजेता एट्लेटिकोका लागि ६२ औं मिनेटमा यानिक फरेइरा कारास्कोले गरेको एउटै गोल विजय हासिल गर्न पर्याप्त भयो।

समूहकै अर्को खेलमा बायर्न म्युनिखले डच टोली पिएसभी आइन्डहोभनमाथि ४–१ को विजय पायो। थोमस मुलरले १३ औं मिनेटमा अग्रता दिलाएको जर्मन च्याम्पियनका लागि जुसुआ किमिचले २१ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। लुसियानो नरसिंहले मध्यान्तर हुन ४ मिनेट बाँकी रहँदा एक गोल फर्काएर पुनरागमनको संकेत गरेका थिए। तर दोस्रो हाफमा पनि बायर्नले दुई गोल थप्यो। रोबर्ट लेवान्डोवस्कीले ५९ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे भने डच भेट्रान आर्येन रोबेनले समय सकिन ६ मिनेट बाँकीमा गोल थपे।

शतप्रतिशत नतिजालाई निरन्तरता दिएको एट्लेटिको तीन खेलको समाप्तिका ९ अंकसाथ शीर्ष स्थानमा कायम रहँदा ६ अंक जोडेको बायर्न दोस्रो स्थानमा छ। समूहका अन्य दुई टोली पिएसभी आइन्डहोभन र एफसी रोस्टोभको खातामा भने समान एक अंक छ।

म्यानचेस्टर सिटीले लज्जाजनक हार भोगेको दिन इङ्लिस प्रिमियर लिगको उपाधि प्रतिद्वन्द्वी आर्सनलले भने लुडोगोरेट्स रेजगार्डमाथि ६–० को रवाफ जमाएको छ। समूह 'ए' को खेलमा आर्सनललाई फराकिलो जित दिलाउँदा मेसुट ओजिलले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे भने त्यसअघि एलेक्सिस सान्चेज, थियो वाल्कट र एलेक्स ओक्सलाडे चेम्बरलिनले एक/एक गोल गरेका थिए।

सान्चेजले १२ औं मिनेटमा दिलाएको अग्रता वाल्कटले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा दोब्बर पारेका थिए। चेम्बरलिनले दोस्रो हाफ सुरु भएलगत्तै गोल गरेर अग्रता ३–० ले फराकिलो पारे। ओजिलले ५६ औं मिनेटमा व्यक्तिगत गोलको खाता खोले भने ८३ औं मिनेटमा दोस्रो गोल गरे। समय सकिन तीन मिनेट बाँकी रहँदा अर्को गोल गरेर उनले व्यक्तिगत ह्याट्रिक पूरा गरे।

समूहको अर्को खेलमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्विट्जरल्यान्डको एफसी बसेललाई ३–० को नतिजामा हरायो। पिएसजीको जितमा एन्जेल डी मारिया, लुकास मोउरा र इडिन्सन काभानीले गोल गरेका थिए।

बुधबारका नतिजापछि आर्सनल र पिएसजी समान ७ अंक लिएर समूह ए को अंकतालिकाको शीर्ष दुई स्थानमा कायम रहँदा बाँकी दुई टोली समाान एक अंकसाथ संघर्ष गरिरहेका छन्।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह 'बी' मा बुधबार बेन्पि्कका र बेसिक्टासले जित हासिल गरे। बेन्पि्ककाले इडुवार्डो साल्भियो र फ्रांको कार्भीको गोलमा डिनामो किभमाथि अवे जित हासिल गर्दा बेसिक्टासले पनि अवे मैदानमा नेपोलीमाथि ३––२ को नतिजा निकाल्यो।

निकै रोमाञ्चक रुपमा अघि बढेको खेलमा एड्रियानोले १३ औं मिनेटमा गोल गर्दै बेसिक्टासलाई अग्रता दिलाएका थिए। तर द्रिइस मेर्टेन्सले ३० औं मिनेटमा नेपोलीका लागि बराबरी गोल गरे। भिन्सेन्ट अबोउबकारले बेसिक्टासलाई ३८ औं मिनेटमा दोस्रो पटक अग्रता दिलाए। नेपोलीले दोस्रो हाफको सुरुआतमै त्यसलाई बराबरी गर्ने राम्रो मौका पाएको थियो। तर लोरेन्जो इन्सिग्नेले पेनाल्टी खेर फाल्दा नेपोली निराश भयो। तथापि नेपोलीका मानोलो गाबियान्डिनीले ६९ औं मिनेटमा गोल गरेर खेल २–२ को बराबरीमा ल्याए। जहाँ समय सकिन चार मिनेट बाँकीमा बेसिक्टासका भिन्सेन्ट अबोउबकारले दोस्रो व्यक्तिगत गोल गरेपछि भने नेपोलीले पुनरागमन जनाउन सकेन।

हारका बावजुद अघिल्ला दुई खेल जितेको नेपोली ६ अंकसाथ समूहको शीर्ष स्थानमा छ। बुधबार नेपोलीलाई हराएको बेसिक्टास ५ अंकसहित दोस्रो तथा बेन्पि्कका ४ अंकसहित तेस्रो स्थानमा छन्। १ अंकमै सीमित डिनामो किभ पुछारमा छ।

प्रकाशित: ५ कार्तिक २०७३ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App