मुम्बई – केही वर्ष अघि बलिउड अभिनेत्री कटरीना कैफ अभिनित फिल्म बक्स अफिसमा एकपछि अर्को गर्दै ‘फ्लप’ भइरहेको थियो। निरन्तर फिल्म असफल हुन थालेपछि कतै कटरीना करियरको अन्तिम चरणमा त छैनन् भन्ने शंका र प्रश्न पनि उब्जिएको थियो।
तर पूर्व प्रेमी तथा अभिनेता सलमान खानसँग फिल्म ‘टाइगर जिन्दा हे’ बाट सानदार पुनरागमन गरेपछि कटरीनाको चर्चा चुलियो। यो सफलतापछि उनले पछाडि पुनः पछाडि फर्केर हेर्नु पनि परेन। भलै उनी अभिनित पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जिरो’ले बक्स अफिसमा सफलता स्वाद नचाखे पनि कटरीनाको करियरको रफ्तार अहिले रोकिएको छैन।
हालै मात्र कटरीनाले अक्षयकुमारको अभिनय रहने फिल्म ‘सूर्यवंशी’मा हस्ताक्षर गरिसकेकी छन्। फिल्ममा अक्षय एक अधिकृतको भूमिकामा देखिँदैछन्। समाचार अनुसार कटरीना चाँडै नै ‘अर्जुन अवार्ड’ विजेता पीटी उषाको बायोपिकमा देखिने तयारीमा छिन्।
सन् २०१७ मा पहिलोपटक पीटी उषाको बायोपिकको कुरा बाहिर आएको थियो। जसमा प्रियंका चोपडाले प्रमुख भूमिकामा अभिनय गर्ने चर्चा थियो। तर त्यो समयमा फिल्मको काम अगाडि बढ्न सकेन। तर दुई वर्ष पछि निर्देशक रेवती एस बर्मा यो बायोपिक फिल्मको काममा जुटेकी छन्। त्यही कारण पनि उनले कटरीनालाई प्रमुख भूमिकाका लागि प्रस्ताव गरेकी हुन्। यो फिल्म अंग्रेजी, हिन्दी, चिनियाँ र रसियन भाषासँगै कैयौं अन्य भाषामा रिलिज हुनेछ।
फिल्मकै लागि रेवतीले केही महिनादेखि कटरीनासँग धेरैपटक भेट गरिसकेकी छन्। उनीहरू दुई दिन अघि पनि मुम्बईमा भेट गरेर फिल्मको कथाका विषयमा छलफल गरेका थिए। कटरीना फिल्मका लागि उत्साहित छिन्। कटरीनाले फिल्मको न्यारेसनपछि मात्र फैसला लिने निर्णय लिएकी छन्।
यदी कटरीनाले कामका लागि मञ्जुरी दिइन् भने यो फिल्म उनको करियरको पहिलो बायोपिक फिल्म हुनेछ। यो फिल्मका लागि कटरीनाले ठुलो मेहनत पनि गर्नुपर्नेछ। पीटी आफै कटरीनालाई बायोपिकका लागि तयार पार्नेछिन्।
प्रकाशित: १२ वैशाख २०७६ ०४:०१ बिहीबार