coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी सियानमा

बेइजिङ - नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न पल्लो सान्सीको सदरमुकाम सियान आइपुगेकी छन्। राष्ट्रपतिलाई पल्लो सान्सी प्रान्तका उपगभर्नर हु मिङलानले विमानस्थलमा स्वागत गरेका छन्। सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि विमानस्थलमा उपस्थित थिए।

चीनले शुक्रबारदेखि शनिबारसम्म आयोजना गर्ने दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिन राष्ट्रपति भण्डारी चीन आएकी हुन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनले अर्का शक्तिशाली नेता चाउ लचीसँग पनि भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारीसँग बिहीबार मध्याह्न १२ बजे पल्लो सान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेता चाउ लचीबीच हुने भेटवार्तालाई अर्थपूर्ण मानिएको छ। चाउ लची चीन सरकारको कुनै औपचारिक पदमा छैनन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय शक्तिशाली हाइकमान्डमा उनी छैटौं नम्बरमा भए पनि शक्ति प्रयोगमा राष्ट्रपति सीपछिका शक्तिशाली व्यक्ति हुन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन आयोगका प्रमुख हुन्। चीनमा अनुशासन आयोगको प्रमुखलाई राष्ट्रपतिपछिको सबैभन्दा शक्तिशाली मानिन्छ।

राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेता चाउ लचीबीच हुने भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

चाउ लचीसँगको भेटमा राष्ट्रपति भण्डारीले विशेष गरी सुशासन र आपसी सम्बन्धमा कुराकानी गर्नेछिन्। गरिबी निवारणमा सबैभन्दा पहिले भ्रष्टाचार निवारण आवश्यक रहेको भन्दै चीनले भ्रष्टाचारविरुद्ध अभियानलाई कडाइका साथ अगाडि बढाएको छ। उसले पछिल्लो समय गरिबी निवारणमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको छ। चीनले गरिबी निवारण र भ्रष्टाचार निर्मूलीकरणमा बटुलेको अनुभव नेपालका लागि पनि महŒवपूर्ण हुने विश्वासमा राष्ट्रपति भण्डारी र नेता चाउबीच यसै विषयमा कुराकानी हुनेछ।

बिहीबार बेलुका बेइजिङ आइपुग्ने राष्ट्रपति भण्डारी शुक्रबार र शनिबार दिनभर दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुनेछिन्। शिखर मञ्चमा उनको सम्बोधन गर्ने पालो शुक्रबार मध्याह्नपछि छ। त्यसैगरी शनिबार गोलमेच बैठकको तेस्रो सत्रलाई पनि उनले सम्बोधन गर्नेछिन्। शनिबार बेलुका नेपाली दूतावासले आयोजना गरेको स्वागत भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन्।

आइतबार बिहान राष्ट्रपति भण्डारीले चिनियाँ लगानीकर्ता र व्यापारी समुदायलाई सम्बोधन गर्नेछिन्। उनी बसेकै वेस्टिन होटलमा चिनियाँ वैदेशिक लगानी प्रवद्र्धन परिषद्ले एक कार्यक्रम आयोजना गरेको छ। सोही दिन साँझ उनले बेइजिङ एक्स्पोमा नेपाली प्रदर्शनी कक्ष ‘लुम्बिनी शान्ति बगैंचा’ को उद्घाटन गर्नेछिन्। राष्ट्रपति भण्डारीले सोमबार बेइजिङको केन्द्रभागमा रहेको थिआनआनमन स्क्वायरको केन्द्रमा स्थापित सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नेछिन्। सोही दिन अपराह्न राष्ट्रपति भण्डारीको चिनियाँ समकक्षी सीसँगको बैठक छ। सोही अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नेछन्। राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनेछिन्। त्यसपछि राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी अनुशासन आयोगका प्रमुख चाउ लचीसँग भेटवार्ता हुनेछ। सो भेटघाटसँगै चाउले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज पनि दिनेछन्।

मंगलबार बिहान राष्ट्रपति भण्डारी बेइजिङबाट चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा प्रस्थान गर्नेछिन्। त्यहाँ दुई दिन बसेर उनी १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणमा सहभागी भएका छन्। त्यसैगरी राष्ट्रपतिका सल्लाहकारद्वय सुशीलराज प्याकुरेल र लालबाबुप्रसाद यादव, सांसदहरु योगेशकुमार भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, रामेश्वरराय यादव, कमलाकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत पनि भ्रमणमा सहभागी छन्।

महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव मंगलबार नै बेइजिङ आइपुगेका छन्। त्यसैगरी बुधबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बेइजिङ आइपुगेका छन्। उनीहरु बिआरआई शिखर मञ्चकै थिमाटिक फोरममा भाग लिन आएका हुन्। शिखर मञ्चमा विभिन्न १२ वटा थिमाटिक फोरमको आयोजना हुँदैछ। औपचारिक रुपमा उनीहरु राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी नभएकाले विभागीय मन्त्री हुँदाहुँदै यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा परराष्ट्रमन्त्री ज्ञवालीले हस्ताक्षर गर्ने भएका हुन्। राष्ट्रपति भण्डारी काठमाडौंबाट नेपाल एयरलाइन्सको विमान चढी चीन आइपुगेकी हुन्। उनलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए।

प्रकाशित: १२ वैशाख २०७६ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App