coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

युट्युबका नाममा फैलदै विकृति

काठमाडौं - गत वर्ष अश्लील संवाद र द्विअर्थी प्रश्नसहितको कार्यक्रम प्रसारण गरेको आरोपमा प्रहरीले ‘मस्ती टक टाइम’ नामक युट्युब च्यानलका सञ्चालकसहित तीनलाई पक्राउ ग-यो। अश्लीलता झल्कने अन्तर्वार्ता युट्युब च्यानलबाट प्रसारण गरेकाले च्यानल सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वाता दिने मोडल हेटौंडाकी परी तामाङलाई साईबर अपराधअन्तर्गत प्रहरीले मुद्दा चलायो।

फूलचोकी मिडिया हाउस प्रालिका नाममा उत्पादित उक्त कार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रका महिला सहभागी गराई अश्लील प्रश्नसहितको अन्तर्वार्ता प्रसारण हुन्थ्यो। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यस्ता घटना दिनानुदिन बढ्न थालेपछि नेपाल प्रहरीअन्तर्गतका निकायहरूले निगरानी बढाएका छन्। एकअर्काबीच विचार आदानप्रदान र बहस गर्नका लागि स्वतन्त्र मानिएको सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विकृतिसमेत भित्रिँदै गएको छ। लोकतान्त्रिक अभ्यास गरिरहेका विश्वका देशमा अभिव्यक्ति स्वतन्त्रताको माध्यम बनेका फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालहरू लोकप्रिय भइरहेका छन्।

गुगल विज्ञापनमार्फत पैसा कमाउने होडबाजीमा युट्युब च्यानल सञ्चालकहरूले मनपरी भिडियो अपलोड गरिरहेका छन्।

नेपाल सरकारले अश्लीलता, विकृति फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने सामग्री इन्टरनेटमा राख्न बन्देज गरेको छ। गत असोजदेखि सरकारले अश्लील सामग्रीले यौनहिंसा र विकृति बढाएको भन्दै झन्डै अढाई लाख पोर्न साइट बन्द गरायो। त्यस्तै नेपालमा विद्युतीय कारोबार ऐनअनुसार पोर्नोग्राफी प्रतिबन्धित छ। प्रहरीले अश्लीलता र विकृति फैलाउने भिडियो तथा सामग्री राख्ने युट्युब सञ्चालकहरूलाई कारबाहीको दायरामा ल्याइरहेको छ। त्यसबाहेक नेपालभित्र विभिन्न स्थानबाट युट्युबमा अपलोड गरिएका भिडियोहरूको निरीक्षणसमेत गरिरहेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार सामाजिक सञ्जालमा अश्लीलता र विकृति फैलाउने भिडियो तथा सामग्री राख्नेहरूलाई प्रहरीले कारबाही गरिरहेको छ।

‘सामाजिक सञ्जालमा अश्लीलता र विकृति फैलाउनेहरूलाई कारबाही गरिरहेका छौं। नेपालभित्रबाट युट्युबमा अपलोड गरिएका भिडियोहरू निरीक्षण भइरहेका छन्। दोहोर अर्थ लाग्ने संवाद भएका भिडियो अपलोड गर्ने युट्युब सञ्चालकहरूलाई कारबाही गरिरहेका छौं,’ उनले भने, ‘विदेशबाट अपलोड भएका सामगीका विषयमा भने हामी कारबाही गर्न सक्दैनौं।’ सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर तथा भिडियोहरूले समाजमा नकारात्मक असर पार्ने उनको भनाइ छ।  ‘सामाजिक सञ्जालमा राखिएका सामग्रीले समाजमा विकृति फैलिएको छ। सञ्जालमा राखिने यस्ता अश्लील तथा उत्तेजक सामग्रीले किशोर तथा बालबालिकालाई बढी प्रभाव पार्ने गरेका छन् ’, उनले भने।

युट्युबमा भाइरल हुने दाउमा युवाहरू विकृति फैलाउने भिडियो तयार गर्न तल्लिन छन्। यस किसिमका भिडियोले युट्युब प्रयोगकर्तासम्म पुगेर अफवाह फैलाउने गरेका छन्। अहिले नाम र दाम कमाउने माध्यम बनेको छ– युट्युब। गुगल विज्ञापनमार्फत पैसा कमाउने होडबाजीमा युट्युब च्यानल सञ्चालकहरूले मनपरी भिडियो अपलोड गरिरहेका छन्। भिडियो हेर्ने दर्शक संख्याका आधारमा पैसा आउने भएकाले विकृति फैलाउने सामग्री बनाउने विकृति बढिरहेको छ। नेपालमा झन्डै डेढ करोड इन्टरनेट प्रयोगकर्ता छन्। नेपालका इन्टरनेट साइटमध्ये युट्युब पहिलो नम्बरमा रहेको हुँदा यसका प्रयोगकता दिनानुदिन बढिरहेको छ। यसको लोकप्रियतासँगै चर्चा कमाउने नाममा विकृति र अश्लीलता पनि बढ्न थालेका छन्।

प्रहरीका अनुसार विकृति फैलाउने यस्ता सामग्रीका कारण किशोरी तथा युवती फस्ने गरेका छन् भने सामाजिक सञ्जाल प्रदुषित बनाउन नेपाली पुरुषहरू सक्रिय भएका छन्। साइबर विज्ञ बाबुराम अर्यालका अनुसार कानुनीबारे राम्ररी नबुझ्दा विकृति फैलाउने भिडियोहरू युट्युबमा आएको हुन सक्ने बताए। ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकादेखि सबै उमेरका मान्छे साइबर अपराधको शिकार भइरहेका छन्’, अर्यालले भने, ‘यसमा पनि धेरै सक्रिय युवा छन् र पीडित भने महिला नै हुन्छन्। अहिले सुरक्षा र गोपनियताको सवालमा चेतना नहुँदा यस्ता समस्या बढेको देखिन्छ।’

कानुनी दायरा तोक्न नसके विकृतिले विकराल रूप लिने उनले बताए। ‘कानुनी दायरा तयार भएको सन्दर्भका विकृति फैलाउने सामग्री घट्न सक्छ। युट्युबमा राखिने भिडियोहरू अधिकांश नेपालभन्दा बाहिरबाट अपलोड हुने गर्दछन्’, उनले भने। नेपाल प्रहरीले साइबर अपराधअन्तर्गत २०७२ देखि २०७६ वैशाखसम्म ४ हजार ५ सय २७ जनाविरुद्ध मुद्दा चलाएको छ। जसमध्ये युट्युबमार्फत विकृति फैलाउने ५ जना छन्। युट्युबमा विकृति फैलाउनेविरुद्ध आर्थिक वर्ष २०७४÷७५ मा दुई र २०७५÷२७६ मा तीन जनाविरुद्ध मुद्दा चलाइएको छ। केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत यो अवधिमा सामाजिक सञ्जाल सम्बन्धी ३१ मुद्दा चलेका छन्। विकृति र अश्लीलता फैलाउने भिडियो राख्न बन्देज लगाइएको भए पनि त्यस किसिमका भिडियो युट्युबमा अपलोड हुन छाडेका छैनन्।

कसैका दुःख, मृत्यु र घृणालगायत विषयमा शृंखलाबद्ध भिडियो अपलोड गरेर लाइक र प्रयोगकर्ता बढाउन हदैसम्मको हर्कत गर्ने युट्युब च्यानलहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन। कम समयमा नाम र दाम कमाउने मोहले नकारात्मक सन्देश फैलाउने भिडियो राख्न क्रम रोकिएको छैन। यस्तै युट्युबमा चर्चा पाउने शब्द छनोट गरी नेपाली गीतका भिडियो पनि अपलोड हुने गरेको पाइएको छ। युट्युबमा क्लिक गरिएका आधारमा पैसा कमाउन मनपरी भिडियो अपलोड गर्ने प्रवृतिले समाजमा विकृति फैलाएको छ। युट्युबलाई लक्ष्य गरेर गीत र भिडियोमात्र होइन, मानसिक असर पार्ने क्रियाकलाप र घटनासमेत अपलोड गर्ने प्रचलन बढ्दो छ।

युट्युब च्यानलबाट नेपालीले मासिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्। नेपालमा संस्थागत रूपमा चलेका युट्युब च्यानलले सम्बन्धितलाई फिल्म वा म्युजिक भिडियोमा भएका भ्युजका आधारमा रोयल्टी दिनुपर्ने नियम भए पनि सम्झौताअनुसार पैसा नपाउने समस्या छ। करिब ४ वर्षअघिदेखि नेपालमा युट्युबको क्रेज ह्वात्तै बढेको छ। युट्युबमार्फत आम्दानी हुन्छ भन्ने चाल पाएपछि युट्युब च्यानलहरू खुल्ने क्रम बढेको हो। दुई वर्षअघि युट्युब च्यानलमा राखिएका भिडियोमा १० हजार भ्युज पुग्नासाथ ‘मोनिटाइजेसन’ हुन थालेपछि गुगलमार्फत पैसा कमाउने सिलसिला सुरु भएको हो। पछिल्लो समय युट्युबका नियम केही परिवर्तन भएको छ। त्यसो त युट्युबले नेपाललाई प्राथमिकतामा राखेको छैन।

नाम नलेख्ने सर्तमा एक युट्युब च्यानलका सञ्चालक डेढ लाख सस्क्राइबर भएको आफ्नो च्यानलले मासिक दुई लाख रुपैयाँसम्म कमाउने बताउँछन्। नेपालमा सबैभन्दा धेरै ३० लाख सम्क्राइबर भएको युट्युब च्यानल ‘म्युजिक नेपाल’ हो।
दुई लाख ८५ हजार सस्क्राइबर भएको गिरिश खतिवडा नामक युट्युब च्यानलका सञ्चालक नेपाली ¥यापर गिरिश खतिवडाले यसलाई प्लेफर्मका रूपमा लिएका छन्। पछिल्लो समय युट्युबमा विकृति फैलाउने भिडियोहरू देख्दा आफु अचम्मित भएको उनी बताउँछन्। ‘हामीले स्वतन्त्रतामा रमाउन जानेका छैनौं। विकृति फैलाउने भिडियोले समाजमा नकारात्मक असर पु¥याउनेबारे युट्युब सञ्चालकहरूलाई जानकारी भए पनि पैसा कमाउने लोभमा यस्तो भिडियो अपलोड भइरहेका छन्’, उनी भन्छन्, ‘सम्बन्धित निकायले यस्ता विकृति पैmलाउने भिडियोहरूमाथि नियन्त्रण गर्न जरुरी भइसक्यो।’

प्रकाशित: १२ वैशाख २०७६ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App